वाणिज्य बैङ्कले किने ४ अर्बको ५०० केजी सुन: आयात कोटा पनि बढ्यो, अब फस्टाउला ‘सुन बजार’ ?  « Arthapath.com
८ आश्विन २०८०, सोमबार

वाणिज्य बैङ्कले किने ४ अर्बको ५०० केजी सुन: आयात कोटा पनि बढ्यो, अब फस्टाउला ‘सुन बजार’ ? 



काठमाडौँ । एक महिनामै थप ३०० केजी सुन आयात भएको छ । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा साढे दुई अर्ब बराबरको सुन नेपाल ल्याएका हुन् । भन्सार विभागबाट प्राप्त चाल आवको दुई महिनाको वैदेशिक व्यापारसँग सम्बन्धित तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार चालु आव पहिलो दुई महिना (साउन–भदौ) मा भने ४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । सो अवधिमा वाणिज्य बैङ्कहरूले ५०० केजी सुन ल्याएका हुन् । सरकारले सुन आयात गरेर वितरण गर्ने जिम्मा वाणिज्य बैङ्कहरूलाई दिइएको छ । हाल नेपालमा युनाईटेड अरब इमिरेटस् (युएई) बाट मात्रै सुन आयात भएको देखिन्छ । यद्यपि, यस बाहेक टर्की, हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर लगायतका मुलुकबाट सुन आयात हुने गरेको छ । ती मुलुकहरूबाट हाल बैङ्कहरूले दैनिक १० केजी सुन आयात गर्दै आएका छन् । 

चालु आवको पहिलो दुई महिनामा आयात भएको सुन गत आवको सोही अवधिको तुलनामा भने सामान्य गिरावट देखिएको छ । गत आवको साउन–भदौमा ३ अर्ब ६५ करोड ३ लाख रुपैयाँ बराबरको ५११ केजी सुन बैङ्कहरूले नेपाल ल्याएका थिए । चालु आवको दुई महिनामा आयात भएको सुनबाट सरकारले ६१ करोड ९२ लाख रुपैयाँ बढी राजश्व प्राप्त गरेको छ । तर, पछिल्लो समय देखिएको आर्थिक सङ्कट र मूल्य वृद्धिका कारण सुन कारोबार खास बढ्न सकिरहेको छैन । 

बढ्यो सुन आयात कोटा: अब दैनिक २० केजी सुन ल्याउन पाउने, गहना निर्यातमा पनि सहज हुने 

सरकारले अब दैनिक आयात हुने सुनको कोटा बढाएर २० केजी पुर्‍याएको छ । यद्यपि, यसका लागि नेपाल राष्ट्र बैङ्कले छिट्टै नै सर्कुलर जारी गर्दै छ । 

व्यवसायीहरूले लामो समयदेखि सुन आयातको कोटा बढाउन माग गर्दै आएको थियो । सरकारले कोटा घटाएपछि आयात प्रभावित भएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैङ्कले दैनिक १० केजी मात्रै सुन आयात गर्न दिएको छ । तर, अब भने दैनिक २० केजी सुन आयात गर्न पाइने भएको छ।

‘अब दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था हुँदै छ, यसका लागि राष्ट्र बैङ्कले छिट्टै नै सर्कुलर जारी गर्नेछ । यसले सुन बजार थप चलायमान बनाउने छ । यो सकारात्मक कुरा हो’–नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिरत्न शाक्यले भने । सुनचाँदी व्यवसायले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उनको भनाई छ । 

यता, सुन आयातको कोटा बढाएपछि नेपालबाट निर्यात गरिने गहना पनि बढ्ने अध्यक्ष शाक्यको भनाई छ । उनले भने,–‘केही समय अघि काँचो सुन अभावमा नेपालबाट निर्यात हुने गहना पनि प्रभावित भएको थियो । तर, अब आयात कोटा बढेपछि अलि सहज हुनेछ।’ 

गत साउनमा नेपालबाट सुनका मौलिक गहना निर्यात भएको थिएन । तर, चालु आवको भदौमा भने ८७ लाख बढीको गहना निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । काँचो सुन अभावका कारण नेपालबाट निर्यात हुने सुनका गहना भने प्रभावित भएको थियो । तर, अब सुन आयातको कोटा बढाएसँगै गहना निर्यात पनि बढ्ने व्यवसायीहरू बताउँछन्।

व्यसायीहरुले गहना निर्यातलाई जोड दिँदै आएका छन् । गहना निर्यात बढाउन सके विदेशी मुद्रा आम्दानी पनि बढ्ने उनीहरूको भनाई छ । विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको छ । विदेशी मुलुकमा नेपालीहरूको बसोबास देशहरूबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ । 

विदेशमा रहेका नेपालीहरूले त्यहाँ आफ्नो संस्कृति अनुसार हुने कार्यक्रमका लागि पनि सुनका गरगहनाको लगाउने गरेका छन् । पछिल्लो समय त्यस्ता गहनाको माग निकै नै बढी हुने गरेको छ । अब बिस्तारै यसको माग बढ्दै जाने र निर्यात बढ्ने महासङ्घले जनाएको छ । गत आवमा मात्रै नेपालले १८ करोड ८७ लाख ३१ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात गरेको थियो ।

नेपालबाट आव २०७७/७८ देखि सुनका गहना निर्यात गर्न थालेको हो । सोही आवमा भन्सार विभागले एचएस कोड दिएपछि नेपाल सुनका गहना विदेश निकासी गर्दै आएको छ । विशेषगरि नेपालबाट अमेरिका, अस्ट्रेलिया, हङकङ  लगायतका मुलुकहरूमा नेपाली मौलिक गरगहना निर्यात हुँदै आएको छ । चालु आवको भदौसम्म पनि अमेरिकामा २१ लाख १७ हजार रुपैयाँ र अस्ट्रेलियामा ६६ लाख ९ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।  

‘सुन बजार’ अब फस्टाउँला ?

पछिल्लो समय सुन कारोबार उत्साहजनक रूपमा वृद्धि हुन सकिरहेको अवस्था छैन । झन् कारोबार बढ्ने मुख्य सिजनमै बजार माग एकदमै कम छ । नेपाली हिन्दु महिलाहरूको पर्व हरितालिका तीजमा पनि कारोबारमा रौनक देखिएन ।

अघिल्ला वर्षहरूमा यस्तो सिजनमा सुन पसलहरूमा निकै भिडभाड हुने गरेको थियो । तर, पछिल्लो समय सुन व्यापार सुस्ताएको हो । अन्यको महिनाको तुलनामा केही सामान्य रूपमा कारोबार बढे पनि व्यापार उत्साहजनक नभएको महासङ्घले जनाएको छ । ‘अघिल्ला वर्षहरूमा जस्तो सिजनमा सुनको कारोबार छैन । अहिले बजार माग नै एकदमै स्लो छ । यद्यपि, आगामी दिनमा भने बढ्न सक्छ’– एक व्यवसायीले भने । 

पछिल्लो समय सुनको निरन्तरको मूल्य वृद्धिले पनि कारोबार बढ्न नसकेको महासङ्घले जनाएको छ । ‘सुनको कारोबार बढ्नलाई यसको मूल्य घट्नु पर्छ । मूल्य घटेपछि नै व्यापार बढ्ने हो । तत्काल भाउ घट्ने सङ्केत पनि छैन । यद्यपि, अब बिस्तारै कारोबार बढ्ने आशा छ’– ती व्यवसायीले भने । अब चाडबाडको सिजन चलिरहेकोले पनि व्यापार बढ्ने उनको भनाई छ । 

उनले भने,–‘सुन आयातको कोटा पनि बढ्ने कुरा भएको छ । अब बिस्तारै नजिकिएको चाडबाड तथा बिहेको सिजनले गर्दा पनि कारोबार बढ्ने आशा छ ।’


प्रतिक्रिया दिनुहोस्