सङ्कटतर्फ धकेलिँदै खाने तेलको निकासी, किन निरन्तर खस्किँदै छ व्यापार ?

काठमाडौँ । नेपालबाट निकासी हुने खाने तेल (पाम, भटमास र सूर्यमुखी) निर्यात को झन् झन् खस्किँदो छ । पछिल्लो समय यसको निर्यात निरन्तर घटिरहेको छ ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा रहेको प्रशोधित खाने तेलको निर्यात निराशाजनक छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा रहेको पाम, भटमास र सूर्यमुखी तेलको निकासी भने ओरालो लागेको हो । यसको निर्यात थप सङ्कटतर्फ धकेलिएको तथ्याङ्कले देखाउँछ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ) को तथ्याङ्कले खाने तेलको निर्यात परिमाण खस्क्दिो देखाएको छ । विगत केही वर्षहरूमा नेपालको कुल निर्यातमा खाद्य तेलहरू (भटमास, पाम र सूर्यमुखी तेल) को हिस्सा उल्लेख्य रहेको थियो । तर, चालु आर्थिक वर्षमा भने यी वस्तुहरूको निर्यातमा भारी ह्रास आएको छ । कुल वस्तु निर्यातमा पाम तेलको हिस्सा २.८५ प्रतिशत, सूर्यमुखीको ०.२९ प्रतिशत र भटमासको भने शून्य प्रतिशत नै छ ।
तथ्याङ्क अनुसार भटमास तेलको निर्यात शतप्रतिशत घटेको छ । दुई महिनाको अवधिमा ३५ हजारको मात्रै भटमास तेल निर्यात भएको देखिएको छ । गत आव २०७९/८० को भदौ मसान्तसम्ममा १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको थियो ।
यस्तै, समीक्षा अवधिमा पाम तेलको निर्यात पनि ४ अर्ब ९४ करोड १९ लाख रुपैयाँले घटेको छ । गत वर्षको भदौ मसान्तसम्ममा ५ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ बढीको पाम तेल निर्यात भएको थियो । तर, चालु आवको भदौ मसान्तसम्ममा भने यसको निर्यात ८६.७८ प्रतिशतले घटेको हो । दुई महिनामा नेपालले ७५ करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको पाम तेल मात्रै निर्यात गरेको छ । यता, सूर्यमुखी तेलको निर्यात पनि सुखद छैन । यस्तो तेल गत आवको दुई महिनामा १२ करोड ३३ लाख ६९ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, यस वर्षको सोही अवधिमा भने ३७.१३ प्रतिशतले घटेर ७ करोड ७५ लाख ६४ हजार रुपैयाँमा झरेको छ ।
नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरी प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसै गरी मलेसिया, इन्डोनेसिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।
पछिल्लो समय भारतले ल्याएको तेल आयात नीतिले नै नेपालबाट हुने निर्यातमा भारी गिरावट आएको उद्योगी प्रदीप मुरारकाले बताए । भारतले तेल आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको उनले बताए । उनले भने,– खाने तेलको निर्यात घट्नुको मुख्य कारण भारतले आयातमा लिएको नीति नै हो । उसले आयातमा लाग्दै आएको शुल्क घटाएपछि नै नेपालको निकासी घटेको हो ।’
कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ । भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शून्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरूप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो । सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको थियो । श्रीराम रिफाइनरीका सञ्चालक समेत रहेका उद्योगी मुरारकाले भने,–‘पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको छ ।’
तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भारतमा बिक्री गर्दा लागत बढी हुने र मूल्य पनि स्वतः बढी हुन्छ, यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको उनले बताए । उनले भने,–‘हामीले तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी फेरि भारत कसरी पठाउनु ? यहाँ बिजुलीको पनि समस्या छ। हाम्रो उत्पादन खर्च पनि बढी छ । यहाँ भन्दा इन्डियामै सस्तो छ ।’ हाल घाटै खाएर भए पनि केही मात्रामा निर्यात गरिएको उनले बताए । उनले भने,–‘हामीसँग स्टक तेल छ, घाटै खाएर पनि पठाउन पर्यो । स्टक राखेर के गर्नु ? जबसम्म भारत आयात नीति बदल्दैन, तबसम्म निकासीमा गाह्रो नै हुन्छ ।’
भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो । भारतले पाम तेलमा भन्सार महसुल घटाएपछि निर्यातमा उच्च गिरावट आएको व्यापार विज्ञहरू बताउँछन् ।
गत आर्थिक वर्ष २०७९/८० मा पनि २० अर्ब ५० करोड ९१ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो । जुन अघिल्लो आव २०७८/७९ को तुलनामा ५० प्रतिशतले कमी हो । अघिल्लो आवमा नेपालले कुल ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात गरेको थियो । यस्तै, गत आवमा भटमास तेलको निकासी पनि ८२.४ प्रतिशतले घटेर ८ अर्ब ४७ करोड ५९ लाख रुपैयाँमा सीमित भएको थियो । यता, गत वर्षभर ४४ करोड १८ लाख रुपैयाँ बराबरको मात्रै सूर्यमुखी तेलको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष सूर्यमुखी तेलको निर्यात शतप्रतिशत नै घटेको हो । अघिल्लो आवभर नेपालले ४ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको थियो ।
निर्यात प्रवर्द्धन केन्द्रका अनुसार आव २०७७/७८ मा पाम तेल ५ लाखको मात्रै निर्यात भएको थियो । त्यसपछि भने केही वृद्धि भएको थियो । तर, पछिल्लो समय निरन्तर घटिरहेको छ । यस्तै, आव २०७७/७८ मा ५३ अर्ब ६५ करोड १५ करोडको भटमास तेल र २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको थियो ।