खस्कियो घोराही सिमेन्टको व्यापार, नाफाबाट कहाँ हरायो १६ करोड ३१ लाख ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

खस्कियो घोराही सिमेन्टको व्यापार, नाफाबाट कहाँ हरायो १६ करोड ३१ लाख ?



काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीको नाफाबाट १६ करोड ३१ लाख रुपैयाँ गायब भएको छ । शुक्रबार कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ५ करोड ३४ लाख १७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन, अघिल्लो आवको तुलनामा ७५.३३ प्रतिशतले कमी हो । अर्थात् कम्पनीको नाफा एक वर्षमै १६ करोड ३१ लाख रुपैयाँ घटेको हो । अघिल्लो आवमा कम्पनीले २१ करोड ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले केही महिनाअघि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो । ढिलाई गरि प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको व्यापार पनि खस्किएको देखाउँछ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ८० करोड १५ लाख माथिको व्यापार गरेको थियो । तर, गत आवमा आईपुग्दा कम्पनीको व्यापार १७ करोड ६० लाखले कमी देखिएको छ। गत आवमा कम्पनीले कुल ४ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सिमेन्ट उद्योगमा बजारमा माग भन्दा बढी उत्पादन भएकाले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीदर घट्न गएकाले नै कम्पनीको वर्षभरी नै बिक्री वितरणमा कमी आएको जनाएको छ ।

कम्पनीका अनुसार आम्दानी पनि सोही अनुरुप घट्न गएको हो । यद्यपि, तरलता लगायत अन्य कुरा सन्तोषजनक रहेको कम्पनीले जनाएको छ । अगामी अवधि भित्रमा कम्पनीको क्षमता विस्तार कार्य पूर्ण भई सोही क्षमता अनुपातको बिक्री वितरण र क्षमता विस्तार पश्चात नयाँ प्लान्टमा लाग्ने प्रत्यक्ष खर्चमा कटौति हुन र उत्पादन लागत समेत घट्नेमा कम्पनी आशावादी छ । क्षमता विस्तार पश्चात उत्पादनमा भएको वृद्धिले यो वर्षमा निर्यातमा पनि राम्रो बिक्रीवितरण गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीको सेयर पुँजी भने ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने ३ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्