निरन्तर दबाबमा रहेको भन्सार राजश्व दोहोरो अङ्कले बढ्यो, तीन महिनामा १ खर्ब बढी उठ्यो

काठमाडौँ । चाडबाड लक्षित आयात बढेकाले भन्सार राजश्व पनि वृद्धि भएको छ । पछिल्लो तीन महिनामै भन्सार राजश्व दोहोरो अङ्कले बढेर १ खर्ब नाघेको छ ।
भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा भन्सार मार्फत १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख रुपैयाँ राजश्व उठेको छ । जुन, गत आवको सोही अवधिको तुलनामा १३.०८ प्रतिशत अर्थात् १२ अर्ब ६३ करोड ९० लाख ८६ हजार रुपैयाँले बढेको हो । गत आवको असोज मसान्तसम्ममा भने ९६ अर्ब ६१ करोड २० हजार रुपैयाँ भन्सार मार्फत राजश्व उठेको थियो ।
विशेषगरि चालु आवको असोज मसान्तसम्मको आयात वृद्धि भएकाले नै भन्सार राजश्व बढेको हो । यसअघि यस्तो राजश्व निरन्तर दबाबमा थियो । समीक्षा अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार हजार रुपैयाँ बराबरको माल वस्तु तथा सेवा आयात भएको छ । गत आवको तीन महिनाको तुलनामा सामान्य वृद्धि भएको हो । गत आवको असोज मसान्तसम्ममा पनि ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको आयात भएको थियो ।
विभागका अनुसार गत भदौ महिनाको तुलनामा भने भन्सार राजश्व उच्च वृद्धि भएको छ । भदौको तुलनामा असोजमा ६१.९० प्रतिशतले बढेको हो । सो अवधिमा ४१ अर्ब ७७ करोड ३८ लाख ९३ हजार रुपैयाँ बढी भन्सार राजश्व उठेको छ । गत भदौसम्ममा भन्सार ६७ अर्ब ४७ करोड ५२ लाख १३ हजार रुपैयाँ राजश्व उठेको थियो ।
गत भदौ मसान्तसम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भएको थियो । तर, असोजमा भने थप १ खर्ब ४८ अर्ब ९० लाख ७७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
निर्यात भने घट्यो
चालु आवको असोजमा आयात बढेता पनि निर्यात भने घटेको छ । तीन महिनामा नेपालले ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत आवको असोजसम्मको तुलनामा भने निर्यात २.२६ प्रतिशतले घटेको हो । गत आवको असोज मसान्तसम्ममा ४१ अर्ब ८२ करोड १ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको थियो ।
साढे ४ खर्बको वैदेशिक व्यापार, ३ खर्ब ६६ अर्ब माथिको व्यापार घाटा
चालु आवको तीन महिनामा आयात वृद्धिले वैदेशिक व्यापार बढेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि भई ४ खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । तर, निर्यात खस्किँदामा भने व्यापार घाटा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँको व्यापार घाटा छ । जुन, गत आवको असोज मसान्तसम्मको तुलनामा २.१५ प्रतिशतले बढेको विभागको तथ्याङ्कमा उल्लेख छ ।