संसार भरी फैलियो ब्यापार, तर टाट पल्टिँदै देश « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

संसार भरी फैलियो ब्यापार, तर टाट पल्टिँदै देश



काठमाडौं

  • भारतदेखि अरबको खाडी र लाल सागरहुँदै मीश्र एवम् भूमध्ये सागरसम्म जोडिएको २ हजार किलोमिटरभन्दा लामो ‘धूप मार्ग’ । त्यही बाटोमा १५३ वर्षअघि सुएज नहर बनाएर अहिले विश्व ब्यापारको प्रमुख नाकाको रुपमा विकास गरिएको छ ।
  • चिलीको स्यान्टियागोदेखि अर्जेण्टिना, बोलिभिया, पेरु र इक्वेडरहुँदै कोलम्बियासम्म आन्देश पर्वत श्रृङ्खला र प्रशान्तको तटैतट करीब ४० हजार किलोमिटरको ‘इन्का रोड सिस्टम’ ।
  • चीनको पैचिङ र शाङहाइजस्ता सहरबाट सुरु भएर काजाख्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इरान, इराक, सिरियाहुँदै इजिप्ट र बुल्गेरियासम्म पुगेको ६ हजार ४०० किलोमिटर लामो ‘रेसम मार्ग’ । यही सिल्क रोडलाई पुनर्जागृत गर्दै अहिले चीनले ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स–बीआरआई’ कार्यान्वयनमा ल्याउने कोसिस गरिरहेको छ ।
  • बंगालको खाडी (चटगाउँँ)देखि कलकत्ताहुँदै गंगा मैदानको बाटो भएर आगरा, लाहोर, पेशावरहुँदै काबुल जोड्ने करीब २ हजार ४०० किलोमिटर लामो ‘ग्राण्ड ट्रङ्क रोड’ ।
  • युरोपमा बाल्टिक देशहरुदेखि स्पेनसम्म फैलिएको तृणमणि (एम्बर) मार्ग । मीश्रदेखि इजरायल र सिरियाहुँदै टर्की जोड्ने सामुद्रिक मार्ग ‘भिया मेरिस’ । सहारा मरुभूमिहुँदै उत्तरी अफ्रिकाभरी सञ्जाल फैलाएको ‘ट्रान्स सहारा मार्ग’ । ग्रीस र इटलीदेखि भारतसम्म आउने ‘रोमन–इन्डियन रुट’ । भारतबाट सुमात्राहुँदै चीनसम्म र पश्चिममा अरब र अफ्रिका घुमेर युरोप पुग्ने हिन्द महासागरका अनेक मार्गहरु ।

++++

संसारका प्राचिन व्यापरिक मार्गहरु यिनै थिए ।

छोटो, तर हिमालयपार ब्यापार गर्ने एक मुख्य बाटो हो, नेपाल–तिब्बत ब्यापार मार्ग । विगतमा सयौं वर्षसम्म भारतले भोटसँग ब्यापार गर्ने मुख्य नाका नै नेपाल थियो । त्यसैले चाहे भारत, चाहे भोट, दुबैतिरको ब्यापारमा नेपालले नाफा आर्जन गर्दै आएको थियो ।

ती प्राचिन तथ्यहरुलाई इतिहासले अहिले आएर उल्टाइदिएको छ । अहिले हाम्रो देशको अन्तरराष्ट्रिय ब्यापार थेगिनसक्नु गरी विग्रिएको छ । नेपालले वर्षभरीमा संसारका १७० हाराहारी देश र भौगोलिक क्षेत्रमा ब्यापार गरिरहेको छ । वितेका तीन महिनामा मात्रै नेपालले १४० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रसँग ब्यापार गरेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
तर त्यसपछि केलव २५ मुलुकसँग नेपालको ब्यापार नाफामा छ । त्यो पनि ज्यादै कम मात्रामा नाफा भइरहेको छ । यो तीन महिनामा नेपाललाई व्यापारबाट सबैभन्दा धेरै अमेरिकासँग भएको छ । तर रकममा हेर्ने हो भने त्यो १ अर्ब ५५ करोडमात्रै छ । दोस्रो नाफाको ब्यापार भएको डेनमार्कसँग २८ करोड ३० लाखमात्रै नाफा भएको छ ।

तर घाटाको कुरा गर्ने हो भने निकै भयावह परिदृष्य देखिन्छ । भारतसँग मात्रै यो सालको तीन महिनामा २ खर्ब २४ अर्ब ३६ करोडभन्दा धेरै ब्यापार घाटा भएको छ । यसबीचमा नेपालले पेट्रोलियम पदार्थको आयातमा मात्रै ६८ अर्ब ८६ करोडभन्दा धेरै रकम विदेश पठाएको छ । यो रकम घटाउने हो भने पनि भारतसँगको ब्यापार घाटा १ खर्ब ५५ अर्ब ५० करोड हाराहारी पुग्छ ।

चीनसँग ७९ अर्ब र संयुक्त अरबसँग साढे ८ अर्बको ब्यापार घाटा छ । युद्धग्रस्त युक्रेनबाट यो तीन महिनामा मात्रै नेपालले ४ अर्ब ७३ करोडभन्दा धेरैको सामान किनेका छौं, तर उसलाई १ रुपैयाँको वस्तु पनि बेच्न सकिएको छैन ।

मलेसियासँग साढे ४ अर्ब, इन्डोनेसियासँग ३ अर्ब ३३ करोड, अस्ट्रेलियासँग २ अर्ब ८८ करोड, अर्जेन्टिनासँग २ अर्ब ७९ करोड र थाइल्याण्डसँग २ अर्ब ७४ करोड हाराहारी ब्यापार घाटा छ । संसारभरबाट वस्तु आयात गर्ने नेपालले आफ्ना सामान चाहीँ बेच्नै सकेको छैन ।

यो तीन महिनामा ४ खर्ब ८ अर्ब हाराहारीको वस्तु आयात गरेको नेपालले जम्मा ४० अर्ब ८७ करोडको वस्तु निर्यात गरेको छ । त्यसमा पनि कुल निर्यातको साढे १० प्रतिशत त भारतमा मात्रै छ । अमेरिका, जर्मनी र बेलायतले नेपाली सामान बढी मात्रामा किनेका छन् । तर युरोपका ठूला अर्थतन्त्र जर्मनी, बेलायत, फ्रान्सजस्ता देशसँग नेपालले निकै ठूलो ब्यापार घाटा सहनु परेको छ ।

एसियाको सबैभन्दा गरिब देश भनेर चिनिएको नेपाललाई विभिन्न मुलुकले निर्यातमा सहजिकरण गरिदिने र भन्सार छुटको सुविधा पनि दिएका छन् । तर कयौं प्रमाणिकरण र प्रक्रियागत समस्या सल्टाउन नसक्दा नेपालले निर्यात बढाउनै सकेको छैन । परम्परागत बजारको रुपमा रहेको तिब्बतमा चीनको अर्को कुनै प्रान्तबाटभन्दा नेपालबाट सामान लाँदा सस्तो पर्छ ।

तर त्यही तिब्बतमा नेपालबाट राँगाको मासु लान खोज्दा ‘खोरेत लागेको छैन’ भनेर प्रमाणिकरण गर्न नसकेपछि भियतनाम पुर्याएर प्रमाणिकरण गरेर हङ्कङको बाटो लानु परेको थियो । लाजै लाग्नुपर्ने कुरा त, छिमेकी देश भुटानसँग यो तीन महिनामा झण्डै २५ करोड ब्यापार घाटा पुगिसकेको छ ।

कतिसम्म भने, बार्बाडोस, होन्डुरस, भानुआटु, पपुवा न्यू गिनीजस्ता देशसँग नेपालले घाटाको ब्यापार गरिरहेको छ । अफगानिस्तान र माल्दिभ्सलाई छाड्ने हो भने दक्षिण एसियामा सबैसँगको दुईपक्षीय ब्यापारमा नेपाल घाटामै छ ।

सरकारको यस्तो लापरबाही नीति र निजी क्षेत्रको सुदखोरी प्रबृत्तीले देश टाट पल्टिँदै गएको छ भन्ने दृष्टान्त पछिल्ला दशकमा भएको ब्यापारको आँकडाले पनि प्रस्ट्याउँछ ।


प्रतिक्रिया दिनुहोस्