नेपाली सिमेन्ट तथा किङ्कर निर्यातमा उल्लेख्य वृद्धि: तीन महिनामा ८५ करोडको निर्यात, व्यवसायीहरूमा थपियो उत्साह « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाली सिमेन्ट तथा किङ्कर निर्यातमा उल्लेख्य वृद्धि: तीन महिनामा ८५ करोडको निर्यात, व्यवसायीहरूमा थपियो उत्साह



काठमाडौं । नेपालबाट निर्यात हुने सिमेन्ट तथा किङ्कर निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ८५ करोड बढीको सिमेन्ट किङ्कर निर्यात भएको छ । 

भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा कुल ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा किङ्कर भारत तर्फ निकासी भएको हो ।

चालु आवको तीन महिनामा ७ लाख ६४ हजार ६९६ टन सिमेन्ट भारतीय बजारमा पुगेको हो । गत वर्षको असोज मसान्तसम्ममा भने २ करोड १५ लाख रुपैयाँ बराबरको ६० हजार ८४८ टन सिमेन्ट नेपालबाट निर्यात भएको थियो ।

सिमेन्ट निर्यातमा देखिएको बढोत्तरीसँगै व्यवसायीहरूमा पनि उत्साह फर्किएको छ । आर्थिक मन्दी लगायतको मारमा रहेका व्यवसायीहरूलाई सिमेन्ट तथा किङ्कर निर्यातले थप राहत प्रदान गरेको हो । 

हाल नेपालका चार वटा उद्योगले भारत तर्फ सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । निर्यात सुरु भएको सुरुवातदेखि सिमेन्ट तथा किङ्कर निकासी निरन्तर बढिरहेको छ । 

चालु आवको असोज मसान्तसम्ममा ३८ करोड ४० लाख रुपैयाँ बराबरको सिमेन्ट भारतले किनेको छ । सो अवधिमा ६ लाख ९ हजार ४४८ टन बराबरको सिमेन्ट निर्यात भएको हो । यस्तै, सो अवधिमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन सिमेन्ट किङ्कर निर्यात भएको हो । 

बिशेषगरि भारतको विहार र उत्तर प्रदेशमा नेपाली सिमेन्टको माग बढ्दै गएको उद्योगीहरू बताउँछन् । नेपालमा उत्पादन पनि निरन्तर बढी रहेको अवस्था छ  । नेपाली उद्योगहरू चलायमान हुन थालेका छन् । नेपाली सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन सकिएमा निकै सम्भावना रहेको बताइन्छ । सिमेन्ट तथा क्लिङ्करको बढ्दो निकासीले भारतसँगको व्यापार घाटा कम गर्न सकिने जानकारवालाहरु बताउँछन् । 

विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा थप टेवा पुगेको उनीहरू बताउँछन् । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् । 


प्रतिक्रिया दिनुहोस्