किन घटी रहेको छ नेपाली ‘सुनका मौलिक गहना’को अन्तर्राष्ट्रिय व्यापार ?

काठमाडौं । गत वर्षहरूमा नेपालबाट सुनका गहना निर्यात निकै उत्साहजनक रूपमा बढी रहेको थियो । वार्षिक करोडौँ रुपैयाँ बराबरको गहना अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको थियो । तर, पछिल्लो समय पनि मौलिक सुनका गहना निकासी निरन्तर घटी रहेको छ । एक वर्षको अवधिमै यस्ता गहनाको निकासी झन्डै दोब्बरले घटेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज) को तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा जम्मा ८७ लाख २६ हजार रुपैयाँ बराबरको मात्रै गहना निर्यात भएको छ । जुन गत आवको असोज मसान्तसम्मको तुलनामा भने ९१.१० प्रतिशतले घटेको हो । गत वर्षको तीन महिनामा नेपालले ९ करोड ७५ लाख रुपैयाँ बराबरको गहना निर्यात गरेको थियो । गत आर्थिक वर्षभर नै कुल १८ करोड ८७ लाख रुपैयाँ बराबरको गहना विदेशी मुलुकहरूमा पुगेका थिए ।
भन्सार विभागले एचएस कोड दिएपछि आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको थियो । बिशेषगरि अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ । भन्सारले एचएस कोड दिएको वर्ष सुनको गहना निर्यात उच्च दरमा वृद्धि भएको थियो । विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको विभागले जनाएको छ । विदेशी मुलुकहरूमा नेपालीहरूको बसोबास हुने ठाउँहरूबाट सुनका गहनाको अत्यधिक माग हुने गरेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३८ करोड ७१ लाख रुपैयाँको ३८ केजी बराबर सुनका गहना निर्यात भएको थियो । यसै गरी गत आव २०७८/७९ मा ५३ करोड २७ लाख रुपैयाँ बराबरको ६१ केजी सुनको गरगहना निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसपछिका वर्षहरूमा भने क्रमशः घट्दै गएको देखिन्छ ।
सरकारी नीतिका कारण पछिल्लो समय नेपालमा बन्ने मौलिक र कलात्मक सुनको निकासी खस्किँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासँगका अध्यक्ष मनि रत्न शाक्यले बताए । उनले भने,–‘विदेशी मुलुकमा नेपालीहरूको बसोबास बढी भएका देशहरूबाट यस्ता सुनका गहनाको अत्यधिक माग हुने गर्छ । तर, सरकारी नीतिका कारण नै पछिल्लो समय निर्यातमा समस्या भइरहेको छ । एयरपोर्टमा पनि निकै दुख दिने काम भइरहेको छ । अब त्यस्ता नीति संशोधनको आवश्यक छ ।’
उनका अनुसार सुनको मूल्यमा हुने उतारचढावले पनि गहना निर्यातमा नकारात्मक प्रभाव पारेको हो । ‘पछिल्लो समय विश्व बजारमा नै सुनको भाउ बढी रहेको छ । यसले पनि गहना निर्यातमा नकारात्मक प्रभाव पारेको हुन सक्छ’– अध्यक्ष शाक्यले भने ।
विदेशी मुलुकबाट सुनको गहनाको मागमा भने कमी नभएको उनले बताए । ‘नेपालीहरूको बसोबास बढी हुने मुलुकहरूबाट नै सुनको गहनाको माग एकदमै उच्च छ । बजार मागमा कुनै कमी छैन । तर, सरकारले निर्यातमा प्रोत्साहन नगर्दा नै समस्या भइरहेको छ’–शाक्यले भने ।
सुनचाँदी व्यवसायीहरूले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरूले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवर्द्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त सम्भावना औँल्याउँदै आएका थिए । यसका लागि सरकारले सकारात्मक प्रोत्साहन गर्न आवश्यक रहेको अध्यक्ष शाक्यले बताए । सुनको गहनाको निर्यात घटेसँगै विदेशी मुद्रा आम्दानी पनि घटी रहेको उनले बताए । उनले भने,–‘सरकारले गहना निर्यातलाई प्रोत्साहन नगर्दा नै समस्या भइरहेको छ,नीति संशोधनको आवश्यकता पनि छ । गहना निर्यात घट्दा विदेशी मुद्रा आम्दानी पनि घटेको छ ।’
गहना निर्यातमा सरकारले कुनै पनि सुविधा नदिएकाले पनि निकासीमा गिरावट आएको अध्यक्ष शाक्यले बताए । गहना निर्यात घटेसँगै देशले विदेशी मुद्रा आर्जन पनि गुमाइरहेको उनको भनाई छ ।
सुनचाँदीको कारोबार सम्बन्धी प्रस्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको व्यवसायीहरू बताउँछन् । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यवसायीक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनीहरूको तर्क छ ।