नेपालको अन्तर्राष्ट्रिय व्यापार: १०० बढी देशसँग घाटा, अमेरिकासहित २५ वटा मुलुकले नेपाललाई कसरी दिलाए नाफा ? « Arthapath.com
१९ कार्तिक २०८०, आईतवार

नेपालको अन्तर्राष्ट्रिय व्यापार: १०० बढी देशसँग घाटा, अमेरिकासहित २५ वटा मुलुकले नेपाललाई कसरी दिलाए नाफा ?



काठमाडौँ । नेपालले १३७ वटा मुलुकहरूसँग अन्तर्राष्ट्रिय व्यापार गरेको छ । ती मुलुकहरूमध्ये अधिकांशसँगको व्यापार घाटामा छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा अर्थात् गत साउनदेखि असोज मसान्तसम्ममा नेपालले कुल ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । सो अवधिमा निर्यात भने ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको मात्रै देखिएको छ ।

नेपालले तीन महिनामा भएको वैदेशिक व्यापारमा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ घाटा व्योहोरेको छ । व्यापारमा आफूले सामान बिक्री गरी बढी पैसा पाइयो र अर्कालाई कम पैसा तिर्नुपर्‍यो भने व्यापार नाफा भनिन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापार सुखद छैन । नेपालले सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग गर्छ । तर, सोही देशसँगको व्यापारमा पनि ठुलो घाटा छ ।

चालु आवको तीन महिनामा भारसँगको व्यापारमा नेपाल २ खर्ब २४ अर्ब ३६ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । समीक्षा अवधिमा भारतबाट नेपालले २ खर्ब ५० अर्ब ६१ करोड १० लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँ मात्रैको निर्यात गरेको छ । जसले भारतसँगको व्यापार घाटाको खाडल ठुलो छ । निर्यातभन्दा आयात धेरै भएकाले नै देशले ठुलो परिणाममा व्यापार घाटा व्यहोरर्नु परेको हो । 

भारतपछि अर्को ठुलो आर्थिक साझेदार चीनसँगको व्यापारमा पनि नेपालले ७९ अर्ब ८ करोड ८१ लाख रुपैयाँ नोक्सानी व्योहोरेको छ । चालु आवको असोज मसान्तसम्ममा चीनबाट ७९ अर्ब ८२ करोड ५ लाख रुपैयाँ बराबरको आयात भएको छ । तर, ७३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै नेपालले निर्यात गरेको छ । यी लगायतले नेपालले १३७ वटा बढी मुलुकहरूसँगको व्यापारमा घाटा खेप्नु परेको छ ।

तर, अन्तर्राष्ट्रिय व्यापारमा २५ वटा मुलुकसँग भने नेपालले नाफा कमाएको देखिन्छ । विश्वकै ठुलो अर्थतन्त्र भएको अमेरिका लगायतका दुई दर्जन मुलुकसँगको व्यापार नेपालको पक्षमा देखिएको हो । अघिल्लो वर्षहरूमा अमेरिकासँगको व्यापारमा पनि नेपालले घाटा खाँदै आएको थियो । तर, यो क्रम पछिल्ला वर्षहरूमा सुधार आई नाफामा पुगेको छ ।

अमेरिकालाई नेपालको तेस्रो आर्थिक साझेदारको रूपमा लिइन्छ । चालु आवको तीन महिनाको व्यापारमा पनि नेपालका लागि अमेरिकाले नाफा दिलाएको छ । समीक्षा अवधिमा अमेरिकासँग नेपालले ३ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा किनेको छ । तर, ४ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान विक्री गरेको छ । असोज मसान्तसम्ममा नेपालले अमेरिकासँगको व्यापारमा कुल १ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ । नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यी नै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको हो । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हाते कागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ । नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठुलो बजार अमेरिकामा देखिन्छ । नेपालको अमेरिकासँगको व्यापारलाई नाफामा पुर्‍याउन ठुलो योगदान दिएको छ । अमेरिकासँगको व्यापारमा विशेषगरि गलैँचा, कार्पेट र कुकुर बिरालोको आहारा निर्यातको उल्लेख्य योगदान देखिन्छ ।

अमेरिकापछि नेपाललाई नाफा दिलाउने दोस्रो ठुलो मुलुक हो डेनमार्क । डेनमार्कसँगको व्यापारमा पनि नेपाल नाफामा छ । तीन महिनाको अवधिमा नेपालले डेनमार्कबाट ७ करोड ७७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । तर, सो मुलुकमा ३६ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गर्न सफल भएको छ । आयात भन्दा निर्यात धेरै हुँदा डेनमार्कसँगको व्यापारमा नेपाल २८ करोड ३० लाख रुपैयाँ नाफामा छ । 

यी बाहेक नामै नसुनेका देशहरूसँगको व्यापारमा  पनि नेपालले नाफा गरेको देखिन्छ । भन्सार विभागका अनुसार नेदरल्याण्डसँगको व्यापारमा ५ करोड ४९ लाख, नर्वेसँग ३ करोड २९ लाख, हङग्रीसँग १ करोड १३ लाख, स्लोभाकियासँग ४३ लाख, सुडानसँग ३५ लाख,  लटभियासँग ७१ लाख, केन्यासँग ६७ लाख आइसल्यान्डसँग ५७ लाख, फिनल्यान्डसँग ४१ लाख बढीको नाफामा देखिएको छ ।

यी हुन् नेपाललाई नाफा दिलाउँने मुलुकहरु


प्रतिक्रिया दिनुहोस्