किन दबाबै दबाबमा छ लघुवित्त क्षेत्र ?
काठमाडौँ । लघुवित्त क्षेत्रमा दबाबै दबाबमा देखिएको छ । घट्दो नाफा तथा सञ्चालन आत्मनिर्भरताको अवस्था र बढ्दो निष्क्रिय कर्जाले लघुवित्त क्षेत्रमा दबाबको अवस्था देखाएको हो ।
नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधान सम्बन्धी सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार लघुवित्तहरूको नाफा हाल घट्दै गएको उल्लेख गरिएको छ । विगतका वर्षहरूमा नाफा उच्च रहेको हाल भने घटेको उल्लेख छ ।
२०७२ देखि २०८० सम्म लघुवित्तको औसतमा पुँजीको प्रतिफल ३० प्रतिशतभन्दा माथि रहेको छ भने सोही अवधिमा वाणिज्य बैङ्कहरूको पुँजीको प्रतिफल १०.३ प्रतिशत रहेको छ । उच्च प्रतिफलले गर्दा लगानीकर्ताहरू लघुवित्त वित्तीय संस्थाहरूमा बढी उत्साहित भएका थिए । २०७९ चैतमा लघुवित्त वित्तीय संस्था र वाणिज्य बैङ्कको पुँजीको प्रतिफल क्रमशः ५.२ प्रतिशत र १४.६ प्रतिशत रहेको छ । २०७९ चैतमा २० वटा लघुवित्त वित्तीय संस्थाहरूको पुँजीको प्रतिफल ऋणात्मक रहनुले संस्थाहरूको वित्तीय अवस्था बिग्रँदै गएको जनाएको छ ।
लघुवित्तहरूको सम्पत्तिको प्रतिफल पनि विगतमा उच्च रहने गरेको थियो । तर, २०७९/८० मा घटेको छ । साथै, यस्तो प्रतिफल पनि विगतमा वाणिज्य बैङ्कहरूको तुलनामा उच्च रहने गरेको छ । विगत २०७२ देखि २०८० सम्म लघुवित्त वित्तीय संस्थाहरूको सम्पत्तिको प्रतिफल औसतमा २.४ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कहरूको १.० प्रतिशत रहेको छ । यस्तो प्रतिफल २०७९ मा २.३ प्रतिशत रहेकोमा २०८० मा ०.६ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ ।
विगतमा रहेको उच्च प्रतिफलले लघुवित्त वित्तीय संस्थाहरूको नाफामुखी व्यवहार र लक्ष्यबाट विचलनको अवस्थालाई सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,–‘स्प्रेडमा सीमा लागु नभएको कारण खुद ब्याज आम्दानीमा कुनै प्रकारको सीमा नरहनु र जोखिम भारित सम्पत्तिको ४ प्रतिशत मात्र चुक्ता पुँजी कायम गरे पुग्ने व्यवस्थाको कारण विशेष गरी पुँजीको प्रतिफल उच्च रहन गएको हो।’
यस्तै, कर्जाको ब्याजदरमा सीमा तोकेको भएता पनि लघुवित्त वित्तीय संस्थाहरूले न्यून ब्याजदरमा अन्य बैङ्क तथा वित्तीय संस्थाहरूबाट सापटी प्राप्त गर्ने भएकोले स्पे्रडदर उच्च रहेको बताइएको छ। त्यसै गरी, कोभिड– १९ को कारण बैंकिङ्ग क्षेत्रमा अधिक तरलता रहेको समयमा लघुवित्त वित्तीय संस्थाहरूले न्यून ब्याजदरमा सापटी प्राप्त गरेकाले २०७७/७८ मा पुँजीको प्रतिफल एवम् सम्पत्तिको प्रतिफल पुनः उकालो लागेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।
विगतमा लघुवित्त वित्तीय संस्थाहरूको सञ्चालन खर्च र सञ्चालन आत्मनिर्भरता अनुपात पनि घट्दै गएको प्रतिवेदनले जनाएको छ । विशेषगरि आव २०७८/७९ देखि घट्दै गएको देखाइएको छ ।
प्रतिवेदन अनुसार २०७३ मा आत्मनिर्भरता अनुपात २७२ प्रतिशत रहेकोमा २०७८ मा १३४.८ प्रतिशतमा झरेको थियो। सो अनुपात अझै घट्न गई २०७९ असारमा १०९.१ प्रतिशत र २०७९ चैतमा १०३.२ पुगेको छ । २०७९ चैतमा ३९ वटा लघुवित्त वित्तीय संस्थाहरूको आत्मनिर्भरता अनुपात १०० भन्दा कम रहेको छ ।
‘सञ्चालन आय र खर्चको अनुपातको रूपमा गणना गरिने आत्मनिर्भरता अनुपात कार्यसम्पादनको वा वित्तीय स्वास्थ्यको एक महत्त्वपूर्ण सूचक हो। उच्च सञ्चालन आत्मनिर्भरता अनुपातले संस्थाले आफ्नो सञ्चालन आयबाट सञ्चालन खर्च धान्न सक्छ भन्ने सङ्केत गर्दछ’,–अध्ययन प्रतिवेदनमा भनिएको छ,–‘अर्कोतर्फ, कम सञ्चालन आत्मनिर्भरता अनुपातले बाह्य कोष वा अनुदानमा बढी निर्भरतालाई सङ्केत गर्छ । सञ्चालन आत्मनिर्भरता अनुपात समयसँगै घट्दै गएकोले लघुवित्त वित्तीय संस्थाहरू वित्तीय रूपमा कमजोर बन्दै गएको र बाह्य स्रोतमा निर्भरता बढ्ने सङ्केत गरेको छ ।’
यस्तै, ऋणको आकार पनि बढ्दै गएको उल्लेख छ । प्रति शाखा र प्रति कर्मचारी औसत ऋणको आकार बढ्दै गएको छ । २०७० असारमा प्रति कर्मचारी ऋणको आकार ६८ लाख रुपैयाँ रहेकोमा २०७९ चैतमा १ करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यसै गरी, २०७१ असारमा प्रति शाखा ऋणको आकार ४ करोड १५ लाख रुपैयाँ रहेकोमा २०७९ चैतमा ८ करोड ५५ लाख रुपैयाँ रहेको छ । प्रति शाखा र प्रति कर्मचारी औसत ऋण बढ्दै जानुले लघुवित्त वित्तीय संस्थाको समग्र प्रणाली अत्यधिक बिस्तार भएको देखाउँदछ । यससँगै लघुवित्त वित्तीय संस्थाहरूको ऋणी र कर्जा व्यवस्थापन गर्ने क्षमतामा दबाब परेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, लघुवित्त संस्थाहरू खराब कर्जा पनि बढ्दो देखिएको छ । आव २०७०/७१ देखि २०७८/७९ सम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा कुल कर्जाको ३ प्रतिशतभन्दा कम रहेको थियो । तर, २०७९ चैत मसान्तमा ७.४३ प्रतिशत पुगेको छ । यस्तो उच्च निष्क्रिय कर्जा अनुपातले समग्र लघुवित्त क्षेत्रमा रहेको दबाबको अवस्थालाई सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ।
२०७९ चैत मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकम उच्च रहेको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा २.६३ प्रतिशतले घटेर २०७९ चैत मसान्तमा ३ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी २०७९ चैत मसान्तमा निष्क्रिय कर्जा २८ अर्ब ३३ करोड अर्थात् ७.४३ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर १८२.१६ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १६.९० प्रतिशतले बढेको थियो ।