लगानी समूहका सूचीकृत ७ कम्पनीहरुको वित्तीय अवस्था कस्तो ? मुख्य सूचकमा दाँजेर हेर्दा… « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

लगानी समूहका सूचीकृत ७ कम्पनीहरुको वित्तीय अवस्था कस्तो ? मुख्य सूचकमा दाँजेर हेर्दा…



काठमाडौं । लगानी समूह अन्तर्गतका नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले तीन महिनामा १ अर्ब बढी नाफा कमाएका छन् ।

हाल नेप्सेमा लगानी समूहका ७ वटा कम्पनीहरू सूचीकृत छन्, ती कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा कम्पनीहरूले १ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बढी खुद नाफा कमाएका हुन् । जुन, गत आवको पहिलो त्रैमासको तुलनामा १४.९८ प्रतिशतले बढी हो । लगानी समूहका सूचीकृत कम्पनीहरूले गत आवको पहिलो त्रैमासमा ९६ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । 

लगानी समूहमा सूचीकृत कम्पनीहरूले सेयर बजार, घरजग्गा, हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा भने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) अघि देखिएको छ । बैङ्कले समीक्षा अवधिमा नाफा ९.३० प्रतिशतले बढाएर ४१ करोड ३९ लाख रुपैयाँ पुर्‍याएको छ। 

नाफा वृद्धिदरमा भने हाथवे इन्भेष्टमेन्ट नेपाल पहिलो सूचीमा देखिएको छ । गत आवको पहिलो त्रैमासमा ९ लाख रुपैयाँ मात्रै कमाएको कम्पनीले यस वर्षको सोही अवधिमा भने १ करोड ५८ लाख रुपैयाँ पुर्‍याएको छ । 

यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पनि खुद नाफा १६.६६ प्रतिशतले बढाएर ३७ करोड ८९ लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै, नागरिक लगानी कोषले २६ करोड ४८ लाख रुपैयाँ, सीइडीवी हाइड्रोपावर कम्पनीले ३ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ८८ लाख, इमर्जिङ्ग नेपालले १९ लाख रुपैयाँ नाफा कमाएका छन् । 

चुक्ता पुँजी एचआइडीसीएल र जगेडा कोषमा नागरिक लगानी कोष बलियो

लगानी समूह अन्तर्गतका सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी एचआइडीसीएलको देखिएको छ । कम्पनीको चुक्ता पुँजी हाल २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

दोस्रो स्थानमा रहेको निफ्राको पनि २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यता, नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १ अर्ब २२ करोड ३२ लाख, हाथवे १ अर्ब १७ करोड, सीइडीवीको ८३ करोड ९४ लाख र इमर्जिङ्ग नेपालको ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

तर, जगेडा तथा कोषमा भने नागरिक लगानी कोष बलियो देखिएको छ । हाल कम्पनीको यस्तो कोषको आकार २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ छ । यस्तै, निफ्राको जगेडा तथा कोषमा २ अर्ब ५९ करोड ६६ लाख, एचआइडीसीएलको २ अर्ब २८ करोड २६ लाख, हाथवेको ७० करोड ७५ लाख, सीइडीबीको ५३ करोड ६३ लाख, एनआरएनको २७ करोड ६९ लाख र इमर्जिङ नेपालको ७ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी नागरिक लगानी कोषको धेरै, नेटवर्थमा भने सीइडीवी अगाडी

प्रतिसेयर आम्दानी (इपिएस) भने नागरिक लगानी कोषकै धेरे छ । हाल कोषका यस्तो आम्दानी १९ रुपैयाँ ९४ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ७९ पैसा रहेको छ । 

नेटवर्थमा भने सीइडीवी अगाडी देखिएको छ । हाल कम्पनीको नेटवर्थ १६३ रुपैयाँ ९० पैसा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३१ पैसा छ । 

यस्तै, एचआइडीसीएलको इपिएस ६ रुपैयाँ ६६ पैसा, निफ्राको ७ रुपैयाँ ६६ पैसा, हाथवेको २ रुपैयाँ ७० पैसा, एनआरएनको २ रुपैयाँ ९० पैसा र इमर्जिङको १ रुपैयाँ ४० पैसा रहेको छ । यी कम्पनीहरूको प्रतिसेयर नेटवर्थ क्रमशः ११० रुपैयाँ २ पैसा, ११२ रुपैयाँ २ पैसा, ८० रुपैयाँ २४ पैसा, १२२ रुपैयाँ ६४ पैसा, ११३ रुपैयाँ २९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्