नेपालको अन्तर्राष्ट्रिय व्यापार: आयात घट्दा पनि कसरी बढ्यो भन्सार राजश्व ?

काठमाडौं । नेपालको सिङ्गो आयातमा गिरावट आएको छ । आयात घट्दा पनि यसबाट सरकारले प्राप्त गर्ने भन्सार राजश्व भने साढे १० करोड रुपैयाँले वृद्धि भएको देखिएको छ ।
भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा आयात ३.७९ प्रतिशतले घटेको छ । गत कात्तिक मसान्तसम्ममा नेपालले कुल ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने २० अर्ब १८ करोड ७९ लाख रुपैयाँले कमी हो ।
गत आवको पहिलो चार महिनामा भने कुल ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको माल वस्तु आयात भएको थियो । यसरी आयात घट्दा पनि राजश्व सङ्कलन भने १० अर्ब ४६ करोड २९ लाख रुपैयाँले वृद्धि भएको छ । गत आवको कात्तिक मसान्तसम्ममा कुल वस्तुको आयातबाट १ खर्ब २६ अर्ब ६२ करोड २२ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, चालु आवको सोही अवधिमा भने यस्तो राजश्व ८.२६ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।
आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बन्दै गएकाले पनि नै राजश्व वृद्धि भएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । विशेषगरि आन्तरिक प्रणालीमा गरिएको कडाइ गर्दा पनि भन्सार राजश्व बढ्न पुगेको महानिर्देशक पौडेलको भनाई छ । उनले अर्थ पर्थसँग भने,–‘वैदेशिक व्यापारमा आयात घटेको छ । तर, विभागको आन्तरिक नियन्त्रण प्रणाली सुधार आएको छ । हामीले आन्तरिक प्रणालीमा निरन्तर गरिएको कडाइले पनि भन्सार राजश्वमा बढोत्तरी देखिएको हो ।’
प्रशासनिक तथा भन्सार मूल्याङ्कनमा र केही नीतिगत परिवर्तनको प्रभाव राजश्वमा देखिएको पौडेलले बताए । ‘हामीले प्रशासनिक सुधार गरेको छौँ । भन्सार मूल्याङ्कनमा पनि सुधार छ । राजस्व चुहावटमा लिएको शून्य सहनशीलता तथा नीतिगत परिवर्तनले पनि राजश्व बढाएको हो’–पौडेलले अर्थ पथलाई बताए ।
यसअघि आयात बढ्दा पनि राजश्व भने निकै दबाब थियो । तर, पछिल्लो समयमा भने सुधार हुँदै गएको पौडेले बताए । नेपालमा पछिल्लो समय आयात बढ्न सकेको छैन । विशेषगरि आर्थिक सङ्कटका कारण नेपालमा आयात बढ्न नसकेको हो । महँगी लगायतका कारण उपभोक्ताको क्रय शक्ति घटेको छ । त्यसले बजारमा वस्तुको माग घटाएको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न सकेको छैन । यस्ता कारण पनि भन्सार राजश्व दबाबमा थियो । सरकारको आम्दानी नै राजश्वमा निर्भर छ । त्यसमा पनि आयात मार्फत हुने राजश्व नै सरकारको आम्दानी बढी निर्भर हुन्छ । कुल राजश्वमा भन्सार राजश्वले नै करिब आधा हिस्सा ओगटेको हुन्छ । आयात घट्दा पनि राजश्व बढ्नुलाई भने सकारात्मक रूपमा लिनुपर्ने जानकारवालाहरु बताउँछन् ।
आयातसँगै खस्किँदै निर्यात, साढे ४ खर्ब बढी
चालु आवको चार महिनामा आयातसँगै निर्यात पनि घटेको छ । समिक्षा अवधिमा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन, गत आवको कात्तिक मसान्तसम्मको तुलनामा ७.६८ प्रतिशत अर्थात् ४ अर्ब २० करोड ८९ लाख रुपैयाँले कमी हो । गत आवको समिक्षा अवधिमा नेपालले ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।
यस्तै, समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । तर, अन्तर्राष्ट्रिय व्यापारमा भने ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । यद्यपि, यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा भने ३.३४ प्रतिशतले कम हो । आयात र निर्यात दुवैमा आएको गिरावटले नै व्यापार घाटा पनि कम देखिएको हो । गत आवको पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बढी थियो ।