म्युचुल फन्डहरूको ‘न्याभ’मा बदलाव: नाफामा २ वटा बाहेक सबै ऋणात्मक, सेयर बजारको अस्थिरता कि नियामकीय कडाइ ? « Arthapath.com
१८ मंसिर २०८०, सोमबार

म्युचुल फन्डहरूको ‘न्याभ’मा बदलाव: नाफामा २ वटा बाहेक सबै ऋणात्मक, सेयर बजारको अस्थिरता कि नियामकीय कडाइ ?



काठमाडौं । म्युचुअल फन्डहरूको वित्तीय रिपोट निराशाजनक देखिएको छ । अधिकांश फन्डहरू थप ऋणात्मक बनेका छन् । फन्डहरूले सार्वजनिक गरेको चालु गत कात्तिक महिनामा वित्तीय विवरणले यस्तो देखिएको हो । हालसम्म ४२ वटा खुला तथा बन्दमुखी फन्डहरूले मात्रै कात्तिकको रिपोर्ट प्रकाशित गरेका छन् । 

रिपोर्टअनुसार ४० वटा फन्डहरूको नोक्सानी झन् बढेको छ । दुई वटा मात्रै फन्डहरूले नाफामा देखिएका छन् । हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को मात्रै नाफा बढेको छ । गत असोजमा ५ लाख ६२ हजार ऋणात्मक रहेको यो फन्ड कात्तिकमा भने २१ लाख ९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यता, नाफामै देखिएता पनि एनआईसी एशिया पनि असोजको तुलनामा १६ प्रतिशतले घटेको छ । कात्तिकमा उक्त फन्ड २ करोड ७६ लाख ७४ हजार रुपैयाँ धनात्मक छ । कात्तिकमा म्युचुअल फन्डहरू २ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ ऋणात्मक भएका छन् । गत असोजको तुलनामा भने यी फन्डहरूको नोक्सानी १९ करोड १८ लाख रुपैयाँले बढेको हो । 

विशेषगरि सेयर बजार नै अस्थिर बन्दा फन्डहरूको नाफा तथा फन्डहरूको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घट्दै गएको छ । बजारमा देखिएको अस्थिरता र लामो समयदेखिको घट्दो प्रवृत्तिले पनि फन्डहरूले नोक्सानी व्यहोरेका छन् । यसका साथै सूचीकृत सेयर लगानीको आकार समेत खुम्चिँदै गएको छ । यस्ता कारण फन्ड लगानीकर्ता समेत निराश देखिएका छन् । विशेषगरि बजारको अस्थिरताले नै फन्डहरूको नाफा र न्याभ प्रभावित हुने सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्दीप कार्कीले बताए । उनले भने,‘सेयर बजार बढ्दा न्याभ पनि बढ्छ, घट्दा न्याभ पनि घट्छ । बजारको देखिएको अस्थिरताले नै फन्डहरू अन रियलआइज लसमा देखिएका हुन्’ उनले थपे, ‘बजारको मनोविज्ञानले नै निर्धारण गर्ने कुरा हो । हाम्रो मार्केट बढ्यो भने लगातार बढ्ने, घट्यो भने निरन्तर घट्ने प्रवृत्ति देखिन्छ ।’

नियामक निकाय नेपाल धितोपत्र बोर्डले हालै गरेको नयाँ व्यवस्थाले पनि केही असर गरेको हुन सक्ने सिईओ कार्कीले बताए । बोर्डले आइपीओ लगायत आरक्षणमा प्राप्त गरेको सेयर बिक्रीमा लगाम लगाएको छ । आरक्षणको सेयर ६ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था बोर्डले गरेको छ। बोर्डले गत कात्तिक २१ गतेदेखि नै लागू हुने गरी सो व्यवस्था गरेको हो । बोर्डको सोही निर्णयले पनि कात्तिकमा अधिकांश म्युचुल फन्डहरूको नाफा र न्याभमा पनि केही असर पारेको कार्कीले बताए ।  ‘मुख्यतः सेयर बजारमा आएको गिरावट नै हो । तर, नियामकीय निकायले गरेको नयाँ व्यवस्था छ, त्यसले पनि केही असर त पक्कै पारेको छ’, कार्कीले भने । 

यसअघि आरक्षणबाट प्राप्त गरेको सेयर सामूहिक लगानी कोषहरूले दोस्रो बजारमा कारोबार भएकै दिनदेखि नै बेच्ने गरेका थिए । तर, अब सार्वजनिक निष्कासनको गरी बाँडफाँट भएको ६ महिनामा पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने व्यवस्था भएको छ । कारोबारको पहिलो दिन नै बजारमा सप्लाई दिएर बजार घटाउन थालेपछि बोर्डले म्युचुअल फन्डलाई आरक्षणको सेयर बिक्रीमा ६ महिने लकइन लगाएको हो ।

म्युचुअल शण्डको सेयर बजारमा लगानी साढे २४ अर्ब पुग्यो

म्युचुअल फन्डहरूको सेयर बजारमा हुने लगानी २४ अर्ब ६७ करोड ४८ लाख ९८ हजार रुपैयाँ पुगेको छ । हालसम्म ४२ वटा फन्डहरूले सार्वजनिक गरेको कात्तिकको वित्तीय विवरणले यस्तो देखाएको हो । यद्यपि, असोजको तुलनामा भने सामान्य अर्थात् ०.३१ प्रतिशतले मात्रै बढेको हो । गत असोजमा पनि फन्डहरूले २४ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ बढी लगानी सेयर बजारमा गरेका थिए । समीक्षा अवधिमा एनआईबिएल सहभागिता शण्डको सबैभन्दा धेरै लगानी देखिएको छ। उक्त फन्डले सेयर बजारमा १ अर्ब २६ करोड ३६ लाख ३३ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै, सिद्धार्थ इक्विटी फन्डले १ अर्ब १ करोड ९३ लाख, सानिमा इक्विटी फन्डले १ अर्ब ७८ लाख बढी लगानी सेयर बजारमा गरेका छन् । 

औसत न्याभ १० रुपैयाँभन्दा तल 

समीक्षा अवधिमा फन्डहरूको औसत न्याभ १० रुपैयाँ भन्दा तल नै देखिएको छ । असोजको तुलनामा अधिकांश फन्डहरूको न्याभमा गिरावट नै छ । कात्तिकमा औसत न्याभ ९ रुपैयाँ ५६ पैसा देखिएको छ।  

कात्तिकमा सबैभन्दा धेरै न्याभ सनराइज फर्स्ट म्युचुअल शण्डको देखिएको छ । शण्डको न्याभ १० रुपैयाँ ६२ पैसा छ । दोस्रो सूचीमा रहेको सानिमा इक्विटी शण्डको १० रुपैयाँ ४५ पैसा रहेको छ । यी फन्डहरू सहित ११ वटाको न्याभ  १० रुपैयाँ भन्दा माथि छ । यस्तै, ३१ वटा फन्डहरूको मूल्य १० रुपैयाँ भन्दा तल नै छ । 


प्रतिक्रिया दिनुहोस्