नेपालको ‘सेवा व्यापार’को आँकडा किन सधैँ घाटामा देखिन्छ ?

काठमाडौं । नेपालको सेवा व्यापार (आयात–निर्यात) पनि घाटामै देखिएको छ । नेपालको बस्तु व्यापार त पहिले देखि नै घाटामा छ । अर्थतन्त्र उकास्ने आशाको केन्द्र मानिएको सेवा क्षेत्र पनि पछिल्लो ५ वर्षदेखि घाटामा छ ।
नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष र पछिल्लो ५ आवको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्यांकअनुसार आव २०७४/७५ देखि हालसम्म सेवा क्षेत्र घाटामा छ । त्यसभन्दा अघि भने सेवा क्षेत्र सामान्यतः नाफामै थियो । तर, अहिले सेवाको आयात बढेसँगै यो क्षेत्र पनि घाटामा छ । सेवा व्यापारमा पर्यटन, निर्माण, बीमा, टेली कम्युनिकेसन, सूचना प्रविधि, यातायात, शिक्षा, पेन्सन लगायत पर्छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामै सेवा क्षेत्र २८ अर्ब २० करोड ४८ लाख रुपैयाँले घाटामा छ । समीक्षा अवधिमा ७२ अर्ब ७६ करोड ४७ लाख रुपैयाँको सेवा निर्यात भएको छ । तर, सेवा आयात भने एक खर्ब ९६ करोड ९५ लाख रुपैयाँको छ ।
चालु आवमा मात्रै होइन, गएको पाँच वर्षमा समेत सेवा व्यापार निरन्तर घाटामा छ । गत आवमा मात्रै सेवा व्यापारमा ८३ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ घाटा छ । गत आवमा १ खर्ब ८८ अर्ब ३६ करोड १५ लाखको सेवा निर्यात भएको । तर, सेवा आयात भने २ खर्ब ७२ अर्ब २० करोड ६९ लाख छ । यसरी गत आवमा पनि सेवा क्षेत्र घाटामै देखिन्छ ।
बिशेषगरि शिक्षाका कारण नेपालको सेवा क्षेत्र घाटामा गएको देखिन्छ । तथ्याङ्कले पनि सेवा भित्रको शिक्षा व्यापारमा सबै भन्दा धेरै घाटा देखाएको छ । चालु आवको चार महिनामा मात्रै शिक्षामा ३६ अर्ब ५९ करोड रुपैयाँको घाटामा छ । गत आवमा पनि शिक्षा मात्रै ९६ अर्ब ३५ करोडको घाटा थियो ।
नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा ठुलो मात्रमा विदेशी मुद्रा बाहिरिने गरेको छ । चालु आवको ३४ महिनामै नेपाली विद्यार्थीहरूले विदेश अध्ययनका लागि ३८ अर्ब ४४ करोड ६ लाख रुपैयाँ लगेका छन् ।तर, सोही शीर्षक अर्थात् नेपालमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरूले भने १ अर्ब ८४ करोड ८९ हजार रुपैयाँ मात्रै ल्याएका छन् । यसरी भित्रने भन्दा बाहिरिने रकम बढी नै छ, जसले नेपालको सेवा क्षेत्रमा ठुलो घाटामा पुर्याएको छ । नेपालमा शिक्षाको गुणस्तर राम्रो भएन, रोजगारीको अवसर भएन भनेर पछिल्लो समय वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च दरमा बढेको छ, त्यसबापत वार्षिक खर्ब हाराहारीको पैसा नेपालबाट बाहिरिने गर्छ । तर, त्यो बराबरको रकम आम्दानी गर्ने अन्य सेवा क्षेत्र देखिएका छैनन् ।
अर्को मुख्य आम्दानीको रूपमा रहेको पर्यटन क्षेत्र मानिन्छ । विदेशी पर्यटक मार्फत हुने आम्दानी पनि चालु आवको चार महिनामा २५ अर्ब ७४ करोड बढी छ । तर, सोही शीर्षकमा बाहिरिने रकम भने ६१ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि ३६ अर्ब १८ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।
यता, चालु आवको चार महिनामै यातायात क्षेत्र पनि १६ अर्ब ८३ करोड ५५ लाख रुपैयाँ घाटामा छ । यातायात सेवा मार्फत २४ अर्ब ८४ करोड २९ लाख बराबरको आयात र ८ अर्ब ७४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । यसरी शिक्षा, पर्यटन, यातायात जस्ता कुनै पनि क्षेत्रले सेवा क्षेत्रको घाटालाई प्रतिस्थापन गर्न सकेका छैनन् । फलस्वरुप नेपालको सेवा क्षेत्र घाटामा जान थालेको विज्ञहरू बताउँछन् ।
सेवा व्यापार: कुन वर्ष कस्तो ?
