सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फन्ड: चार वटाको १ अर्ब माथि, कुनको कति पुग्यो ? « Arthapath.com
१७ पुष २०८०, मंगलवार

सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फन्ड: चार वटाको १ अर्ब माथि, कुनको कति पुग्यो ?



काठमाडौं । म्युचुअल फन्डहरूको सेयर बजारमा लगानी बढेको छ । सेयर बजारमा एक महिनामै फन्डहरूले साढे दुई अर्बले लगानी बढाएका हुन् । 

हाल ४२ वटा म्युचुअल फन्डहरूले सार्वजनिक गरेको मङ्सिर महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । गत कात्तिक महिनाको तुलनामा ती फन्डहरूको सेयर बजारमा लगानी ९.८६ प्रतिशतले बढाएका छन् ।

गत कात्तिक महिनामा फन्डहरूले सेयर बजारमा कुल २४ अर्ब ६७ करोड ४८ लाख ९८ हजार रुपैयाँ लगानी गरेका थिए । तर, मङ्सिरमा भने २ अर्ब ४३ करोड २९ लाख  ८६ हजार रुपैयाँ बराबरको सेयर किनेर २७ अर्ब १० करोड ७८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । मङ्सिरमा फन्डहरूले डेढ करोडदेखि ३० करोड रुपैयाँसम्म सेयर बजारमा लगानी बढाएका छन् । 

चार म्युचुअल फन्डको सेयर बजारमा १ अर्ब माथि लगानी 

चार वटा म्युचुअल फन्डको सेयर बजारमा १ अर्ब माथि लगानी गरेका छन् । सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको देखिएको छ । फन्डले सो क्षेत्रमा १ अर्ब ५६ करोड ९७ लाख ७० हजार रुपैयाँ लगानी गरेको छ । यो गत कात्तिकको तुलनामा २४.२३ प्रतिशतले बढी हो । 

एनएमबि सरल बचत फन्ड–ईले पनि सेयर बजारमा १ अर्ब ९ करोड ८२ लाख ४५ हजार रुपैयाँ लगानी पुर्‍याएको छ । गत कात्तिकको तुलनामा फन्डले १४ करोड ८२ लाख ३५ हजार रुपैयाँ लगानी बढाएको छ ।  

यस्तै, सिद्धार्थ इक्विटी फन्डले पनि मङ्सिरमा थप ७ करोड ६० लाख रुपैयाँ सेयर बजारमा लगानी बढाएको छ । हालसम्म फन्डले १ अर्ब ९ करोड ५४ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेको हो । यता, सानिमा इक्विटी फन्डको पनि सेयर बजारमा १ अर्ब ७ करोड ४८ लाख भन्दा बढी लगानी पुगेको छ । कात्तिकको तुलनामा फन्डले थप ६ करोड ६९ लाख रुपैयाँ लगानी सेयर बजारमा बढाएको हो । 

दुई दर्जन फन्डको सेयर बजारमा ५० करोड बढी पुग्यो लगानी 

सञ्चालनमा रहेकामध्ये २२ वटा म्चुचुअल फन्डहरूको सेयर बजारमा लगानी ५० करोड भन्दा माथि देखिएको छ । सेयर बजारमा एनएमबि ५० को ९७ करोड ८० लाख ४३ हजार र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको पनि ९७ करोड ४ लाख ४० हजार रुपैयाँ पुगेको छ । 

यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ९२ करोड ३१ लाख ८२ हजार, सनराइज ब्लूचिप फन्डको ८६ करोड ९७ लाख, लक्ष्मी इक्विटीको ८६ करोड ९४ लाख, ग्लोबल आइएमई ब्यालेन्सड् फन्ड–१ को ८४ करोड ९५ लाख, कुमारी धनवृद्धि योजनाको ८३ करोड ९१ लाख, नबिल ब्यालेन्सड् फन्ड–२ को ८० करोड ६७ लाख, मेगा म्युचुअल फन्ड–१ को ८० करोड १० लाख रुपैयाँ सेयर बजारमा लगानी छ ।

यता प्रभु सेलेक्ट फन्ड, सानिमा लार्ज क्याप, एनआईसी सेलेक्ट–३०, कुमारी इक्विटी, एनआईबीएल ग्रोथ, आरविवि म्युचुअल फन्ड लगायतको  ५० करोड भन्दा माथि लगानी सेयर बजारमा देखिएको छ । 

कुन म्युचुअल फन्डको सेयर बजारमा लगानी कति ?


प्रतिक्रिया दिनुहोस्