अन्तर्राष्ट्रिय व्यापारमा ८ खर्ब घाटा व्यहोरेको नेपाललाई नाफा दिलाउने मुलुकहरू कुन-कुन हुन् ? « Arthapath.com
१६ फाल्गुन २०८०, बुधबार

अन्तर्राष्ट्रिय व्यापारमा ८ खर्ब घाटा व्यहोरेको नेपाललाई नाफा दिलाउने मुलुकहरू कुन-कुन हुन् ?



काठमाडौं । नेपालले ७ महिनामा विश्वका १५७ बढी मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गरेको छ । तर, अधिकांश मुलुकहरूसँगको व्यापारमा भने घाटा व्यहोरोको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ छ । तर, यसमा निर्यात भन्दा आयात धेरै छ । जसले नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ  बढी छ ।

समीक्षा अवधिमा नेपालले कुल ८ खर्ब ८७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । तर, ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । आयातको तुलनामा निर्यातको व्यापार कम भएपछि बर्सेनि खर्बौँ रकमको व्यापार घाटा नेपाल व्यहोरर्दै आएका छ ।

भारत, चीन लगायतका मुलुकसँगको व्यापारमा नेपालले ठुलो परिणाममा घाटा व्यहोरर्दै आएको छ । भन्सार विभागका अनुसार  गत माघ मसान्तसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ । समीक्षा अवधिमा नेपालले भारतबाट ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर, ५ अर्ब ८७ करोड २३ लाख रुपैयाँको मात्रै निर्यात गर्न सकेको छ । यसरी निर्यातभन्दा आयात धेरै भएपछि भारतसँगको व्यापारमा नेपाल ४ खर्ब ९६ अर्ब ३ करोड ६० लाख रुपैयाँ घाटामा छ ।

यस्तै, अर्को ठुलो अर्थतन्त्र भएको चीनसँगको व्यापारमा पनि नेपाल १ खर्ब ७१ अर्ब २३ करोड ६३ लाख रुपैयाँ घाटामा छ । समीक्षा अवधिमा चीनबाट नेपालले १ खर्ब ७३ अर्ब ९ करोड ११ लाख रुपैयाँको आयात गरेको छ । तर, १ अर्ब  ८५ करोड ४८ लाख रुपैयाँको मात्रै निर्यात गर्न सफल भएको छ । 

चालु आवको ७ महिनामा विश्वका १५७ बढी मुलुकसँगको व्यापारमा २९ वटा देशसँगको व्यापार मात्रै नेपालको पक्ष देखिएको छ । विश्वकै ठुलो अर्थतन्त्रको भएको मुलुक अमेरिका, डेनमार्क लगायतका देशसँगको व्यापारले भने नेपाललाई नाफा दिलाएका छन् । चालु आवको ७ महिनामा नेपालले अमेरिका तर्फ ९ अर्ब ५४ करोड ६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, सो अवधिमा ९ अर्ब १७ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यसरी आयात भन्दा निर्यात धेरै भएपछि अमेरिकासँगको व्यापारमा नेपालले ३६ करोड ४७ लाख रुपैयाँ नाफामा देखिएको छ ।

नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यी नै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको हो । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हाते कागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ । नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठुलो बजार अमेरिकामा देखिन्छ । नेपालको अमेरिकासँगको व्यापारलाई नाफामा पुर्‍याउन ठुलो योगदान दिएको छ । अमेरिकासँगको व्यापारमा विशेषगरि गलैँचा, कार्पेट र कुकुर बिरालोको आहारा निर्यातको उल्लेख्य योगदान देखिन्छ  । 

अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकापछि नेपाललाई नाफा दिलाउनेको दोस्रो सूचीमा डेनमार्क छ । डेनमार्कसँगको व्यापारमा नेपाल २७ करोड ८४ लाख ८१ हजार रुपैयाँ नाफामा छ । समीक्षा अवधिमा नेपालले डेनमार्कबाट २६ करोड १० लाख रुपैयाँ बराबरको आयात गरेका छ । तर, ५३ करोड ९५ लाख १० हजार रुपैयाँ बराबरको निर्यात  गरेको छ । 

यस्तै, नर्वेसँगको व्यापारमा पनि ७ करोड ८४ लाख, न्यू क्यालेडोनियासँग २ करोड ४३ लाख, मालदिभ्ससँग  २ करोड ३४ लाख, लटभियासँग १ करोड ७८ लाख, माउरिटियस १ करोड ४ लाख रुपैयाँ नाफामा छ । 

स्रोत: भन्सार विभाग, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्