सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फन्ड, नाफा र न्याभमा कुन-कुन तगडा ?
![](https://www.arthapath.com/wp-content/uploads/2023/07/mutula-funds-1.png)
काठमाडौं । म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाउँदै गएका छन् । एकै महिनामा फन्डहरुले थप ४६ करोड ४१ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका हुन् ।
हाल संचालनमा रहेका ४३ वटा फन्डहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको गत माघ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा फन्डहरुको सेयर बजारमा कुल लगानी २९ अर्ब ३२ करोड ८७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । तर, गत पुस मसान्तसम्ममा भने २८ अर्ब ८६ करोड ४५ लाख ८६ हजार रुपैयाँ लगानी सेयर बजारमा गरेका थिए । माघ महिनामाको लगानी भने १.६१ प्रतिशत मात्रै बढी हो ।
सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबिएल सहभागित फन्डको देखिएको छ। फन्डले सेयर बजारमा १ अर्ब ६४ करोड ३३ लाख ९९ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै, दोस्रो सूचीमा रहेको एनएमबि सरल बचत फन्ड–इ ले पनि १ अर्ब २३ करोड ७३ लाख, सिद्धार्थ क्विटी फन्डको १ अर्ब ११ करोड ७ लाख, सानिमा इक्विटी फन्डले १ अर्ब ३ करोड ९१ लाख, एनएमबि शुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको १ अर्ब ३ करोड ५९ लाख र एनएमबि–५० को १ अर्ब १ करोड ४८ लाख रुपैयाँ लगानी छ ।
गत पुसको तुलनामा सबैभन्दा धेरै लगानी बढाउन भने हिमालयन ८०–२० को पहिलो सूचीमा छ । उक्त फन्डले गत पुसको तुलनामा माघ महिनामा ४५.१९ प्रतिशतले लगानी बढाएर ४२ करोड ८३ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । यस्तै, एनआईसी एशियाले पनि २५.५५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले १०.७५ प्रतिशत, सिटिजन म्युचुअल फन्ड–२ ले ११.७९ प्रतिशत र प्रभु स्मार्ट फन्डले १२.८४ प्रतिशत लगानी सेयर बजारमा वृद्धि गरेका छन् ।
सेयर बजारमा लगानी बढाएता पनि फन्डहरुको खुद नाफामा भने गिरावट आएको छ । गत पुसको तुलनामा फन्डको नाफा आधा घटेको देखिन्छ । ४३ वटा फन्डहरुले माघ महिनामा ५० करोड २३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका छन् । समिक्षा अवधिमा अधिकांश फन्डको खुद नाफामा भने घटेको छ । गत पुस महिनामा फन्डहरुले १ अर्ब २ करोड ५५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएका थिए । माघ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा एनआइसी एशिया ग्रोथ फन्ड (७ करोड ८९ लाख ४१ हजार), दोस्रो मा प्रभु सेलेक्ट फन्ड ( ७ करोड २१ लाख ४१ हजार), तेस्रोमा र हिमालयन ८०–२० (७ करोड ८१ हजार रुपैयाँ) रहेका छन् ।
यस्तै, समिक्षा अवधिमा १४ वटा फन्डहरु ऋणात्मक देखिएका छन् । लक्ष्मी इक्विटी फन्ड, सनराइज ब्यलूचिप, लक्ष्मी उन्नती कोष, एनएमबि सरल बचत फन्ड–इ, एनआइबिएल समृद्धि फन्ड–२ लगायत १४ वटा फन्डहरुले नोक्सानीमा देखिएका हुन् ।
यता, माघमा म्युचुअल फन्डहरुको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) पनि औसत वृद्धि भएको छ । गत केही महिनाहरुमा सेयर बजार अस्थिर बन्दा फन्डहरूको नाफा तथा न्याभ घट्दै गएको थियो । तर, पछिल्लो केही महिनामा भने सुधार देखिएको हो । सेयर बजार बढ्दा फन्डहरूको न्याभ पनि बढ्ने गर्छ, घट्दा घट्ने गर्दछ । माघ महिनामा फन्डहरुको न्याभ औसत १० रुपैयाँ ३४ पैसा कायम भएको छ। तर, गत पुसमा भने १० रुपैयाँ २१ पैसा मात्रै थियो ।
माघ महिनामा एनएमबि शुभल इन्भेष्टमेन्ट फन्ड–दोस्रो को न्याभ सबैभन्दा धेरै ११ रुपैयाँ २७ पैसा छ । समिक्षा अवधिमा सनराइज फस्र्ट म्युचुअल फन्डको ११ रुपैयाँ २५ पैसा, सानिमा इक्विटीको ११ रुपैयाँ १८ पैसा, कुमारी सुनौलो लगानीको ११ रुपैयाँ ११ पैसा, एनआइसी सेलेक्ट–३० को ११ रुपैयाँ १० पैसा, एनआइसी एशिया फ्लेक्सी क्याप र एनआइसी एशिया ग्रोथ फन्डको ११ रुपैयाँ छ । समिक्षा अवधिमा २५ फन्डहरुको न्याभ १० रुपैयाँ भन्दा माथि छ । त्यसबाहेकका ११ वटा फन्डहरुको न्याभ भने १० रुपैयाँ भन्दा तल छ ।
कुन म्युचुअअल फन्डको सेयर बजारमा लगानी, नाफा र न्याभ कति ?
![](https://www.arthapath.com/wp-content/uploads/2024/02/mutual-funds-till-magh-2080-1-763x768.png)