नीतिगत लचकता र सस्तिँदो ब्याजदरले ठुला लगानीकर्ता सक्रिय, बैङ्कबाट ऋण लिएर धमाधम सेयर किन्दै « Arthapath.com
२८ फाल्गुन २०८०, सोमबार

नीतिगत लचकता र सस्तिँदो ब्याजदरले ठुला लगानीकर्ता सक्रिय, बैङ्कबाट ऋण लिएर धमाधम सेयर किन्दै



काठमाडौं । पछिल्लो समय सेयर धितो कर्जा बढ्न थालेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले सेयर धितोमा प्रवाह गर्ने कर्जा दोहोरो अङ्कले बढेको हा । 

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको सात महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूले कुल ८५ अर्ब १७ करोड २० लाख बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन गत असार मसान्तसम्मको तुलनामा ११.६१ प्रतिशत अर्थात् ८ अर्ब ८६ करोड ४० लाख रुपैयाँले बढेको हो ।

गत असार मसान्तसम्ममा भने बैङ्कहरूले ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मासिक औसतमा डेढ अर्ब बढी सेयर धितो कर्जा प्रवाह भएको देखिन्छ । बैङ्कहरूले मासिक १ अर्ब ७३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको पहिलो महिनासम्ममा कुल ७६ अर्ब ४१ करोड ३० लाख, भदौसम्म ७७ अर्ब ६८ करोड ८० लाख, असोजसम्म ८१ अर्ब १ करोड ७० लाख र कात्तिकसम्म  ८१ अर्ब १६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । यस्तै, गत मङ्सिर मसान्तसम्ममा ८१ अर्ब १९ करोड, पुससम्म ८४ अर्ब २९ करोड र माघ मसान्तसम्ममा भने ८५ अर्ब १७ करोड बढी सेयर धितो कर्जा प्रवाह भएको हो । 

सेयर कर्जामा लगानीकर्ताको आकर्षण बढ्न थालेको राष्ट्र बैङ्कको आँकडाले देखाउँछ । नियामक निकाय नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत सेयर धितो कर्जासम्बन्धी लिएको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो । चालु आवको पहिलो महिना अर्थात् गत साउनदेखि नै सेयर धितो राखेर कर्जा लिने लगानीकर्ता बढेको पाइन्छ । 

लगानीकर्ताले ऋण लिएर धमाधम सेयर किन्न थालेको तथ्याङ्कले देखाउँछ । विशेषगरि नियामकको नीतिगत लचकता र सस्तिँदो ब्याजदरले पनि यस्तो कर्जा बढ्न पुगेको राष्ट्र बैङ्कले जनाएको छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ, ब्याजदर घट्दो छ ।

विशेषगरि ठुला लगानीकर्ताहरू ऋण लिएर सेयर किन्न सक्रिय देखिन्छन् । ब्याजदरको घट्दो ट्रेन्ड र अर्थतन्त्रमा आएको सकारात्मक सुधारले पनि यस्तो कर्जा बढेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । आर्थिक सूचकहरूमा देखिएको सुधारले बैङ्कबाट ऋण लिएर नै सेयर किन्न लगानीकर्ताको आत्मबल बढेको बुझिन्छ। 

समीक्षा अवधिमा ठुलो रकमको ऋण लिएर सेयर किन्ने धेरै बढेका छन् । विशेषगरि १ करोड भन्दा माथि सेयर धितो कर्जा लिने बढेको हुन् । गत असार  मसान्तसम्ममा १ करोड भन्दा माथिको सीमामा ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा लगानी भएको थियो । तर, माघ मसान्तसम्म आइपुग्दा भने यस्तो कर्जा १६.८९ प्रतिशत बढेर ५२ अर्ब २६ करोड ९० लाख रुपैयाँ पुगेको छ। यस्तो सीमाको कर्जा गत पुससम्ममा भने ५१ अर्ब ३० करोड बढी थियो । राष्ट्र बैङ्कका अनुसार १ करोड माथिको सेयर धितोमा गत साउनमा ४४ अर्ब ३० करोड ८० लाख, भदौसम्म ४५ अर्ब २९ करोड ५० लाख, असोजसम्म ४७ अर्ब ९५ करोड, कात्तिकसम्म ४८ अर्ब १५६ करोड, मङ्सिरसम्म ४७ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

समीक्षा अवधिमा २५ लाखदेखि ५० लाखसम्मको सीमामा सेयर धितो कर्जा लिने पनि ८.३० प्रतिशत बढेका छन् । ७ महिनासम्ममा बैङ्कहरूबाट लगानीकर्ताले कुल १३ अर्ब ८४ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् । गत असार मसान्तसम्ममा भने यस्तो सीमा कर्जा १२ अर्ब ७८ करोड रुपैयाँ प्रवाह भएको थियो । यस्तै, गत साउनसम्म १४ अर्ब ८ करोड, भदौसम्म १३ अर्ब ८८ करोड,  असोजसम्म १४ अर्ब १८ करोड, कात्तिकसम्म १३ अर्ब ८० करोड, मङ्सिरसम्म १४ अर्ब १ करोड र पुस मसान्तसम्ममा कुल १३ अर्ब ३ करोड रुपैयाँ लगानीकर्ता सेयर धितो कर्जा राखेर ऋण लिएका थिए । 

यस्तै, ५० लाखदेखि १ करोड र २५ लाखभन्दा कम सीमा सेयर धितो कर्जा पनि बढ्दो नै छ । समीक्षा अवधिमा ५० लाखदेखि १ करोड सीमाको कर्जा १.२० प्रतिशत बढेर ११ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यता, २५ लाखभन्दा कम सीमाको सेयर धितो कर्जा पनि १.५० प्रतिशत बढेर ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।  


प्रतिक्रिया दिनुहोस्