सङ्कुचनबाट बाहिर निस्किँदै घरजग्गा व्यापार, अपेक्षित नभए पनि देशभर यसरी बढ्दै छ कारोबार
काठमाडौं । घर–जग्गा कारोबारमा अपेक्षित बढ्न नसके पनि क्रमिक सुधार आएको छ । देशभर महिनैपिच्छे कारोबार बिस्तारै बढेको छ । विशेषगरि गत मङ्सिरदेखि यता घर जग्गा कारोबार बढी रहेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत कात्तिकमा देशभर २६ हजार ४६ वटा घर जग्गा मात्रै किनबेच भएको थियो । तर, गत मङ्सिरमा भने ४१ हजार ८५१ वटा घर जग्गाको लिखत पारित भएको थियो । गत पुसमा पनि बढेर देशभर ४५ हजार २७५ वटा किनबेच भएका छन् ।
विभागका अनुसार गत माघमा पनि देशभर ५० हजार ९२१ वटा घर जग्गा किनबेच भएको थियो । तर, फागुनमा पनि सोही हाराहारीमा खरिदबिक्री भएको छ । यो वर्षको फागुनमा पनि ५० हजार ९९८ वटा घर जग्गाको लिखत पारित भएको विभागले जनाएको छ । यसरी मासिक क्रमिक रूपमा कारोबार बढेको तथ्याङ्कले पुष्टि हुन्छ । पछिल्लो समय अर्थतन्त्र सूचकहरूमा आएको सकारात्मक सुधारसँगै घर जग्गा कारोबारमा पनि बिस्तारै बढी रहेको हो ।
विशेषगरि नीतिगत लचकताले नै कारोबार बढोत्तरीमा टेवा पुगेको बताइन्छ । करिब डेढ वर्षदेखि सुस्ताएको घर जग्गा कारोबार बढाउन नेपाल राष्ट्र बैङ्कले लचक नीति अघि सारेको छ । सरकारले पनि सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट लगायतको नीति खुकुलो पारेको छ । यसले बिस्तारै कारोबार बढ्न थालेको घर जग्गा व्यवसायीहरू बताउँछन् । तर, अपेक्षाअनुसार भने बढ्न नसकेको उनीहरूको तर्क छ ।
विभागको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा देशभर ३ लाख २९ हजार ९२१ वटा घर जग्गा किनबेच भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने २१.२२ प्रतिशत बढी हो । गत वर्षको साउनदेखि फागुन महिनासम्ममा देशभर २ लाख ७२ हजार १५७ वटा घर जग्गा किनबेच भएको थियो ।
राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय कर्जाको सीमा ५० लाखबाट बढाएर दुई करोड पुर्याएको छ । यस्तै, घर जग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । यस्तो सहज नीतिका कारण नै घर जग्गा कारोबार बढ्दै गएको देखिन्छ । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा ३९ हजार २६३ वटा, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१ वटा घर जग्गा किनबेच भएका थिए ।
अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक रूपमा सुधारोन्मुख छन् । आर्थिक गतिविधि पनि चलायमान हुँदै गइरहेको छ, जसले घर जग्गा कारोबार बढाएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि बढ्दो नै छ । बैङ्क ब्याजदर पनि घट्दो ट्रेन्डमा छ, कर्जाकै ब्याजदर पनि एकल अङ्कमा झरिसकेको छ ।
पछिल्लो समय आर्थिक गतिविधि बढ्नु, बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु र घट्दो ब्याजदर ट्रेन्डले आगामी दिनमा कारोबारमा सुधार आउने व्यवसायीहरू बताउँछन् । आर्थिक गतिविधि बिस्तारै बढेता पनि कारोबारले अझै गति लिन नसकेको उनी बताउँछन् । बजार लगानीका लागि तयार हुन अझै बाँकी रहेकाले पनि आगामी दिनमा घर जग्गा कारोबार थप बढ्ने उनीहरूको अपेक्षा छ ।
राजश्व भने दबाबमै
देशभर घर जग्गा किनबेच बढे पनि त्यसमार्फत उठ्ने राजश्व भने दबाबमै देखिएको छ। चालु आवको आठ महिनामा देशभर भएको घर जग्गा कारोबारबाट कुल २५ अर्ब २४ करोड ५५ लाख ३२ हजार रुपैयाँ राजश्व उठेको छ ।
तर, यो गत आवको सोही अवधिको तुलनामा भने १.०३ प्रतिशत कमी हो । गत आवको फागुन मसान्तसम्ममा पनि देशभरका मालपोत कार्यालय मार्फत २५ अर्ब ५० करोड ९८ लाख ६४ हजार रुपैयाँ राजश्व उठेको थियो ।
विभागको तथ्याङ्क अनुसार मासिक औसतमा ३ अर्ब १५ करोड राजश्व उठ्ने गरेको छ । फागुनमा मात्रै ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै, माघमा पनि ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार, पुसमा ३ अर्ब २० करोड ५२ लाख २१ हजार रुपैयाँ राजश्व उठेको थियो ।
यो वर्षको सर्वाधिक राजश्व गत असोजमा उठेको थियो । सो महिनामा देशभरका मालपोत कार्यालय मार्फत कुल ४ अर्ब ८ करोड ६६ लाख २९ हजार रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ । यस्तै, गत मङ्सिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, भदोमा ३ अर्ब ४ करोड ५९ लाख र साउनमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजश्व उठेका थियो ।