डरलाग्दो वैदेशिक व्यापार घाटा कम गराउन सिमेन्ट निर्यातले जगाएको आशा, यसरी हुँदै छ तेस्रो मुलुकहरुमा व्यापार विस्तार « Arthapath.com
७ चैत्र २०८०, बुधबार

डरलाग्दो वैदेशिक व्यापार घाटा कम गराउन सिमेन्ट निर्यातले जगाएको आशा, यसरी हुँदै छ तेस्रो मुलुकहरुमा व्यापार विस्तार



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा डरलाग्दो व्यापार घाटा छ । आठ महिनामै व्यापार घाटा ९ खर्ब बढी छ । भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ पुगेको छ । आयातसँगै निर्यात पनि खुम्चिँदो नै छ । समीक्षा अवधिमा आयात २.६६ प्रतिशत घटेको छ भने निर्यातमा पनि ३.९९ प्रतिशत कमी देखिएको छ।  

गत आवको सोही अवधिमा पनि नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । यसरी बर्सेनि खबौं रुपैयाँ व्यापार घाटा खेप्दै आएको नेपाललाई पछिल्लो समय सिमेन्ट निर्यातले भने केही राहत दिएको छ । निर्यातको व्यापारमा सिमेन्टको हिस्सा बढ्दो छ भने व्यापार घाटा कम गराउन पनि यसको योगदान महत्त्वपूर्ण बन्न थालेको छ ।

पछिल्ला महिनाहरूमा नेपालबाट निर्यात हुने सिमेन्ट तथा क्लिङकर उल्लेख्य वृद्धि भएको छ।  गत आवको फागुन मसान्तसम्ममा नेपालबाट जम्मा ३० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको ४ लाख ४२ हजार ९९९ टन मात्रै सिमेन्ट तथा क्लिङकर निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ८ गुणा बढेको छ । समीक्षा अवधिमा नेपालले २ अर्ब ४७ करोड १७ लाख ४१ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर निर्यात भएको छ।

सिमेन्ट निकासी अहिले नेपालबाट निर्यात हुने प्रमुख वस्तुको शीर्ष सूचीमा पर्न थालेको छ। नेपालबाट सिमेन्टको बढ्दो निर्यातले आर्थिक मन्दी लगायतको मारमा परेका उद्योगीहरूलाई थप राहत दिएको नै छ । तर, मुलुकले वैदेशिक व्यापारमा व्यहोर्दे आएका घाटा पनि कम गराउन ठुलो योगदान पुगेको छ । 

विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा प्रोत्साहन गरेको छ । हाल सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् । देशभित्र सिमेन्टको मागमा कमी आए पनि  निर्यातको आँकडा भने निरन्तर बढेको छ । अहिले नेपालको कुल निर्यातमा सिमेन्टको हिस्सा २.४७ प्रतिशत पुगेको छ । 

पछिल्लो नेपाली सिमेन्ट तथा क्लिङ्करले अन्तर्राष्ट्रिय बजार पाउँदै गएका छन् । नेपालको सिमेन्ट तथा क्लिङ्करको मुख्य बजार भारत हो । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । 

हाल नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट, सिजी सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । यी उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपाली सिमेन्ट तथा किङ्कर भारतको विहार र उत्तर प्रदेशबाट बढी माग हुने गरेको व्यवसायीहरू बताउँछन् ।

भारतपछि दक्षिणी अफ्रिकाको एक मुलुक नामिबीयामा पनि नेपाली सिमेन्ट तथा किङ्कर पुगेको छ । फागुन मसान्तसम्मको आँकडामा नामिबीयामा १० लाख ४९ हजार रुपैयाँ बराबरको सिमेन्ट पुगेको हो । तर, यस बाहेक हिस्सा अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट तथा क्लिङकर भने भारतले किनेको छ । 

सिमेन्ट निर्यातको बढ्दो ग्राफ, मासिक ३१ करोडको निकासी

नेपाली उद्योगहरूले हाल औसतमा झन्डै ३१ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्दै आएका छन् । पछिल्लो आठ महिनाको तथ्याङ्क अनुसार मासिक ३० करोड ८९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात हुँदै आएको छ ।

फागुन महिनामा  उद्योगीहरूले ४१ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेका छन् । तर, गत असोजमा भने यो वर्षकै उच्च ४३ करोड ४५ लाख रुपैयाँ बराबरको सिमेन्ट निकासी भएको थियो । विभागका अनुसार गत माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड ९ लाख, मङ्सिरमा ३६ करोड १५ लाख, कात्तिकमा २७ करोड ७६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । यस्तै, गत भदौमा १८ करोड ३४ लाख र चालु आवको पहिलो महिना अर्थात् साउनमा २३ करोड ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको विभागले जनाएको छ । 

नेपाली अर्थतन्त्र अझै सुस्त छ । स्वदेशी बजारमा निर्माण सामग्रीको माग घटेको छ । तर, भारत लगायतका तेस्रो मुलुकबाट भने यसको माग बढी रहेको छ । वर्तमान मन्दीमा यसरी सिमेन्टको निर्यात बढ्दा सम्बन्धित उद्योगहरूलाई केही राहत मिलेको छ । अर्को तर्फ देशको भुक्तानी सन्तुलन र व्यापार घाटालाई समेत थोरै भए पनि घटाउन टेवा पुगिरहेको छ । भारत लगायतको तेस्रो मुलुकहरूमा पनि सहज बजारीकरण हुन सकेमा भने नेपाली सिमेन्टको निकासी चमत्कारिक रूपमा बढ्ने उद्योगीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्