आउने सोमबारबाट दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, यस्तो छ कारण « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

आउने सोमबारबाट दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, यस्तो छ कारण



काठमाडौं । आउने ‘अप्रिल फुल’ अर्थात् १९ चैतबाट नेपालमा दैनिक १० घण्टासम्म लोडसेडिङ हुने जोखिम बढेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विजुली आयातलाई निरन्तरता दिन नसके नेपालमा लोडसेडिङ हुने पक्का भएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

नेपालले एक सम्झौतामार्फत् भारतको प्रतिस्पर्धी बजार ‘इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) लिमिटेड’बाट विद्युत् खरीद गरिरहेको छ । उक्त सम्झौता नविकरण गर्नुपर्ने म्याद ३१ मार्च (१८ चैत)मा सकिँदैछ । यसका लागि नेपालले ३ महिना अघि नै सम्झौता नविकरणको प्रस्ताव भारत पठाएको भए पनि उक्त सम्झौता नविकरण हुन सकेको छैन ।

आगामी आइतबारभित्र सम्झौता नविकरण नभए यस्तो बजारबाट विजुली किन्न पाइँदैन । अहिले नेपालले ४०० मेगावाटभन्दा बढी बिजुली भारतबाट आयात गरिरहेको छ । नेपालमा अहिले पनि उच्चतम विद्युत् माग १८८५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

देशभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुको कुल जडित क्षमता करीब ३००० मेगावाट पुगिसकेको छ । तर अघिकांश आयोजनाहरु नदी प्रवाहमा आधारित हुनु हुँदा सुख्खा याममा विद्युत् उत्पादन ३० प्रतिशतभन्दा पनि कम हुने गरेको छ । अर्थात् ९०० मेगावाटभन्दा पनि कम बिजुली उत्पादन हुने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालको दैनिक बिजुली माग ३ करोड ४८ लाख ५४ हजार युनिट छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् १ करोड ६३ लाख ४७ हजार युनिट भारतबाट आयात भएको छ । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीहरुले ७१ लाख युनिट र निजी ऊर्जा उत्पादकहरुले ९४ लाख युनिट बिद्युत् उपलब्ध गराइरहेका छन् । बाँकी साढे १९ लाख युनिट भने अहिले पनि अपुग छ । सोही कारण अहिले औद्योगिक क्षेत्रमा विद्युत् कटौति भइरहेको छ ।

नेपालमा ऊर्जा उपलब्धताको अवस्था :

कुल ऊर्जा मागको ४७ प्रतिशत आयातमा निर्भर हुनु परेका बेला भारतले प्रतिस्पर्धी बजारबाट विद्युत् किन्न पाउने सम्झौता नविकरण नगरिदिएपछि सरकारमाथि नै दबाब परेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा देखाउन अहिले पनि उद्योगको बिजुली काटेर भारतमा निर्यात गरिरहेका छन् । त्यसै कारण अहिले औद्योगिक क्षेत्रमा दैनिक ८ देखि १० घण्टा विद्युत् प्रवाह रोकिएको छ ।

तर अब नेपालले भारतबाट सस्तो मूल्यमा बिजुली किन्न नपाउने हो भने ग्रार्हस्थ उपभोक्ताको घरमा पनि नियमित विद्युत् उपलब्ध गराउन नसक्ने अवस्था रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । त्यस्तो बेला दैनिक १० घण्टासम्म पनि विद्युत् कटौति हुनसक्ने उनीहरुले जानकारी दिए ।

भारतले अहिले लोकसभा चुनाव नजिकिएका कारण आफ्ना नागरिकलाई अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्ने दबाब भएको भनिरहेको छ । गर्मीको मौसम सुरु भएकाले भारतमा पनि अब विद्युत् खपत बढ्ने छ । यही तर्क गरेर उसले आईईएक्सबाट विद्युत् किन्न पाउने सम्झौताको नविकरणमा ढिलाइ गर्दै आएको छ ।

आईईएक्सबाट विद्युत् खरीद गर्दा निरन्तर मूल्य परिवर्तन हुने भए पनि नेपालले प्रतियुनिट भारु. ५ (नेरू. ८)को औसत दरमा बिजुली किनिरहेको छ । तर यो यो सम्झौता नविकरण नभए अन्य विकल्पबाट बिजुली आयात गर्न निकै समय लाग्नसक्ने छ । त्योभन्दा ठूलो कुरा, नेपालले एक युनिट बिजुलीको भारु. १० (नेपाली रुपैयाँ १६)सम्म तिर्नुपर्ने अवस्था आउने ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो आर्थिक वर्षमा करीब २० अर्ब रुपैयाँको बिजुली आयात गर्नुपर्ने अनुमान गरिएकोमा दोब्बर मूल्य तिर्नुपर्ने अवस्थामा ठूलो घाटा हुने प्राधिकरणका अधिकारीहरु पनि बताउँछन् । उनीहरुले त्यति महँगो मूल्यमा बिजुली किन्नै नसकिने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्