बैङ्कबाट ठुलो आकारको ऋण लिएर धमाधम सेयर किन्न लगानीकर्तालाई केले सघाइरहेको छ ? « Arthapath.com
९ असार २०८२, सोमबार

बैङ्कबाट ठुलो आकारको ऋण लिएर धमाधम सेयर किन्न लगानीकर्तालाई केले सघाइरहेको छ ?



काठमाडौं । बैंकबाट ठुलो आकारको ऋण लिएर धमाधम सेयर किन्ने लगानीकर्ता बढेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाहित हुने कर्जा बढ्न थालेको छ ।

मार्जिन प्रकृतिको (सेयर) कर्जा लगानी दोहोरो अंकले बढेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कले देखाएको हो । चालु आर्थिक वर्षको आठ महिनामा यस्तो कर्जा १२.३ प्रतिशत वृद्धि भएको छ ।

साउनदेखि फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ८५ अर्ब ७० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो गत असार मसान्तसम्मको तुलनामा भने ९ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बढी हो । एकै महिना अर्थात् गत फागुनमा मात्रै लगानीकर्ताहरुले कुल ५२ करोड ९० लाख रुपैयाँ ऋण लिएर सेयर खरिद गरेका छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैङ्कले लिएको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो । चालु आवको पहिलो महिना अर्थात् गत साउनदेखि नै सेयर धितो राखेर कर्जा लिने लगानीकर्ता बढेको पाइन्छ । यता, पछिल्लो समय सस्तिँदो ब्याजदरले पनि यस्तो कर्जा बढ्न पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

पछिल्लो समय बैङ्कहरूको ब्याजदर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ, ब्याजदर घट्दो छ । ब्याजदरको घट्दो ट्रेन्ड र अर्थतन्त्रमा आएको सकारात्मक सुधारले पनि यस्तो कर्जा बढेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।

बैंकिङ् प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । केही महिनादेखि बैंकहरुको निक्षेपको ब्याजदर निरन्तर घटीरहेको छ । जसले, बैंकको लागत घटेको छ । लागतसँगै कर्जाको ब्याजदर समेत घटेको छ । हाल बैंकहरुको औसत आधार दर पनि एकल अंकमा आइपुगेको छ । बैंकहरुले १० प्रतिशत कम ब्याजदरमै कर्जा दिने विभिन्न स्किमहरु पनि ल्याएका छन् । जसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । लगानीकर्तालाई बैंकबाट ऋण लिएर सेयर किन्न पनि टेवा पुगिरहेको देखिन्छ ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको पहिलो महिनासम्ममा कुल ७६ अर्ब ४१ करोड ३० लाख, भदौसम्म ७७ अर्ब ६८ करोड ८० लाख, असोजसम्म ८१ अर्ब १ करोड ७० लाख र कात्तिकसम्म ८१ अर्ब १६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । यस्तै, गत मङ्सिर मसान्तसम्ममा ८१ अर्ब १९ करोड, पुससम्म ८४ अर्ब २९ करोड र माघ मसान्तसम्ममा भने ८५ अर्ब १७ करोड बढी सेयर धितो कर्जा प्रवाह भएको हो ।

ठुलो आकार ऋण लिएर सेयर किन्ने लगानीकर्ता सक्रिय, १७ प्रतिशत बढ्यो १ करोड माथिको कर्जा

ठुलो आकारको ऋण लिएर सेयर किन्ने लगानीकर्ता बढेका छन् । सेयर धितो कर्जामा लगाएको केही नीतिगत कडाइ पनि विस्तारै खुकुलो बन्दै गएका छन् । केन्द्रिय बैंकले हाल एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको छ । यता, बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ । यस्ता नीतिगत लचकताले नै सेयर धितो कर्जा बढेको हो ।

विशेषगरि १ करोड भन्दा माथिको सेयर धितो कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार सो सीमाको कर्जा १७.४ प्रतिशत बढेको छ ।गत असार मसान्तसम्ममा १ करोड भन्दा माथिको सेयर धितो कर्जा ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको थियो । तर, गत फागुन मसान्तसम्ममा आइपुग्दा भने यस्तो कर्जा बढेर ५२ अर्ब ४८ करोड ८० लाख रुपैयाँ पुगेको छ । फागुन महिनामा मात्रै यस्तो सीमाको कर्जा २१ करोड ९० लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार १ करोड माथिको सेयर धितोमा गत साउनमा ४४ अर्ब ३० करोड ८० लाख, भदौसम्म ४५ अर्ब २९ करोड ५० लाख, असोजसम्म ४७ अर्ब ९५ करोड, कात्तिकसम्म ४८ अर्ब १५६ करोड, मङ्सिरसम्म ४७ अर्ब ८४ करोड, पुससम्ममा ५१ अर्ब ३० करोड र माघ मसान्तसम्म आइपुग्दा भने यस्तो कर्जा १६.८९ प्रतिशत बढेर ५२ अर्ब २६ करोड ९० लाख रुपैयाँ प्रवाह भएको थियो ।

समिक्षा अवधिमा २५ लाख देखि ५० लाखसम्मको सीमा सेयर धितो कर्जा प्रवाह पनि बढेको छ । सो सीमामा प्रवाहित हुने कर्जा ८.८ प्रतिशत बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्मा यस्तो सीमाको कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, फागुन मसान्तसम्ममा भने १३ अर्ब ९१ करोड रुपैयाँ प्रवाह भएको छ ।

यस्तै, गत साउनसम्म १४ अर्ब ८ करोड, भदौसम्म १३ अर्ब ८८ करोड, असोजसम्म १४ अर्ब १८ करोड, कात्तिकसम्म १३ अर्ब ८० करोड, मङ्सिरसम्म १४ अर्ब १ करोड, पुस मसान्तसम्ममा १३ अर्ब ३ करोड रुपैयाँ, माघसम्ममा भने १३ अर्ब ८४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

यता, ५० लाखदेखि १ करोडसम्मको सीमामा प्रवाहित हुने सेयर धितो कर्जा पनि ३.१० प्रतिशत बढेको छ । यस्तो सीमाको कर्जाको गत असार मसान्तसम्ममा ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, फागुन मसान्तसम्ममा आइपुग्दा भने १२ अर्ब १४ करोड ३० लाख प्रवाह भएको छ ।

यता, २५ लाखभन्दा कम सीमाको कर्जा १.८ प्रतिशत बढेको देखिन्छ । गत असार मसान्तसम्ममा यस्तो सीमाको कर्जा ७ अर्ब ३ करोड ५० लाख रहेको थियो । तर, फागुन मसान्तसम्ममा भने बढेर ७ अर्ब १५ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ ।


प्रतिक्रिया दिनुहोस्