संसारका १६८ मुलुकसँगको द्विपक्षीय व्यापारमा नेपाललाई नाफा दिलाउने देशहरु कुन-कुन हुन् ?

काठमाडौं । नेपालले विश्वका १६८ देश तथा इलाकासँग द्धिपक्षीय व्यापार गरेको छ । तर, अधिकांश मुलुकहरुसँगको व्यापारमा भने नेपालको पक्षमा देखिँदैनन् । अर्थात् १३३ वटा देशसँग व्यापार घाटा छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा नेपालले कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । समिक्षा अवधिमा नेपालले कुल १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ। यसरी आयातको तुलना निर्यात न्यून छ । जसले नेपालको वैदेशिक व्यापार घाटा चुलिँदो छ । चालु आवको १० महिनामा नेपालले कुल ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
समिक्षा अवधिमा विश्वका १३३ वटा देशसँगको व्यापारमा नेपालले घाटा व्यहोरेको हो । नेपालले सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग गर्छ । तर, सोही देशसँगको व्यापारमा पनि ठुलो घाटा छ । चालु आवको १० महिनामै भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब २९ अर्ब ७० करोड ५७ लाख रुपैयाँ छ । सो अवधिमा भारतबाट कुल ८ खर्ब १५ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, ८६ अर्ब २ करोड ३८ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ । यता, चीनसँगको व्यापार सुखद छैन् । भारतपछिको अर्को ठुलो आर्थिक साझेदार चीनसँग नेपालको २ खर्ब ३८ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ व्यापार घाटा छ । यस्तै, नेपालले यूएई, युक्रेन, मलेशिया, अष्ट्रेलिया लगायतका १३३ वटा मुलुकसँगको व्यापार घाटा व्यहोरेको छ ।
तर, नामै नसुनेका केही मुलुकसँगको व्यापार भने नेपालको पक्षमा देखिएका छन् । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा डेनमार्क, अफ्गानस्थान र नर्वेले भने उच्च नाफा दिलाएको देखिन्छ । आँकडाअनुसार डेनमार्कले नेपाललाई सर्वाधिक नाफा दिएको छ । डेनमार्कसँगको व्यापारमा नेपालले १० महिनाको अवधिमा ३८ करोड ५८ लाख बढी नाफा गरेको छ ।
समिक्षा अवधिमा नेपालले डेनमार्क तर्फ ७० करोड ४४ लाख बढी निर्यात गरेको देखिन्छ । तर, ३१ करोड ८६ लाख बराबरको आयात गरेको छ। नेपालको व्यापार सन्तुलनामा डेनमार्क शीर्षसूचीमा देखिएको छ । डेनमार्कले नेपालसँग न्यानो कपडा, फेल्टका खेलौना, उनी तथा जनावरको रौँबाट बनेका पछ्यौरा, गलबन्दी, छालाका जुत्ताहरु किन्छ । भन्सार विभागका अनुसार कार्पेट, झोला लगायत अन्य वस्तुहरु पनि डेनमार्क तर्फ निर्यात हुँदै आएको छ ।
नेपाललाई नाफा दिलाउने दोस्रो मुलुक अफ्गानस्थान रहेको छ । सो मुलुकसँगको व्यापारमा नेपालले २६ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यता, तेस्रो मुलुक नर्वेसँग पनि नेपालको व्यापार नाफा ११ करोड ३६ लाख बढी छ । यी बाहेक नामै नसुनेका देशसँगको व्यापार पनि नेपालको पक्षमा देखिएका छन् ।
यी हुन् नेपाललाई नाफा दिलाउने विश्वका तीन दर्जन मुलुकहरु
