घाटामै चलिरहेका छन् अधिकांश जलविद्युत कम्पनीहरु, उच्च नाफामा साहस उर्जा र चिलिमे हाइड्रोपावर « Arthapath.com
१६ असार २०८२, सोमबार

घाटामै चलिरहेका छन् अधिकांश जलविद्युत कम्पनीहरु, उच्च नाफामा साहस उर्जा र चिलिमे हाइड्रोपावर



काठमाडौं । अधिकांश जलविद्युत कम्पनीहरु नोक्सानीमा देखिएका छन् । कम्पनीहरुको वित्तीय अवस्थामा खास सुधार आउन सकेको छैन । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि कम्पनीहरुको नाफा प्रभावित भएको छ।

हाल संचालनमा रहेकामध्ये ८९ वटा जलविद्युत कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार समग्रमा जलविद्युत कम्पनीहरुले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् । १९ वटा जलविद्युत कम्पनीहरुले मात्रै नाफा बढाएका छन् भने १७ वटाको घटेका देखिन्छ । यी बाहेकका अन्य सबै कम्पनीहरु घाटा छन् ।

चालु आवको हिउँदमा आयोजनाहरूको विद्युत् उत्पादन पनि घटेको छ । धेरैजसो कम्पनीहरुको वित्तीय खर्च पनि बढेको छ, केही आयोजनाहरुमा बाढीले पूर्ण रुपमा क्षति पुर्याउँदा उत्पादन बन्द भएको थियो । यसले पनि नाफा प्रभावित भएको छ ।नेपालमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजना छन् । त्यो अवस्थामा नदीमा हुने पानीअनुसार विद्युत् उत्पादन हुन्छ । हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि कम हुन्छ । हिउँदमा पानी नपर्ने, हिउँ नपर्ने लगायतका कारण खोलामा पानीको बहाव झन् घटेको छ, त्यसले गर्दा आयोजनाहरूको विद्युत् उत्पादन पनि घटेको छ । यसरी विद्युत् उत्पादन घट्दा पनि कम्पनीहरूको नाफा प्रभावित भएको ऊर्जा व्यवसायीहरू बताउँछन् ।

यद्यपि, अहिले भने विस्तार नदीहरुको पानीहरुको बहाव बढ्दै गएकाले आगामी दिनमा उत्पादन वृद्धि भई नाफा लगायतका सूचकहरुमा सुधार आउने उनीहरुको भनाई छ । नाफा घटेपनि हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी भने ३ अर्ब ४० करोड ९२ लाख रुपैयाँ अर्थात् १५.६४ प्रतिशत बढाएका छन् । ९ महिनामा ती कम्पनीहरुले २५ अर्ब १९ करोड ९६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् । गत वर्षको चैत मसान्तसम्ममा पनि कम्पनीहरुले २१ अर्ब ७९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

नाफामा ४३ वटा कम्पनीः साहस र चिलिमेले कमाए सर्वाधिक, वृद्धिदरमा को–को अगाडि छन् ?

तेस्रो त्रैमासमा ४३ वटा कम्पनी मात्रै नाफामा देखिएका छन् । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा साहस उर्जाले कमाएको छ ।

९ महिनामा कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, गत वर्षको तुलनामा घटेपनि चिलिमे हाइड्रोपावरले ४७ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, सानिमा माइ हाइड्रोपावरले ३१ करोड ४७ लाख, माउनटेन इनर्जीले ३० करोड ९१ लाख, ग्रीन भेन्चरले २६ करोड ४ लाख, मान्डु हाइड्रोपावरले २२ करोड १५ लाख, वुटवल पावरले १८ करोड र भिजन लुम्बिनीले ११ करोड ८० लाख बढी नाफा कमाएका छन् ।

नाफा वृद्धिदरमा भने मकर जीतुमाया सुरी अगाडि देखिएको छ । कम्पनीले खुद नाफा ३० गुणा बढाएर १ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, इस्टन हाइड्रोपावरले पनि नाफामा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा कम्पनीले नाफा साढे ११ गुणा बढाएर ३३ लाख रुपैयाँ कायम भएको छ ।

यता, अपर सोलु हाइड्रो इलेक्ट्रिकको नाफा पनि २८३.६१ प्रतिशत र मिड सोलुको नाफा १२३.१३ प्रतिशत, युनाईटेड मोदीको ९३.१०, पञ्चकन्या माइको ८५, साहस उर्जाको ८० प्रतिशत बढाएका छन् ।

यी हुन् नाफामा रहेका कम्पनीहरु

स्रोतः सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासिक विवरण, रकम हजारमा

सर्वाधिक बिजली बिक्री गर्ने अपर तामाकोशीसहित नोक्सानीमा रहेका कम्पनीहरु कुन कुन हुन् ?

समिक्षा अवधिमा झन्डै ४ दर्जन कम्पनीहरु घाटामा देखिएका छन् । सर्वाधिक विजुली बिक्री गर्ने अपर तामाकोशी सहित ४५ वटा कम्पनीहरुले नोक्सानी व्यहोरेका छन् । अधिकांश कम्पनीहरुको विद्युत बिक्री आम्दानी घट्दा नोक्सानीमा पुगेका हुन् ।

गत वर्षको तुलनामा घटाए पनि अपर तामाकोशीको नोक्सानी धेरै देखिएको छ। समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस्तै, अरुण काबेली पावर ३४ करोड १३ लाख, त्रिसुली जलविद्युत ३० करोड ६४ लाख, बलेफी २६ करोड ५ लाख, मोदी इनर्जी २६ करोड १९ लाख, सिंगटी २घ करोड, माया खोला २२ करोड ६५ लाख, शिवश्री २२ करोड १७ लाख र हिमालयन पावर २० करोड बढी नोक्सानीमा छन् ।

यी हुन् नोक्सानीमा रहेका कम्पनीहरु

स्रोतः सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासिक विवरण, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्