निजी क्षेत्रबाट बन्ने २८५ मेगावाटको माथिल्लो तमोरका लागि एभरेष्ट बैंकको अगुवाईमा जुट्यो लगानी « Arthapath.com
२१ असार २०८२, शनिबार

निजी क्षेत्रबाट बन्ने २८५ मेगावाटको माथिल्लो तमोरका लागि एभरेष्ट बैंकको अगुवाईमा जुट्यो लगानी



काठमाडौं । २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलशययुक्त जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । ताप्लेजुमा बन्ने निजी क्षेत्रको हालसम्मकै ठुलो आयोजनाका लागि निर्माणका लागि एभरेष्ट बैंकको अगुवाईमा लगानी जुटेको हो ।

आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु, लक्ष्मी सनराइज, कृषि विकास बैंक, नेपाल एसबिआई, कामना सेवा विकास बैंक, गरिमा विकास बैंकले लगानी गर्नेछन् ।

राजधानीमा एक बिशेष कार्यक्रम गर्दै एभरेष्ट बैंक र प्रवर्द्धक कम्पनी तमोर इनर्जी प्रालीबीच ऋण सम्झौता भएको हो । सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले हस्ताक्षर गरेका छन् ।

आयोजनाको कुल अनुमानित लागत ५५ अर्ब १५ करोड रुपैयाँ रहेको छ । आयोजनमा ७० प्रतितश ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ । जसमा ३८ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी र १६ अर्ब ५५ करोड स्वपूँजी लगानी हुनेछ ।

आयोजनाको निर्माण कार्य २०८५ जेठ १९ गते सम्ममा सम्पन्न गरिने लक्ष्य छ । विद्युत् बिक्री गर्न कम्पनीले २०७९ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरिसकेको छ ।

परियोजनाको हेडवक्स, आठ लाख घन मिटर पानी संचित गर्ने क्षमताको हेड पोन्ड, करिब ८.७ किमि लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्तालुङ गाउँपालिकामा हुनेछ । परियोजनामा ९१ मिटर लामो र २२ मिटर अग्लो बाध हुनेछ । यसैगरि टेलरेस फुङलिङ नगरपालिकामा रहने छन् । विद्युत् गृहमा ५७ मेगावाटको पाँच वटा टर्बाइन हुनेछ ।

आयोजनाबाट बार्षिक १६५५ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । त्यसमध्ये सुक्खा याममा मात्र ४४६ गिगावाटआवर विद्युत् उत्पादन हुनेछ । त्यसलाई करिब १५ किमि लामो २२० केभीको डबल सर्किट प्रसारणलाइन मार्फत ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ । त्यसपछि त्यो विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।


प्रतिक्रिया दिनुहोस्