सातै प्रदेशले ल्याए आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्बको बजेट, कुन प्रदेशको बजेट कत्रो ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सातै प्रदेशले साढे दुई खर्ब बढी बजेट ल्याएका छन् । शनिबार सातै वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँ बढी बजेट ल्याएका हुन् । यो चालु आवका ल्याएको बजेटको तुलनामा भने ९१ करोड ९३ लाख रुपैयाँ घटेको छ ।
प्रदेशहरुको लगातार दुई दोस्रो वर्ष बजेटको आकार घटाएका हुन् । अघिल्लो आवका लागि पनि प्रदेशले कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएका थिए । चालु आवका लागि २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याए थियो । तर, आगामी आवका लागि पनि घटाएर बजेट ल्याएका छन् ।
संघीय सरकारले आगामी आवका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते सो आकारको बजेट ल्याएका हुन् । आगामी आवमा सरकारले प्रदेशलाई कुल दिने अनुदान पनि घटाएको छ । आगामी आवका लागि संघीय सरकारले प्रदेशलाई कुल ९६ अर्ब ४५ करोड रुपैयाँ मात्रै अनुदान पठाउने घोषणा गरेको छ । चालु आवका लागि भने सातै वटा प्रदेशलाई सरकारले १ र्ख ५ अर्ब ६ करोड रुपैयाँ अनुदान पठाएको थियो ।
आगामी आवका लागि दुई प्रदेश बागमती र सुदुरपश्चिमले मात्रै बजेटको आकार बढाएका छन् । यी बाहेकका गण्डकी, लुम्बिनी, मधेश, कोशी र कर्णालीले भने घटाएर बजेट ल्याएका छन् । बजेटमा सबै प्रदेशहरुले कृषि, रोजगारी र पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकताका साथ बजेट ल्याएका छन् । सबै प्रदेशको बजेटले पर्यटन प्रवद्र्धन, उद्योग तथा उद्यमशीलता विकासमा जोड दिएका छन् ।
प्रदेशहरुले पुँजीगत तर्फ १ खर्ब ६१ अर्ब ४१ करोड ७८ लाख र चालु तर्फ ९९ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेका छन् । यता, १७ अर्ब ८६ करोड ६६ लाख भने वित्तीय व्यवस्था र हस्तान्तरणका लागि विनियोजन गरेका छन् ।
प्रदेश आर्थिक मामिला मन्त्रालयका अनुसार सबैभन्दा धेरै बामगती प्रदेशले ल्याएको छ । बागमती प्रदेशले भने बजेटको आकार बढाएको छ । बागमती प्रदेशका मन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । चालु आवका लागि सो प्रदेशले कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, आगामी आवको लागि भने १ अर्ब ८३ करोड १४ लाख रुपैयाँ बढाएको हो । बागमतीको चालु आवका लागि चालु तर्फ २६ अर्ब १० करोड १६ लाख र पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रहेको छ । यस्तै, वित्तीय हस्तान्तरणका लागि बागमतीले १ अर्ब ५० करोड छुट्याएको छ ।
यस्तै, मधेश प्रदेशले पनि आगामी आवका लागि कुल ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु आवको तुलनामा मधेशले २२ करोड २४ लाख रुपैयाँ घटाएर बजेट ल्याएको छ । चालु आवमा मधेश प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको थियो । मधेशका आर्थिक मामिला मन्त्री भरतशर्मा शाहले आगामी आवको लागि बजेट पेश गरेका हुन् । मधेशले आगामी आवका लागि चालु तर्फ १६ अर्ब ७ लाख र पुँजीगत तर्फ २७ अर्ब ८९ करोड १४ लाख रुपैयाँ रहेको छ ।
आगामी आवका लागि सबैभन्दा कम बजेट कर्णाली प्रदेशले ल्याएको छ । सो प्रदेशले कुल ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ । कर्णालीले पनि आगामी आवको बजेटको आकार १ अर्ब ९६ करोड ३६ लाख रुपैयाँले घटाएको छ । चालु आवका लागि सो प्रदेशले कुल ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएको थियो । आगामी आवका लागि कर्णालीले चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख र पुँजीगत तर्फ १८ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, वित्तीय व्यवस्थाका लागि २५ करोड र वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ ।
यता, लुम्बिनी प्रदेशले पनि बजेटको आकार घटाएको छ । आगामी आवका लागि लुम्बिनीले १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ घटाएर बजेट ल्याएको हो । आगामी आवमा सो प्रदेशले कुल ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । तर, चालु आवका लागि भने लुम्बिनीले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवका लागि लुम्बिनीले चालु तर्फ ११ अर्ब २४ करोड २७ लाख, पुँजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै, कोशी प्रदेशले पनि आगामी आवका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको छ । कोशीले पनि आगामी आवका लागि ९६ करोड ४२ लाख रुपैयाँ घटाएर बजेट ल्याएको हो । चालु आवका लागि कोशीले कुल ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो । आगामी आवका लागि कोशीले १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगत १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थाका लागि २ करोड र वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको छ ।
त्यसैगरि गण्डकी प्रदेशले पनि बजेटको आकार ४४ करोड ८६ लाख रुपैयाँ घटाएको छ । आगामी आवका लागि गण्डकीले ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको हो । तर, चालु आवका लागि पनि सो प्रदेशले कुल ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजे ल्याएको थियो । गण्डकीको चालु तर्फ १३ अर्ब १६ करोड ५ लाख, पुँजीगत तर्फ १९ अर्ब ५१ करोड ७९ लाखर वित्तीय हस्तान्तरणका लागि ३ करोड रहेको छ।
यता, सुदुरपश्चिम प्रदेशको बजेटको आकार भने बढेको छ । सुदुरपश्चिमले आगामी आवका लागि २ अर्ब ३६ करोड ३६ लाख रुपैयाँले बढाएर कुल ३१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आवका लागि भने सो प्रदेशले कुल २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवका लागि सुदुरपश्चिमले चालु तर्फ ११ अर्ब ७ करोड १९ लाख, पुँजीगत तर्फ १७ अर्ब ५३ करोड ८ लाख, वित्तीय व्यवस्थाका लागि १० करोड र वित्तीय हस्तान्तरणका लागि २ अर्ब ९२ करोड ७० लाख रुपैयाँ छुट्याएको छ ।