यी १० वस्तु, जसका लागि देशले ११ महिनामा ९ खर्बभन्दा धेरै पैसा तिरेको छ « Arthapath.com
७ असार २०८१, शुक्रबार

यी १० वस्तु, जसका लागि देशले ११ महिनामा ९ खर्बभन्दा धेरै पैसा तिरेको छ



काठमाडौँ । चालु आर्थिक वर्षको ११ औँ महिनामा पनि देशको अन्तरराष्ट्रिय ब्यापारका आँकडाहरु घटेको देखिएको छ ।

अघिल्लो सालको तुलनामा यो वर्ष जेठ मसान्तसम्म २७ अर्ब २७ करोड भन्दा फराकिलो अन्तरले आयात घटेको देखिएको छ । यो १.८४ प्रतिशतको कमी हो ।

निर्यातको अङ्क कम भए पनि यसको घट्ने रफ्तार आयातभन्दा झण्डै दोब्बर देखिएको छ । वितेको एक वर्षमा नेपालबाट हुने निर्यात ३.०१ प्रतिशत घटेको छ । अङ्मा हेर्दा यो रकम ४ अर्ब ३२ करोड हो ।

भन्सार विभागले शुक्रबार प्रकाशित गरेको गत महिनासम्मको ब्यापार तथ्यांकले यस्तो देखाएको छ । यसमा हरेक महिना औसत १३ अर्बको वस्तु निर्यात गरेर १ खर्ब ३५ अर्बको वस्तु आयात गरेको देखिन्छ ।

यसबीच भएको १४ खर्ब ५३ अर्ब ७० करोडको आयातमध्ये केवल १० वस्तुको आयातमा मात्रै झण्डै दुई तिहाइ रकम खर्च गरिएको छ ।

देशले पेट्रोलिम पदार्थ र फलामको आयातमा सर्वाधिक पैसा खर्च गरेको छ । त्यसपछि मेसिनरी र विद्युतीय सामग्री तथा सवारी साधन, प्लास्टिक र प्लाष्टिकका सामग्री, वनस्पती तथा अन्य स्रोतका प्राप्त तेल, खाद्यान्न, औषधि र रत्न तथा आभूषण (विशेषगरी सुन) मा देशले बढी पैसा खर्च गरेको भन्सारको तथ्यांक छ ।

कुल आयातका ६३ प्रतिशत हिस्सा ओगट्ने यिनै वस्तुको निर्यात भने सुस्त देखिएको छ । यी १० वस्तु विगत ११ महिनामा २६ अर्ब ८७ करोडको निर्यात भएको छ । त्यसमध्ये पनि सबैभन्दा ठूलो हिस्सा फलामकै छ । त्यसपछि तेल, प्लास्टिक र औषधि बढी निर्यात भएको देखिएको छ ।

यो साल निर्यात र आयात दुबै घटेपछि ब्यापार घाटामा पनि कमी आएको छ । कुल १०० रुपैयाँको ब्यापार गर्दा ९१ रुपैयाँभन्दा बढीको आयात गरेर ९ रुपैयाँभन्दा कमको मात्रै निर्यात गरिएको तथ्यांक विभागले प्रस्तुत गरेको छ ।

यस्तो आँकडाले नेपालको अन्तरराष्ट्रिय ब्यापार खुम्चिँदै गएको तथ्य उजागर गर्छ । अझ निर्यातमा आएको कमीले देशलाई थप परनिर्भर बनाउँदै लगेको छ ।


प्रतिक्रिया दिनुहोस्