घरजग्गा किनबेचमा फर्किँदै कन्फिडेन्स, मुख्य सहरी क्षेत्रमा कस्तो चल्दैछ कारोबार ? « Arthapath.com
१३ असार २०८१, बिहीबार

घरजग्गा किनबेचमा फर्किँदै कन्फिडेन्स, मुख्य सहरी क्षेत्रमा कस्तो चल्दैछ कारोबार ?



काठमाडौं । देशभर नै घरजग्गा कारोबार क्रमिक रुपमा बढ्न थालेको छ । आर्थिक शिथिलताले सुस्ताएको समग्र कारोबार पछिल्लो समय लयमा फर्किने संकेत गरेको छ ।

सहज नीति र आर्थिक गतिविधि विस्तारै बढ्न थालेसँगै घरजग्गा कारोबारमा पनि बढोत्तरी आउन थालेको हो । सरकारले देशभर नै घर जग्गा कारोबार बढाउन नीतिगत सहजीकरण गरिदिएको छ । विषेशगरि राष्ट्र बैंकले अपनाएका नीतिगत लचकताले कारोबारमा सकरात्मक प्रभाव परेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत जेठ महिनामा देशभर ६१ हजार १६१ वटा घरजग्गा किनेबच भएका छन् । यो गत बैशाख महिनाको तुलनामा २२.८५ प्रतिशत बढी हो । एकै महिनामा थप ११ हजार ३७९ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । गत बैशाखमा देशभर ४९ हजार ७८२ वटा मात्रै घरजग्गा किनेबच भएका थिए । देशभर कारोबारसँगै राजश्व संकलन पनि वृद्धि भएको छ । एकै महिनामा राजश्व संकलन १५.५२ प्रतिशत बढेर ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको ११ महिना साउनदेखि जेठ मसान्तसम्ममा भने देशभर ४ लाख ९१ हजार ११६ वटा घरजग्गा खरिदबिक्री भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १७.२५ प्रतिशत हो । यसरी देशभरको समग्र कारोबार बढेता पनि मुख्य सहरी क्षेत्रमा महँगो मूल्यका घरजग्गा किनबेच भने दबाबमै देखिएको छ । काठमाडौं उपत्यका बाहिरका क्षेत्रमा कम मूल्यका घरजग्गा धेरै किनबेच भएता पनि मुख्य सहरी क्षेत्रमा भने अझै सुधार आउन सकिरहेको छैन ।

उपत्यकामा सबैभन्दा महँगो क्षेत्र भनेको दरबारमार्ग, डिल्लीबजार, नक्सानल, न्यूरोड, नयाँ बानेश्वर, थापाथली, बबरमहल, रातोपुल,लैनचौर, पुतलीसडक लगायत पर्छन् । यसबाहेकमा बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, महाराजगञ्ज लगायतका क्षेत्रमा पनि महँगो मूल्यमा घरजग्गा खरिदबिक्री हुँदै आएको छ । यस्तै रिङरोडभित्र ललितपुर र कलंकी क्षेत्रबाट अधिकांश ठाउँको घरजग्गा पनि महँगो मूल्यमा किनबेच हुने गर्छ । यी क्षेत्रमा खास कारोबार बढ्न सकेको छैन् ।

तर, उपत्यका बाहिरका जिल्लामा भने कारोबार बढेका छन् । सुनसरी, धनुषा, झापा, मोरङ लगायतका जिल्लामा धेरै कारोबार हुने गरेका छन् । जेठ महिनामा मात्रै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी मार्फत २ हजार ३७६ वटा, जनकपुरधाम धुनाषा मार्फत २ हजार ३४८ वटा घरजग्गा किनबेच भएका छन् । तर, काठमाडौं उपत्यकामा भने एक हजार हाराहारीमा मात्रै किनेबच हुने गरेका छन् ।

हाल काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएको छ । ती कार्यालय मार्फत चालु आवको ११ महिनामा ४१ हजार ३८६ वटा घरजग्गा किनबेच भएका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने १४७ कमी हो । गत आवको साउनदेखि जेठ मसान्तसम्ममा पनि उपत्यकामा कुल ४१ हजार ५३३ वटा घरजग्गा खरिदबिक्री भएका थिए ।

यद्यपि, गत बैशाख महिनाको तुलनामा भने थप ९१५ वटा घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ । गत बैशाखमा ३ हजार ९३८ वटा कारोबार भएको जेठ महिनामा भने बढेर ४ हजार ८६३ वटा कायम भएको छ । कारोबार घटेपनि राजश्व भने सवा दुई अर्ब रुपैयाँ बढेको छ । चालु आवको ११ महिनामा उपत्यकामा भएका घरजग्गा कारोबारबाट १५ अर्ब ३७ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत आवको सोही अवधिमा भने १३ अर्ब २२ करोड १६ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।

आर्थिक शिथिलता अझै पनि कायमै रहेकाले महँगो मूल्यका घरजग्गा खरिद बिक्री दबाबमै रहेको नेपाल जग्गा तथा आवास विकास महासंघका एक अधिकारीले बताए । ‘मुलुकमा आर्थिक गतिविधि विस्तारै बढ्न थालेको छ । ग्रामिण क्षेत्रमा साना–साना कम मूल्यका घरजग्गा किनबेच बढी रहेता पनि मुख्य सहरी क्षेत्रमा महँगो मूल्यका कारोबार अझै बढ्न सकिरहेको छैन’, ती अधिकारीले भने,‘विस्तारै लगानीको वातावरण बन्दै छन् । त्यसले आगामी दिनमा भने बढाउने अपेक्षा छ ।’

ब्याजदर घट्दा पनि ठुला रकम बैंकबाट ऋण लिएर महँगा मूल्यका घरजग्गा खरिदबिक्री गर्न सर्वसाधारणको अझै कन्फिडेन्स नआएको उनले बताए । यद्यपि, विस्तारै माहोल बन्दै जाने उनको तर्कछ । राष्ट्र बैंकले ल्याएको एकपछि अर्को नीतिगत लचकताले पनि विस्तारै घरजग्गा कारोबारमा सकरात्मक प्रभाव देखिएको उनले बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत पनि घरजग्गा कारोबार थप सहजीकरण हुने उनको विश्वास छ ।

हाल केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत आवासीय कर्जाको अधिकतम सिमा बढाएर डेढ करोडबाट दुई करोड रुपैयाँ पुर्याइएको छ । यस्तै, घरजग्गा धितोमा प्रवाह हुने कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कामय गरेको छ । यता, मौद्रिक नीतिको समिक्षा तेस्रो समिक्षा मार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सजकीकरण गरेको छ । राष्ट्र बैंकले कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गरेको छ । यस्तो लचिलो नीतिले आगामी दिन कारोबारमा सकरात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जाको ब्याजदर पनि निरन्तर घट्दो छ । बैंकबाट ऋण लिएर घरजग्गा लगानी गर्न पनि विस्तारै वातावरण बन्दै गएकाले आगामी दिनमा घरजग्गा किनबेच थप बढने व्यवसायीको भनाई छ ।

उपत्यकामा कहाँ कति भयो कारोबार ?

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै घरजग्गा किनबेच भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर मार्फत भएको छ । सो कार्यालय मार्फत ११ महिनामा ९ हजार ८१४ वटा घरजग्गा किनबेच भएको छ । यस्तै, लगनखेल ललितपुर मार्फत ९ हजार ५९२ वटा, कलँकी काठमाडौं मार्फत ७ हजार १३ वटा, चावहिल मार्फत ४ हजार ६६१, साँघु मार्फत ४ हजार २६५ वटा घरजग्गा किनबेच भएका छन् ।

यता, काठमाडौं मनमैजु कार्यालय मार्फत २ हजार १६२ वटा, डिल्ली बजार मार्फत २ हजार ९७, टोखा मार्फत १ हजार ५७० र गोटीखेल ललितपुरमार्फत २१२ वटा मात्रै घरजग्गा किनबेच भएका छन् ।

विभागका अनुसार चालु आवको साउन महिनामा उपत्यकामा ३ हजार ४१२, भदौमा ३ हजार ६४६, असोजमा ४ हजार २८४, कात्तिक २ हजार २०, मंसिरमा ३ हजार १७६, पुसमा ३ हजार ४१०, माघमा ४ हजार १६५, फागुनमा ४ हजार २०३, चैतमा ४ हजार २६९ वटा घरजग्गा किनबेच भएका थिए ।

यस्तै, राजश्व संकलनमा भने लगनखेला, भक्तपुर र डिल्लीबजार मालपोत कार्यालय अगाडि छन् । चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजश्व लगनखेल ललितपुर मार्फत ३ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, भक्तपुर मार्फत २ अर्ब ५९ करोड २ लाख, डिल्लीबजार मार्फत २ अर्ब ५० करोड ६ लाख, कलंकीबाट २ अर्ब २५ करोड ८२ लाख, चावहिलबाट २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ संकलन भएको छ।

यता, साँघु मार्फत ८२ करोड ९३ लाख, मनमैजुमार्फत ७१ करोड ६१ लाख, टोखा मार्फत ६९ करोड ८८ लाख र गोटीखेल ललितपुर मार्फत ५७ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्