‘अर्थतन्त्र गतिशिल बनाउन राष्ट्र बैंक सचेत छ, मौद्रिक नीतिले सबै समस्या निको पार्छ भन्न मिल्दैन’ « Arthapath.com
२० असार २०८१, बिहीबार

‘अर्थतन्त्र गतिशिल बनाउन राष्ट्र बैंक सचेत छ, मौद्रिक नीतिले सबै समस्या निको पार्छ भन्न मिल्दैन’



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन नेपाल राष्ट्र बैंक सचेत रहेको बताए ।

आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमाका सिलसिलमा आयोजित वृहत् अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारी यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीति मार्फत अर्थतन्त्र चलायमान बनाउने कुरामा केन्द्रिय बैंक सचेत रहेको बताए । यद्यपि, अर्थतन्त्रमा देखिएका सबै समस्याहरु मौद्रिक नीतिले समाधान नगर्ने उनको भनाई थियो ।

बिहीबार आयोजित छलफलमा राष्ट्र बैंकका गभर्नर अधिकारी, डेपुटी गभर्नरसहित उच्च पदस्थ कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यावसायिक घराना लगायतको सरोकारवाला पक्षको ठुलो सहभागिता रहेको थियो ।

आर्थिक शिथिलता कायमै रहेकाले उद्योग व्यवसाय क्षमता अनुसार प्रयोग नभएको अधिकारीले बताए । त्यसले ऋणको उपयोग पनि न्युन भएको उनको भनाई थियो ।

विभिन्न खालका समस्याको मारमा परेको अर्थतन्त्र रिकभरी मौद्रिक नीतिले मात्रै नहुने बताए । छलफलमा उनले मौद्रिक नीति सबै कुराको समाधान गर्ने जादुको छडी नभएको बताए । उनले मौद्रिक नीतिले सबै समस्या निको पार्छ भन्न नमिल्ने बताए । तर, केही हदसम्मको प्रयास गर्ने उनको भनाई छ। ‘अर्थतन्त्र पुनर्उत्थानमा मौद्रिक नीतिको भूमिका केही हदसम्म हुन्छ । पूर्ण रुपमा समाधान गर्ने छडीको रुपमा यसलाई लिन भएन । यद्यपि, केन्द्रिय बैंकले अर्थतन्त्रलाई गतिशिल बनाउने विषयमा सचेत छ’, उनले भने ।

उनले आफ्ना क्षमताभन्दा धेरै कर्जा दिँदा पनि बैंकिङ्ग क्षेत्रमा समस्या सृजना भएको बताए । बैंकहरु हाल त्यही समस्याको दबाबमै रहेको उनको भनाई थियो । बैंकहरुको नाफा घट्दो क्रममा रहेको अधिकारीको भनाई छ । उनले भने,‘हाल बैंकको नाफा घटेर न्युनतम अवस्थामा आएको छ । कुल पुँजीको आधारमा प्रतिफल ८ प्रतिशतको हाराहारीमा नाफा छ ।’

मौद्रिक नीति मार्फत नियामकीय हेरफेर हुने भएकाले लोन टु भ्यालु रेसियो, जोखिमभार घटबढका लागि व्यवसायीहरुबाट माग हुन स्वभाविक रहेको उनको भनाई छ । कर्जा लिएर तिर्न नपर्ने भन्दै केही समूहहरुको आन्दोलनले पनि बैंकिङ्ग क्षेत्र प्रभावित भएको उनको भनाई थियो । यसले बैंकमा रिकभरीको चुनौति थपिएको बताए । समग्रमा अर्थतन्त्रलाई गतिशिल बनाउने मुख्य विषय रहेकाले त्यही अनुसारको मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्