फाइनान्सको नाफामा उछालः मञ्जुश्रीले सबैलाई टप्यो, गुडविल, गोर्खाज र रिलायन्सको चमत्कारिक सुधार « Arthapath.com
२३ श्रावण २०८१, बुधबार

फाइनान्सको नाफामा उछालः मञ्जुश्रीले सबैलाई टप्यो, गुडविल, गोर्खाज र रिलायन्सको चमत्कारिक सुधार



काठमाडौं । फाइनान्स कम्पनीहरुले नाफामा व्यापक सुधार गरेका छन् । एक वर्षमै कम्पनीहरुले नाफा साढे ५ गुणा बढाएका छन् ।

हाल संचालनमा रहेका मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशन गरेका छन् । अझै तीन वटाले सार्वजनिक गर्न बाँकी छ ।

१४ वटा फाइनान्स कम्पनीहरुले गत वर्ष कुल ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा भने ५.५४ गुणा (४५४.९ प्रतिशत ) बढी हो । अघिल्लो आवमा कम्पनीहरु ८ करोड ४ लाख मात्रै नाफामा थिए ।

अधिकांश कम्पनीहरुले नाफा बढाएका छन् । गत वर्ष नोक्सानीमा रहेको कम्पनीहरुले पनि नाफामा देखिएका छन् । गत वर्ष सबैभन्दा धेरै नाफा मञ्जुश्री फाइनान्सले कमाएको छ । कम्पनीले गत वर्ष २६ करोड ५८ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने ७.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष गुडविल फाइनान्सले पनि नाफामा छलाङ मारेको छ । कम्पनीले अघिल्लो आवमा ९ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । तर, गत वर्ष भने व्यापाक सुधार गरि १४ करोड ८४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ।

यस्तै, गोर्खाज फाइनान्सले नाफामा उल्लेख्य सुधार गरेको छ। अघिल्लो आवमा कम्पनी २३ लाख घाटामा थियो । तर, गत वर्ष आइपुग्दा भने कम्पनीको नाफामा १० करोड ८९ लाख रुपैयाँ धनात्मक छ। यता, अघिल्लो १८ करोड २६ लाख ऋणात्मक रिलायन्स फाइनान्स पनि गत वर्ष २ करोड ८९ लाख रुपैयाँ धनात्मक छ ।

यस्तै, आइसीएफसी फाइनान्सले पनि ११ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष नाफामा ग्रोथमा भने मल्टीपर्पस फाइनान्स पहिलो सूचीमा छ । कम्पनीको खुद नाफा १३६.१ प्रतिशत बढेर २ करोड ३ लाख रुपैयाँ कायम भएको छ । यता, प्रोग्रेसिभ फाइनान्सले पनि नोक्सानी घटाएको छ । अघिल्लो वर्ष २९ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको कम्पनी गत वर्ष आइपुग्दा भने २ करोड ८० लाख मात्रै नोक्सानीमा छ।

गत वर्ष सेन्ट्रल फाइनान्स, पोखरा र जानकी फाइनान्स क्रमशः ६ करोड ३८ लाख, १९ करोड ६४ लाख र १३ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् । यी कम्पनीहरुले अघिल्लो आवमा भने क्रमशः ४ करोड ११ लाख, २ करोड ३८ लाख र ४१ लाख रुपैयाँ नाफामा थिए । यता, गत वर्ष नेपाल फाइनान्सले १ करोड ८१ लाख, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले १ करोड ५४ लाख र बेष्ट फाइनान्सले ४ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्