बैंकबाट ऋण लिएर ‘घर-घडेरी’ जोड्नेहरु बढे, जग्गा प्लटिङमा आक्रमक रुपमा लगानी विस्तार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घर घडेरी खरिद गर्नेहरु बढेका छन् । गत आर्थिक वर्षमा व्यक्तिगत आवासीय घर कर्जा दोहोरो अंकले वृद्धि भएको देखिन्छ ।
पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा कर्जाको माग ज्यादै कमजोर छ । तर, व्यक्तिगत आवासीय घर कर्जा, रियल स्टेट तथा जग्गा प्लटिङमा प्रवाह हुने कर्जा भने बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार २ करोडसम्मको आवासीय घर कर्जा उल्लेख्य बढेको देखिन्छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत घर निर्माणका लागि ३८ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ ऋण लिएका छन् । व्यक्तिगत आवासीय घर कर्जा ११.२ प्रतिशत वृद्धि भएको छ । अघिल्ला आवको असार मसान्तसम्ममा यस्तो शीर्षकमा ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवको सोही अवधिमा आइपुग्दा भने बढेर ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
गत आवको घरकर्जा (रियल स्टेट लोन) पनि ७.५ प्रतिशत बढेको देखिन्छ । बैंक तथा वित्त कम्पनीहरुले एकै वर्ष १८ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ घरकर्जा प्रवाह गरेका छन् । अघिल्लो आवमा यस्तो शीर्षकमा कुल २ खर्ब ४९ अर्ब ४द्ध करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवमा आइपुग्दा भने २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
अघिल्ला वर्षहरुमा घरजग्गा लगानी विस्तार हुन सकिरहेको थिएन । आर्थिक मन्दी, तरलता अभाव, चर्को ब्याजदर र उच्च महँगीका कारण घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारमा संकुचन आएको थियो । आर्थिक शिथिलताले घरजग्गा कारोबार पनि ठप्प जस्तै थियो । तर, पछिल्लो समय भने अवस्था फेरिएको छ । विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ। बैंकिङ्ग प्रणालीमा पनि लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । ब्याजदर पनि न्युनतम बिन्दुमा आइपुगेको छ । कर्जाको ब्याजदर पनि निरन्तर घटीरहेको छ । सहज परिस्थितिका बाबजुद बैंकबाट ऋण लिएर व्यक्तिगत घरजग्गा खरिद गर्नेहरु बढ्न थालेका छन् । अन्य क्षेत्रमा कर्जाको माग न्युन रहेता पनि पछिल्लो समय घरजग्गा कर्जाको माग भने बढ्दो क्रममा रहेको बैंकरहरु बताउँछन् । घरजग्गा क्षेत्रमा लगानी विस्तारका लागि चालिएको नीतिगत सहजीकरणले पनि थप योगदान पुर्याएको उनीहरुको भनाई छ। नीतिगत लचकता र घट्दो ब्याजदरका कारण पनि ऋण लिएर घरजग्गा खरिद गर्ने बढेका हुन् । हाल बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा दिन सक्ने अवस्थामा छन् ।
गत आवमा अर्पाटमेन्ट निर्माण र जग्गा प्लटिङ कर्जा प्रवाह बढेको देखिन्छ । गत आवमा सबैभन्दा धेरै जग्गा प्लटिङमा कर्जा प्रवाह बढेको छ। अघिल्लो आवको तुलनामा जग्गा प्लटिङमा प्रवाह हुने कर्जा ३१.१ प्रतिशत वृद्धि भएको छ। गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो शीर्षकमा १४ अर्ब ११ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको असार मसान्तसम्ममा यस्तो शीर्षकको कर्जा प्रवाह ४५ अर्ब २२ करोड ८७ लाख रहेकोमा गत आवमा आइपुग्दा भने ५९ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
तर, इनकम जनेरेट गर्ने कर्मशियल कम्पेलेक्समा प्रवाह हुने कर्जा भने १८.२ प्रतिशत घटेको देखिन्छ । गत आवमा कमर्शियल कम्पेलेक्स तथा अपार्टमेन्ट निर्माणमा बैंक तथा वित्तीय संस्थाहरुले कुल २ अर्ब २४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आवको तुलनामा ७.२ प्रतिशत बढी हो । अन्य घरजग्गा (जग्गा खरिद र प्लटिङसहित) को कर्जा भने ८.२ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब ८५ करोड २५ लाख रुपैयाँ पुगेको छ । यस्तो शीर्षक गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले ११ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।