बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १७ अर्ब निक्षेप, कर्जा विस्तार भने ४ अर्ब घट्यो

काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो नै छ । पछिल्लो एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको गत मंगलबारसम्मको तथ्याङ्कले यस्तो देखएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थासँग कुल ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, एकै दिन बढेर ६४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुको निक्षेप पनि एकै दिन १८ अर्ब रुपैयाँले वृद्धि भएको छ । गत भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो । तर, एकै दिन १८ अर्ब थपिएर मंगलबारसम्म आइपुग्दा भने ५७ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ । यद्यपि वित्त कम्पनीको निक्षेप भने एक अर्ब घटेर ७ खर्ब २७ अर्ब कायम भएको छ । जबकि त्यसको अघिल्लो दिन ७ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकिङ्ग प्रणालीमा निक्षेप भित्रने क्रम बढेता पनि कर्जा लगानी भने बढ्न सकेको छैन । उल्टो घटी रहेको देखिन्छ । गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । तर, एकै दिन ४ अर्ब घटेको छ । योसँगै गत मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको छ ।
वाणिज्य बैंकहरुको मात्रै एकै दिन ३ अर्ब घटेर ४६ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सोमबारसम्म भने ४६ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो ।
बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर पनि घटेको छ । हाल यस्तो ब्याजदर ३ प्रतिशतमा झरेको छ ।
यता, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८० प्रतिशत भन्दा तल आइपुगेको छ । राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो एकैदिन शून्य दशमलव २२ प्रतिशत बिन्दुले घटेको हो । हाल ७८.८० प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।