कोरिया छाडेर ‘कुभिण्डो’लाई ब्राण्ड बनाउँदै नुवाकोटका अगस्ती
काठमाडौं । यहाँ युवाहरू कृषि कर्म पटकै मन पराउँदैनन् । अभिभावक पनि आफ्ना छोराछोरी कृषि कर्ममा नलागोस् भन्ने नै चाहन्छन् । यहाँ कृषि कर्म गर्नुभन्दा ‘खाडी’ मा नै पसिना बगाउनु उचित हुन्छ भन्ने भाष्य निर्माण भएको छ ।
हजारौं कर्मशील युवा विदेशिन तम्तयार छन् । तर कृषि कर्म गर्न तयार छैनन् । परदेशमा सुन फलाउन तयार हुने युवाहरू घरदेशमा हिरा फलाउन जाँगर चलाउँदैनन् ।
यी भीड मध्ये केही युवा छन्, जो विदेश छाडेर आफ्नै देशमा सम्भावनाका खुड्किलो देखिरहेका छन् । त्यस्ता केही युवापुस्ता कृषि कर्ममा रमाइरहेका छन् । त्यसैका उदाहरण हुन् नुवाकोटका रामचन्द्र अगस्ती । नुवाकोटको लिखु गाउँपालिका ४, चौघडामा जन्मिएका अगस्ती कोरिया छाडेर आफ्नै ‘खोरिया’मा रमाउँदैछन् । सन् २०११ मा कोरिया गएका उनी त्यहाँ लामो समय टिक्न सकेनन् । भिसा अवधि बाँकी छँदै स्वदेश फर्किए । कोरियामा गर्ने दुख आफ्नै देशमा गर्ने हो भने यही सुन फलाउन सकिन्छ भन्ने उनलाई लाग्यो ।
काठमाडौं भएको घर बेचे । व्यवसाय छाडेर आफ्नो जन्मथलो फर्किए । कर्मशील युवाले कृषि पेशा छाड्ने हो भने भोली भोकमरीको अवस्था आउँछ भन्ने बुझेका उनी कृषि कर्ममा नै आफूलाई स्थापित गराउन लागि परिरहेका छन् । करीब १० वर्षदेखि कृषि कर्ममा लागेका अगस्ती कृषिमा पनि नयाँपन खोज्छन् । कसरी छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्छन् । आफै कृषियन्त्र सामग्रीहरू समेत बनाउँछन् ।
काठमाडौंमा भएको घर बेचेर गाउँ फर्किएकोमा कतिपयले उनलाई मतिभ्रष्ट भएको पनि भन्न भ्याए । तर उनले कसैको प्रवाह गरेनन् । गाउँमा फोहोरको रूपमा फालिने चिजलाई मोहोर बनाउन सकिन्छ भनेर हिडीरहेका मात्र छैनन् । त्यो कुरालाई प्रमाणित पनि गरिरहेका छन् । अगस्ती अहिले ‘कुभिण्डो’ को प्रचारप्रसार तथा बिक्रीमा लागिरहेका छन् ।
गाउँघरमा यतिकै कुहिएर जाने ‘कुभिण्डो’ लाई नुवाकोटको ब्राण्डको रुपमा स्थापित गराउन लागिरहेका छन् ।
हरेक कुराको अध्ययन गर्न रुचाउने अगस्तीले आफ्नै करेसाबारीमा यतिकै उम्रिएको ‘कुभिण्डो’ लटरम्म फलेको देखेपछि त्यसको बारेमा अध्ययन गरे । त्यसका फाइदाको चाङ फेला पारे । त्यसपछि रैथाने कृषि उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण तथा प्रचारप्रसारमा लागेका तिलक ढकालसँग यसको बारेमा कुरा राखे । काठमाडौँवासीलाई गाउँगाउँका रैथाने बालीहरूको स्वाद पस्किरहेका ढकाललाई पनि उनको कुरा मन पर्यो । काठमाडौंको दरबारमार्गमा साप्ताहिक रूपमा लाग्ने रैथाने बालीको हाटबजारमा ‘कुभिण्डो’ उक्त बेच्न ल्याए । सुरुमा उनले घरमा गाली पनि खाए । बोकेर लैजानको दुख मात्र हुन्छ भनेर बुवाले कराए । तर उनले चुपचाप टिपेर काठमाडौं ल्याए । बहुगुणी ‘कुभिण्डो’ लाई संसारमा चिनाउनुपर्छ भनेर लागेका अगस्ती गाउँघरमा यतिकै कुहिएर जाने फललाई प्रतिकिलो १०० रुपैयाँमा बेचिरहेका छन् । आफ्नो गाउँघरमा भएको ‘कुभिण्डो’ बेचेर दरबार (दरबारमार्ग) को गाउँघर पुर्याइरहेका छन् ।
अहिले उनी ‘कुभिण्डो’ लाई नुवाकोटको ब्राण्ड बनाउने योजनाका साथ अघि बढिरहेका छन् । उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा समेत यसका लागि पहलकदमी चालिरहेका छन् ।
उनी भन्छन्, ‘कुभिन्डो नेपालमा लोभ भइसकेको रैथाने प्रजाति हो । बहुगुणी र बहु उपयोगी चिजलाई जोगाउनुपर्छ भनेर नार्कमा पनि कुरा राखेको छु । गाउँमा यसलाई कुफल भनेर लगाउँदैनन् । उम्रेर यतिकै खेर गइरहेको हुन्छ । यस्तो बहुउपयोगी चिजलाई व्यावसायिक बनाउनुपर्छ भनेर अगाडि बढिरहेको छु ।’
उनले अहिले गाउँघरबाट कलेक्सन गरेर ४ क्वीन्टल जति कुभिन्डो बेचिसकेका छन् । उनले किसानलाई प्रतिगोटा सय रुपैयाँ दिएर काठमाडौं ल्याउँछन् । रैथाने हाटबजारमा राख्छन् । त्यहीँबाट बिक्री हुन्छ । रैथाने हाटबजार हरेक शनिबार दरबारमार्गस्थित ओरेन्ज क्याफेमा लाग्ने गरेको छ । जहाँ लोपोन्मुख अवस्थामा पुगेका कृषि सामग्रीहरू खरिदबिक्री हुन्छ ।
कुभिन्डोको धेरै तरीकाले प्रयोग गर्न सकिने उनी बताउँछन् । ‘कुभिण्डोको बाहिरको झुस क्यान्सर उपचार भनेर पत्ता लगाइसकेका छन् । भित्र भागलाई पिठो बनाएर सुगरका बिरामीले दैनिक खादा अचुक औषधिको काम गर्छ । चाना बनाएर तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसको मस्यौरा पनि विश्व बजारमा प्रख्यात छ । खल्पी अचार पनि बनाउन सकिन्छ’, उनले भने ।
‘कुभिण्डो’मा पानीको मात्रा २६ प्रतिशत, फाइबर, भिटामिन बि, भिटामिन सी बढी लगायत तत्व पाइन्छ । जसले शरिरमा भएको विकार तत्वलाई बाहिर निकाल्न मद्धत गर्ने उनी बताउँछन् । यसमा फाइबर बढी हुने भएकोले पायल्स, सुगर, प्रेसर जस्ता रोगहरु कम गराउन मद्धत गर्ने उनको भनाइ छ ।
कुभिन्डोलाई विकसित देश भारतका आर्युवेद कम्पनीहरुले जुस बनाएर विश्व बजारमा महंगो मूल्यमा बेचिरहेका छन् ।
अहिले बजारमा विषादीयुक्त खानेकुराको विगविगी छ । हरेक तरकारी तथा फलफूलमा विषादी मिसाइएको हुन्छ । यस्तो अवस्थामा अर्गानिक चिजको प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।
यसको अलावा अगस्ती केराको बुङ्गोसमेत बिक्री गरिरहेका छन् । गाउँघरमा यतिकै खेर जाने केराको बुङ्गोलाई उनी बजारमा ल्याएका छन् । यसलाई अचारको रूपमा प्रयोग गर्न सकिने उनले बताए ।
अहिले उनी मकैको खोयाको बारेमा अनुसन्धान गर्दै छन् । बाहिर देशहरूमा यसलाई सुप बनाएर खाने गरेका छन् । ‘मकैको खोया पनि काम लाग्छ भने किन फाल्ने भनेर यस विषयमा समेत सोचिरहेको छु’ उनले भने ।
अगस्ती कृषिमा क्रान्ति गर्न खोजिरहेका छन् । कृषि क्षेत्रमा केहि गर्नुपर्छ भन्ने युवाहरूको लागि प्रेरणा बनिरहेका छन् ।