ऋणको चेपुवामा नेपाल: २५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, एक नेपालीलाई ८६ हजार ६४२ रुपैयाँको भार « Arthapath.com
३ आश्विन २०८१, बिहीबार

ऋणको चेपुवामा नेपाल: २५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, एक नेपालीलाई ८६ हजार ६४२ रुपैयाँको भार



काठमाडौं । नेपालको सार्वजनिक ऋण भार थपिने क्रम बढी रहेको छ । पछिल्लो दुई महिनामा नेपालको ऋण साढे ९४ अर्ब रुपैयाँ बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । ती दुई महिनामै नेपालको ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थप वृद्धि भएको छ । योसँगै हाल नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशत हुन आउँछ ।

वर्तमान अवस्थामा एक नेपालीको भागमा ८६ हजार ६४२ रुपैयाँ सार्वजनिक ऋण भार छ । चालु आवको साउन मसान्तसम्म आइपुग्दा एक नेपाली सो बराबरको सार्वजनिक ऋण भार बोकेका छन् । यो नेपालको कुल जनसंख्यामा आधारित हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । पछिल्लो एक महिनामै प्रत्येक नेपालीको भागमा १ हजार ८६७ रुपैयाँ सार्वजनिक ऋण भार थपिएको हो । गत साउन मसान्तसम्ममा भने यस्तो ऋण भार ८४ हजार ७७५ रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । गत साउन मसान्तसम्ममा पनि ४१ अर्ब ११ करोड रुपैयाँ ऋण थपिएर कुल २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । सरकारको आम्दानी भन्दा खर्च धेरै भएपछि ऋणको भार निरन्तर बढ्दै गएको हो ।

कार्यालयका अनुसार असार मसान्तसम्ममा ११ खर्ब ८० करोड ९० लाख रुपैयाँ आन्तरिक र १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बाह्य ऋण दायित्व थियो । भदौ मसान्तसम्म आइपुग्दा तिर्न बाँकी ऋण आन्तरिक तर्फ १२ खर्ब ३५ अर्ब ९० करोड र बाह्य तर्फ १२ खर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । आन्तरिक ऋण जीडीपीको २१.६६ प्रतिशत र बाह्य ऋण २२.६६ प्रतिशत रहेको छ ।

कार्यालय अनुसार भदौ मसान्तसम्ममा सरकारले ९० अर्ब आन्तरिक र १४ अर्ब ५ करोड रुपैयाँ बाह्य गरि कुल १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ । सोही अवधिमा ३५ अर्ब रुपैयाँ आन्तरिक र ४ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋणको भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा सरकारले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ मात्रै ऋण प्राप्त गरेको छ। यो चालु आवका लागि राखिएको लक्ष्यको १९.२ प्रतिशत मात्रै हो । यो वर्ष सरकारले कुल ५ खर्ब ४७ करोड रुपैयाँ ऋण प्राप्ति गर्ने लक्ष्य लिएको छ । यो मध्ये आन्तरिक तर्फ ३ खर्ब ३० अर्ब र बाह्य तर्फ २ खर्ब १७ अर्ब रुपैयाँ ऋण प्राप्तिको लक्ष्य लिएको हो । तर, चालु आवको पहिलो दुई महिनामा लक्ष्यको २७.२७ प्रतिशत आन्तरिक ऋण उठाएको छ । यो रकममा भने ९० अर्ब हो । यस्तै, १४ अर्ब ५ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । यो लक्ष्यको ६.४८ प्रतिशत हुन आउँछ । अब सरकारले आन्तरिक २ खर्ब ४० अर्ब र बाह्य तर्फ २ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ गरि कुल ४ खर्ब ४२ अर्ब ९५ करोड रुपैयाँ ऋण प्राप्ति गर्न बाँकी छ ।

सरकारले दुई महिनाम ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ। चालु आवमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड वार्षिक बजेट विनियोजन भएको छ । त्यसको ११.८४ प्रतिशत खर्च भएको छ । जीडीपीमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्