अझै तंग्रिएन घरजग्गा कारोबार, ब्याजदर घट्दा पनि किन विश्वस्त हुन सकेनन् सर्वसाधारण ? « Arthapath.com
४ आश्विन २०८१, शुक्रबार

अझै तंग्रिएन घरजग्गा कारोबार, ब्याजदर घट्दा पनि किन विश्वस्त हुन सकेनन् सर्वसाधारण ?



भदौमा १० महिनायताकै न्युन कारोबार, १९ प्रतिशत घट्यो राजश्व

काठमाडौं । घरजग्गा कारोबार फेरि सुस्ताएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । ब्याजदर पनि महिनैपिच्छ घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले एक अंकको ब्याजदरमै घरजग्गा दिने विभिन्न स्किम पनि ल्याएका छन् । आर्थिक गतिविधि पनि विस्तारै चलायमान हुँदै गएको छ । तर, पनि घरजग्गा कारोबारमा भने सुधार आउन सकेको छैन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको भदौ महिनाको तथ्याङ्कले घरजग्गा कारोबार पुनः सुस्ताएको देखाउँछ । निकै लामो समयदेखि सुस्ताएको कारोबार तंग्रिन सकिरहेको छैन् । भदौमा झन्डै १० महिना यताकै न्युन कारोबार भएको छ ।

विभागका अनुसार भदौमा देशभर ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएका छन् । जबकि गत साउनमा पनि ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएका थिए । साउनको तुलनामा समग्र घरजग्गा किनबेच २५.१७ प्रतिशत कमी हो । गत वर्षको भदौको तुलनामा पनि घरजग्गा किनबेच ८.०९ प्रतिशत कमी हो ।

कारोबारसँगै राजश्वमा घटेको छ । गत साउनमा देशभर भएको घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, भदौमा भने १९.४२ प्रतिशत कमी देखिएको छ । एक महिनामै राजश्व ७४ करोड ४८ लाख रुपैयाँ घटेको हो ।

विशेषगरि साउन र भदौ महिना अफ सिजन भएकाले पनि देशभर समग्र कारोबारमा न्युन देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशन तथा प्रवक्ता रोशन शंकर घिमिरेले बताए । असारदेखि असोज महिनासम्म घरजग्गा कारोबारका लागि अफसिजन मानिन्छ । उक्त अवधिमा अन्य महिनाको तुलनामा कम कारोबार हुने गर्छ ।

‘हरेक वर्षको साउन र भदौमा कारोबार घट्छ । यसलाई घरजग्गा कारोबारको अफ सिजन पनि मानिन्छ । तर, असोज महिनापछि भने विस्तारै बढ्ने गर्छ’, निर्देशक घिमिरले बताए । उनका अनुसार नेपालमा असोजदेखि जेठ महिनाको अवधिमा कारोबारको उपयुक्त समय मानिन्छ ।

यता, व्यवसायीहरु पनि साउन भदौमा कमै कारोबार हुने बताउँछन् । उक्त अवधिमा अपेक्षित कारोबार नहुने उनीहरुको भनाई छ । यद्यपि, सर्वसाधारणको घरजग्गामा लगानी गर्ने आत्मविश्वास अझै बढ्न नसकेको एक व्यवसायीले बताए । ‘साउन भदौ घरजग्गा कारोबारका लागि अफसिजन नै हो । यो अवधिमा अपेक्षित कारोबार बढ्न सक्दैन । तर, असोज पछि भने केही सुधार हुने गर्छ’, एक व्यवसायीले भने,‘यद्यपि, अझै पनि आर्थिक शिथिलताका कारण घरजग्गामा लगानी गर्ने वातावरण भइसकेको छैन।’

यद्यपि, आगामी दिनमा भने विस्तारै कारोबार बढ्ने उनले बताए । आर्थिक गतिविधि पनि विस्तार बढ्दै गएकाले पनि कारोबारमा टेवा पुग्ने व्यवसायीहरु बताउँछन् । केही नीतिगत लचकताले थप व्यवसायिक वातावरण सृजना गरेकाले विस्तारै कारोबार बढ्ने उनीहरुको अपेक्षा छ ।

भदौमा कहाँ कति किनबेच भयो घरजग्गा ?

विभागका अनुसार भदौ महिनामा सबैभन्दा धेरै घरजग्गा भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरी मार्फत भएको छ । सो कार्यालय मार्फत एकै महिना १ हजार६५१ वटा घरजग्गा लिखत पारित भएको हो ।

यस्तै, भद्रपुर झापामा १ हजार २६५ वटा, जनकपुरधाम धनुषमा १ हजार १४८ र राजविराज सप्तरमा १ हजार १०१ वटा घरजग्गा कारोबार भएको छ ।

विभागका अनुसार भदौमा बेलवारी मोरङमा ९०८, भक्तपुरमा ७९६, लगनखेल ललितपुरमा ७६२, सिराहामा ७५७, पर्सामा ७२९, कलैया बारामा ७०८, तौलिहवा कपिलबस्तुमा ६९८, लकंक काठमाडौंमा ६८६, जलेश्वर महोत्तरीमा ६६५, धनगढी कैलालीमा ६२५, विराटनगर मोरङमा ६१४, दमक झापामा ६१०, तुलसीपुर दाङमा ६०९, लाहन सिराहामा ६०७, रुपन्देहीमा ६०२ वटा घरजग्गा किनबेच भएको छ ।

यता, घोराही दाङमा पनि ५७५ वटा, नवलपरासीमा ५३७ वटा, नेपालगञ्ज बाँके ५२२, कास्कीमा ४९८, मकवानपुरमा ४४६, बुटवलमा ४२६, चितवनमा ४०७ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

३ अर्ब उठ्यो राजश्व, कहाँबाट कति ?

भदौमा देशभर भएको घरजग्गा किनबेचबाट ३ अर्ब ९ करोड २ लाख रुपैयाँ राजश्व संकलन भएको छ । भदौमा जिष्ट्रेशन दस्तुर बापत १ अर्ब ९७ करोड ६० लाख र पुँजीगत लाभ कर मार्फत १ अर्ब १३ करोड १५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, सेवा कर मार्फत २५ करोड ५५ लाख ९८ हजा रुपैयाँ संकलन भएको विभागले जनाएको छ । भदौमा ३० करोड १२ लाख रुपैयाँ छुट दिइएको विभागले जनाएको छ ।

राजश्वमा भने भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुर मार्फत उठेको छ । सो कार्यालय मार्फत एक महिनामा २७ करोड ९८ लाख ९९ हजार रुपैयाँ राजश्व उठेको हो । यता, काठमाडौं डिल्लीबजार मार्फत पनि २६ करोड ४९ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, कलंक काठमाडौंबाट २४ करोड ३४ लाख, चावहिलबाट २४ करोड ८ लाख, भक्तपुरबाट २२ करोड ७८ लाख, कास्कीबाट ११ करोड ६८ लाख रुपैयाँ राजश्व घरजग्गा कारोबारबाट उठेको छ ।


प्रतिक्रिया दिनुहोस्