काठमाडौं उपत्यकाको कुन कुन एरियामा हुन्छ धेरै घरजग्गा खरिदबिक्री ? « Arthapath.com
२५ असार २०८२, बुधबार

काठमाडौं उपत्यकाको कुन कुन एरियामा हुन्छ धेरै घरजग्गा खरिदबिक्री ?



काठमाडौं । काठमाडौं उपत्यकामा दुई महिनामा साढे ७ हजार घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना साउन र भदौको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभाग अनुसार साउन र भदौमा उपत्यकाका तीन जिल्लामा ७ हजार ५४४ वटा घरजग्गा किनेबच भएको हो । हाल उपत्यकामा ९ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुने गरेको छ । चालु आवको साउनमा ३ हजार ९२१ वटा र भदौमा ३ हजार ६२३ वटा घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।

सो अवधिमा सबैभन्दा धेरै घरजग्गा ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल मार्फत भएको छ । साउन र भदौमा सो कार्यालय मार्फत १ हजार ६७० वटा घरजग्गा किनबेच भएको छ । यस्तै, मालपोत कार्यालय भक्तपुर मार्फत पनि १ हजार ६२६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

यता, कलंकी आसपासका क्षेत्रमा पनि कारोबार बढ्दो नै देखिन्छ । मालपोत कार्यालय कलंकी काठमाडौं मार्फत पनि दुई महिनामा १ हजार ३४० वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

त्यसैगरि समिक्षा अवधिमा मालपोत कार्यालय चावहिल मार्फत ९१७ वटा, साँखु मार्फत ७९५ वटा, मनमैजु मार्फत ५११, डिल्ली बजार मार्फत ३६३ वटा, टोखा मार्फत ३०० वटा र ललितपुरको गोटीखेल मार्फत २२ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

३ अर्ब उठ्यो राजश्व, कहाँबाट कति ?

काठमाडौं उपत्यकामा भएको घरजग्गा कारोबारबाट दुई महिनामा ३ अर्ब बढी राजश्व सरकारले प्राप्त गरेको छ ।

साउन र भदौ महिनामा उपत्यकाका ९ वटा मालपोत कार्यालय मार्फत ३ अर्ब १ करोड १२ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

कारोबारसँगै राजश्वमा पनि ललितपुरको लगनखेल कार्यालय अघि देखिएको छ । दुई महिनामा सो कार्यालय मार्फत ६२ करोड २६ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । विभाग अनुसार साउनमा ३४ करोड २७ लाख ४१ हजार र भदौमा २७ करोड ९८ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौंको डिल्लीबजार कार्यालय मार्फत पनि ५५ करोड ८९ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । कारोबार कम देखिएता पनि सो कार्यालय मार्फत राजश्व भने धेरै नै उठ्ने गरेको छ । डिल्ली बजार क्षेत्र आसपासमा महँगा मूल्यका घरघडेरी किनबेच हुने भएकाले पनि राजश्व धेरै उठ्ने गरेको हो । गत साउन २९ करोड ३९ लाख र भदौमा २६ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

यस्तै, साउन र भदौमा मालपोत कार्यालय भक्तपुर मार्फत ४६ करोड १५ लाख २७ हजार, काठमाडौंको कलंकी मार्फत ४६ करोड ६१ लाख २९ हजार र काठमाडौंको चावहिल मार्फत ४६ करोड ५१ लाख राजश्व संकलन भएको छ ।

यता, मालपोत कार्यालय मनमैजु काठमाडौंबाट १६ करोड ८९ लाख ३६ हजार, साँखुबाट १५ करोड ८४ लाख, टोखाबाट १० करोड ७९ लाख र गोटीखेल ललितपुरबाट १५ लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको छ।


प्रतिक्रिया दिनुहोस्