नजिकिएको ठुला चाडपर्वले बढायो आयात, निर्यात भने ५.१२ प्रतिशत घट्यो « Arthapath.com
२४ असार २०८२, मंगलबार

नजिकिएको ठुला चाडपर्वले बढायो आयात, निर्यात भने ५.१२ प्रतिशत घट्यो



काठमाडौं । निजिकिएको ठुला चाडपर्वले नेपालको आयात बढाएको छ । भन्सार विभागले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको दुई महिनामा नेपालले कुल २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

यो गत आवको तुलनामा १.०८ प्रतिशत बढी हो । गत आवका साउन-भदौको तुलनामा भने २ अर्ब ७९ करोड रुपैयाँ बढी आयात भएको हो । गत आवको सोही अवधिमा भने २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालको वैदेशिक व्यापार भने निकै लामो समयदेखि सुस्ताएको थियो । तर, नेपाल नजिकिएको दशैं, तिहार लगायतको चाडपर्वले आयात बढाएको विभागले जनाएको छ । आयातमा सामान्य बढोत्तरी देखिएता पनि निर्यात भने निराशाजनक नै छ ।

समिक्षा अवधिमा निर्यात ५.१२ प्रतिशत घटेर २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत आवको साउन र भदौमा पनि नेपालले कुल २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

चालु आवको दुई महिनामा नेपालले कुल २ खर्ब ८७ करोड ६३ लाख ५७ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । समिक्षा अवधिमा वैदेशिक व्यापार घाटा पनि १.७८ प्रतिशत वृद्धि भई २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्