२.५६ प्रतिशत बिन्दुले घट्यो कर्जाको ब्याजदर, साढे ७ प्रतिशतमा झर्यो आधार दर

काठमाडौं । पछिल्लो समय कर्जाको ब्याजदर निरन्तर घटीरहेको छ । एक वर्षको अवधिमा कर्जाको ब्याजदर साढे दुई प्रतिशत बिन्दुले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको साउनमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.२४ प्रतिशत रहेको थियो । तर, एक वर्षमै २.५६ प्रतिशत बिन्दुले घटेको हो । चालु आवको साउनमा आइपुग्दा भने बैंकहरुको कर्जाको औसत ब्याजदर ९.६८ प्रतिशत कायम भएको छ ।
यता, विकास बैंकहरुको कर्जाको औसत ब्याजदर पनि एक वर्षको अवधिमा २.८१ प्रतिशत बिन्दुले घटेको छ । गत आवको साउनमा विकास बैंकहरुको यस्तो ब्याजदर १३.८८ प्रतिशत रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर ११.०७ प्रतिशत कायम भएको छ ।
यता, वित्त कम्पनीको कर्जाको औसत ब्याजदर पनि २.३४ प्रतिशत बिन्दुले घटेर १२.३२ प्रतिशत कायम गरेको छ । गत आवको साउनमा वित्त कम्पनीको कर्जाको ब्याजदर १४.६६ प्रतिशत रहेको थियो । निरन्तर घटीरहेको कर्जाको ब्याजदरले भने ऋणीलाई राहत मिलिरहेको छ ।
विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ ।
एक वर्षको अवधिमा बाणिज्य बैंकको निक्षेपको ब्याजदर पनि २.३४ प्रतिशत बिन्दुले घटेको छ । गत आवका साउन महिनामा यस्तो ब्याजदर ८ प्रतिशत रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर ५.६६ प्रतिशत कायम भएको छ ।
यस्तै, विकास बैंकको पनि निक्षेपको औसत ब्याजदर २.८२ प्रतिशत र वित्त कम्पनीको २.४२ प्रतिशत बिन्दुले घटेको छ ।
निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ ।
हाल (साउनमा ) वाणिज्य बैंकहरुको औसत आधार दर ७.६१ प्रतिशत बिन्दुमा आइपुगेको छ । बैंकहरुको आधार दर २.५ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको साउनमा १०.११ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर ७.६१ प्रतिशत बिन्दुमा झरेको छ । यता, विकास बैंकको आधार दर पनि २.५९ प्रतिशत र वित्त कम्पनीको २.५३ प्रतिशत बिन्दुले घटेको छ ।