बाढी पहिरो कहरः जलविद्युत् आयोजनामा साढे २ अर्ब क्षति, ११०० मेगावाट विद्युत उत्पादन नै रोकियो
काठमाडौं । बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा ठुलो क्षति पुगेको छ ।
गत बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोले जलविद्युत आयोजनामा साढे २ अर्ब बढीको क्षति भएको छ । बाढी पहिरोकै कारण आयोजनामा क्षति पुग्दा देशभर १ हजार १०० मेगावटा विद्युत उत्पादन बन्द भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ११ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ । यस्तै, निर्माणाधीन अवस्थामा रहेका १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । तीमध्ये सञ्चालनमा रहेका जलविद्युत आयोजनाको कुल जडित विद्युत् क्षमता ६२५.९६ मेगावाट छ । मन्त्रालयका अनुसार निर्माणाधीन आयोजनाको कुल जडित क्षमता १ हजार १०.२९ मेगावाट रहेको छ ।
बाढी पहिरोका कारण जलविद्युत् आयोजनामा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । यद्यपि, क्षतिसम्बन्धी विवरण एवं तथ्यांकहरू अझै संकलन भइरहेको छ ।
यता, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले भने बाढी पहिरोका कारण देशभरका २० जलविद्युत् आयोजनामा क्षति पुगेको जनाएको छ । ती मध्ये १५ ओटा जलविद्युत् आयोजनामा २ अर्ब ३१ करोड बराबरको क्षति भएको जनाएको छ ।