घरजग्गा कारोबार सुस्ताएको बेला अपार्टमेन्ट किनबेच बढ्यो, ललितपुरमा धेरे बिक्यो
काठमाडौं । भदौ महिनामा अपार्टमेन्ट किनबेचमा केही सुधार देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन र भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनको तुलनामा आधा बढेको हो । गत साउनमा जम्मा १६ वटा मात्रै अपार्टमेन्ट किनबेच भएको थियो । तर, भदौमा भने २४ वटा अपार्टमेन्ट किनबेच भएको छ ।
समग्रमा घरजग्गा देशभर घरजग्गा खरिदबिक्री घटेको छ । त्यस बापत संकलन हुने राजश्वमा पनि गिरावट छ । तर, पनि अपार्टमेन्ट खरिदबिक्री भने बढेको छ । दुई महिनामा ४० वटा अपार्टमेन्ट किनबेच भएको छ ।
सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा भएको छ । ललितपुरमा साउन र भदौमा १९ वटा अपार्टमेन्ट किनबेच भएको हो । गत साउनमा ७ वटा मात्रै किनबेच भएको थियो । तर,भदौमा भने बढेर १२ वटा पुगेको छ ।
यस्तै, डिल्ली बजार काठमाडौंमा पनि भदौ ४ वटा र साउनमा ५ गरि ९ वटा अपार्टमेन्ट किनबेच भएको हो । यता, काठमाडौंको चावहिलमा पनि साउनमा २ वटा र भदौमा ३ वटा, कलंकीमा भदौमा ३ वटा र साउनमा २ वटा मात्रै अपार्टमेन्ट किनबेच भएको थियो ।
त्यसैगरि काठमाडौंको टोखा क्षेत्रमा भदौमा मात्रै २ वटा किनबेच भएको छ । काठमाडौं उपत्यका बाहिरका शहरमा भने एउटा पनि अपार्टमेन्ट किनेबच हुन सकेको छैन् ।
भदौमा देशभर ३२ हजार ७९८ वटा मात्रै जग्गा किनबेच भएको छ । गत साउनमा भने ४३ हजार ८३५ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।