सत्यको बाटोमा हिँड्न सिकाउने पर्व हो दशैँ : शिवराम कोइरालाको दशैँ अनुभव

दशैँको आफ्नै धार्मिक मान्यता छ । तर मूल रूपमा आपसी सद्भाव, प्रेम, स्नेह, असत्यमाथि सत्यको विजय भन्ने सन्देश हो । मानव भएर जन्मिसकेपछि सत्यको बाटोमा रहनुपर्छ । न्यायको पक्षमा आफू सधैँ दृढ भएर उभिनुपर्छ ।
एक अर्काले माया प्रेम गर्नुपर्छ । अर्कालाई हानी गर्ने, अर्कालाई चोट पुग्ने काम कहिल्यै गर्नु हुँदैन । मानवता हुनुपर्छ । अन्यायको डटेर विरोध गर्नुपर्छ । हिंसालाई प्रोत्साहित गर्नुहुँदैन । मेलमिलापको वातावरण बनाउनुपर्छ भन्ने सन्देश दशैँले दिन्छ ।
म चाहिँ मेरा दाजुभाइ आफ्ना अग्रजबाट आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिर्वाद दिने, पारिवारिक माहौलमा रमाउने नै हो । तर त्योभन्दा पनि मैले दशैँलाई समाजमा पनि जागरण ल्याउने, चेतना ल्याउने, मिलेर बस्नुपर्छ भन्ने मान्यता राख्छु । यस्तो किसिमको कार्यक्रमहरू टोलसमाजमा गर्ने गराउने, सरसफाइका कार्यक्रम गर्ने गरेर पनि बित्छ ।
सहरीकरण हुनु भनेको एउटा स्वाभाविक प्रक्रिया हो । बाल्यकालको दशैँको सम्झना मात्र रहन्छ । गाउँघरमा बसेर दशैँ मनाउनुमा मौलिकता झल्किन्थ्यो । तर अहिले बनावटीपन हाबी छ । गाउँघरमा बस्नुपर्दा खेरी देवीको पूजाआरधना गरिन्थ्यो । बुवाले देवीको मन्दिरमा गएर १० दिनसम्म पूजापाठ गर्नुहुन्थ्यो । प्रसाद ल्याएर बाड्नु हुन्थ्यो ।
ठूलो परिवार भएको हुँदा घरमै २–३ वटा खसी काटिन्थ्यो । सबै जना एकै ठाउँमा जम्मा हुन्थ्यौं । नाचगान गर्नेदेखि तास खेल्नेसम्म हुन्थ्यो । तर मैले कहिले पनि खेलिन । तास खेल्नेले तास खेल्थे पिङ खेल्नेले पिङ खेल्थे । पिङ चाहिँ म पनि खेल्थँे । जुवातास खेल्न रुचि भएन । त्यसको रमाइलो बेग्लै थियो । सहरमा मौलिकता हराउँदै जाने रहेछ । कतिपय मुलुकमा मौलिकता जोगाएर राख्छ ।
तर हाम्रोमा नेतृत्व र हामी सबैको कमजोरीले गर्दा मौलिकता जोगाउन लाग्दैनौं । संस्कृति परम्परा भनेको त जोगाएर राख्नुपर्छ । विदेशमा हजार वर्ष अगाडिका कुरा पनि सुरक्षित राख्छन् । हामी मेट्दै जान्छौँ । हाम्रो शिक्षा पनि नैतिकता हराउँदै गएको छ । तर अहिले पनि हाम्रा बालबच्चालाई कमसेकम नैतिकता, परम्परा, संस्कृति सिकाउनुपर्छ । संस्कृतलाई पठनपाठनमा समावेश गरिनुपर्छ ।
दशैँप्रति पहिलेजस्तो आकर्षण त अहिले छैन । अब एकै ठाउँमा रहने सम्भव पनि छैन । पहिलो पो हाम्रो बाउ बजेको ५० बिगाह १०० बिगाह खेति हुन्थ्यो । अनि सबै छोराछोरी एकैठाउँ बसिन्थ्यो । परिवार छुट्टिनु अस्वाभाविक होइन । परिस्थिति अनुसार टाढा भएका छौँ । अहिले बाटो अवरूद्ध छन् । जमघटमा पनि समस्या छ । खल्लोपन महसुस भएको छ ।
दशैँ तिहार भनेको नेपालीका लागि सबैभन्दा ठूलो महान पर्व हो । दशैँले रमाइलो मात्र होइन, यसले आत्मा शक्ति र आध्यात्मिक शक्ति पनि प्रदान गर्छ ।