सेयर धितो कर्जामा नयाँ व्यवस्था, राष्ट्र बैंकले जारी गर्यो यस्तो सर्कुलर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै सेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सेयर मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्न पाउने व्यवस्था गरेको हो । अब सेयर मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था बैंकहरुले गर्नुपर्ने छ ।
एकीकृत निर्देशनमा भनिएको छ ‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ ।
इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्टरूपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ।
अन्य व्यवस्था यस अघि नै रहे पनि ” इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ” भन्ने व्यवस्था अहिले थपिएको हो ।
मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस से’यरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।