बैंकर ज्ञानेन्द्र ढुंगानाको दशैँ अनुभवः समयसँगै फेरिँदै छ विजया दशमीको तौरतरिका
दशैँ हाम्रो लोकप्रिय संस्कृति तथा प्राचीन रितिरिवाज हो । हाम्रो रीतिरिवाज र धर्म, संस्कृतिमा विजया दशमी भनेर विशेष महत्व दिने चलन छ । सत्य र असत्य एवम् धर्म र अधर्मबीचको द्वन्द्वमा सत्य र धर्मको जीत भएको उत्सवलाई हामी मनाउँछौँ । देवी पार्वतीले विभिन्न नौ रुपमा प्रकट भई असुर अर्थात् समाजमा हिंसा, अत्याचार र अन्याय गर्ने वर्गको विनास गरेको सन्दर्भमा दशैँ मनाउने गरिन्छ ।
यसलाई वैष्णव संस्कृतिमा भगवान श्रीरामले लङ्का विजय गरेर आइसकेपछि मनाएको विजय उत्सवका रुपमा पनि लिइन्छ । त्योभन्दा अगाडि विभिन्न किसिमको नौ रथा देवीको पूजा गर्ने गरिन्छ । त्यस अघि पितृहरूलाई उत्सव मनाउनका लागि १६ दिनसम्म स्रोह श्राद्ध गर्ने परम्परा छ ।
दशैँ भनेको मैले ३ वटा कुरा भनेँ– एउटा पितृहरूलाई श्राद्ध गरेर उहाँहरूलाई स्मरण गर्छौं । त्यसपछि नौ दिनसम्म देवीको आराधना गर्छौं । दशौँ दिनमा विजयउत्सव भनेर रातो टीका र जमरा लगाएर उत्सव मनाउँछौं ।
यो एउटा परम्परा हो । रिति हो । यसले आफन्तसँग भेटघाट गर्ने मौका पनि दिन्छ । आफूभन्दा ठूलाको हातबाट आशिर्बाद लिने र टीका जमरा लगाउँदा परिवारमा आफन्त भेटघाटको मौका जुर्छ । अर्को तर्फबाट हेर्ने हो भने आर्थिक गतिविधिमा केही चलायमान हुन्छ । विगतदेखि नै दशैँको बेला हाम्रो परम्परा छ– मिठो खाने, राम्रो लगाउने । त्यसले हामीजस्तो आयातमा निर्भर अर्थतन्त्रमा अलिकति आर्थिक गतिविधिहरू सक्रिय गराउँछ ।
यस वर्ष चाहिँ त्यो कुरामा केही कमि हुन्छ भन्ने आङ्कलन हामीले गरेका छौँ । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानले गर्दा यातायातमा उब्जिएको समस्याले दशैँलाई प्रभावित पार्ने अनुमान छ ।
बाल्यकालको दशैँ
अरु बालबालिका जस्तै हामी पनि सानो बेलामा कहिले दशैँ आउँछ र नयाँ लुगा लगाउने भन्ने कुरेर बसेका हुन्थ्यौँ । सप्तामी (फूलपाती भित्र्याउने दिन) देखी नै खसीबोका काटिन्थ्यो । मासु खाइथ्यो । छुट्टै रमाइलो हुन्थ्यो । बाल्यकालमा त दशैँ भनेकै त्यही त हो । अरू त सोचिएको हुँदैन थियो । नयाँ लुगा पनि रेडिमेड पाइँदैनथ्यो त्यतिबेला । सिलाउनै पर्ने हुन्थ्यो । कहिले सिलाएर आइपुग्छ र लगाउने भन्ने हतार मनमा खड्किरहेको हुन्थ्यो ।
विभिन्न ठाउँहरूमा टीका थाप्न आशिर्वाद लिन जाने गरिन्छ । हरेक ठाउँमा मीठोमसिनो खान दिन्थे । एकदम रमाइलो हुन्थ्यो । सँगै हिँडेका दिदीबहिनीले चाहिँ दक्षिणा पाउँथे, हामी छोरा मान्छेलाई चाहिँ दिँदैन थिए । त्यतिबेला हामीलाई पनि दिए हुने जस्तो लाग्थ्यो । तर पनि पिङ खेल्न जाने, चङ्गा उडाउने गरिन्थ्यो । अम्बाको सिजन हुन्थ्यो, अम्बा खाइन्थ्यो ।
पिङ खेल्ने सिलसिलामा रमाइलो हुन्थ्यो । लिङ्गे पिङ र रोटे पिङ हुन्थ्यो । रोटे पिङ अलि कम पाइन्थ्यो । एक दुई घण्टा हिँडेर पनि पिङ खेल्न गइन्थ्यो । चङ्गा चैट भन्ने हुन्थ्यो । धागो किनेर ल्याएर लट्टाई पनि आफैं बनाउँथ्यौं । अहिले रेडिमेट पाइन्छ । अहिले धेरै सजिलो छ र मान्छेलाई फुर्सद पनि छैन । अहिले पनि बालबालिकाहरूले त रमाइलो नै गर्छन् ।
अहिलेको दशैँको कुरा गर्दा सहर बजारमा आफन्तकहाँ जाने र दिनभरी बस्ने भन्ने त्यति हुँदैन । हुन त हुन्छ, तर टीका कै दिन जाने भन्ने हुँदैन । भोलिपल्ट गइएला । गाउँ घरजस्तो घरमै खसी काट्ने सबै जना बसेर खाने भन्ने हुँदैन । त्यो सम्भव पनि हुँदैन । सोह्र श्राद्धदेखि सुरू हुन्छ । १६ दिन बार्ने, त्यसपछि ९ दिन देवीको आराधना गर्ने र दशौँ दिन टीका र जमरा लगाउने गरिन्छ । मैले पनि त्यही नै गरिरहेको छु ।
आचेलको दशैँ
अहिले हामी घरमा ३ जना छौँ । आमा र हामी श्रीमान श्रीमती । त्यसैले कहिले गाउँमै गएर मनाउँछौं, कहिले काठमाडौँमै दशैँ सकिन्छ । २ वर्ष अगाडि गाउँमै गएका थियौं । कहिले काठमाडौंमा नै टीका लगाउँछौं । कहिले काहीँ इटहरीमा लगाउँछौं । गाउँमा जाँदा रमाइलो लाग्छ । जन्मस्थल र त्यहाँ मनाइएका दशैँको याद अहिले पनि आउँछ । हामी एक डेढ घण्टा हिँडेर पनि टीका थाप्न पुगेका हुन्थ्यौँ ।
तर अहिले गाउँमै जाने हो भने पनि त्यसरी घण्टौँ पैदल हिँड्नु पदैन । गाउँमा पनि अहिले सहरको रहनसहन त पुगिसक्यो । अब नयाँ लुगा सिउनेभन्दा रेडिमेड लगाउने चलन आइसक्यो । मासु नै किनेर दशैँ मनाउन थालिसके । त्यतिबेला मासु किन्ने भन्ने सम्भावना नै थिएन । हरेक घरमा खसी बोका ढालिन्थ्यो । फरक त समयले ल्याइसक्यो । तर गाउँमा छुट्टै खाले रमाइलो चाहीँ हुन्छ ।
दशैँमा ९ दिन देवीको पाठ गर्ने पक्ष असाध्यै मन पर्छ । पहिला बच्चै हुँदा पनि बिहान ४ बजे उठेर नुवाइधुवाइ गरेर देवीको मन्दिर जान्थ्यौं । पाठ गर्थ्यौं । त्यो सम्झना अहिले पनि छ र ९ दिनसम्म त्यो पाठ गरिरहेको हुन्छु । त्यो नै रमाइलो लाग्छ ।
पूजापाठ सकेर खाना खाँदा दिउँसोको १२–१ बजिहाल्छ । फूलपातीको दिनदेखि छुट्टी हुन्छ । त्यसपछि आलोपालो आफन्तको घर गएर खानाखाने, रमाइलो गर्ने, त्यही नै हो । तास खेल्ने, टीकाको दिन अग्रजको घरमा भेला भएर टीका लगाउने गरिन्छ । खर्चको व्यवस्था गर्न एक महिनाको तलब दशैँ खर्च दिने गरिन्छ । त्यसैले सबै खर्च धान्न पुग्छ । प्राय सबैको नै खर्च पुग्छ होला जस्तो लाग्छ ।