घटेको घट्यै बैंक ब्याजदर, २.७१ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

घटेको घट्यै बैंक ब्याजदर, २.७१ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर



काठमाडौं । कर्जाको ब्याजदर साढे दुई प्रतिशत बिन्दुले सस्तिएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर २.७१ प्रतिशत बिन्दुले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको भदौ महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर ९.५२ प्रतिशत कायम भएको छ । एक महिनामै कर्जाको ब्याजदर भने शून्य दशमलव १६ प्रतिशत बिन्दुले घटेको छ । गत साउनमा महिनामा कर्जाको औसत ब्याजदर ९.६८ प्रतिशत रहेको थियो ।

यस्तै, विकास बैंकहरुको कर्जाको ब्याजदर पनि ३.१ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको भदौमा विकास बैंकहरुको कर्जाको औसत ब्याजदर १३.९९ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा भने घटेर १०.८९ प्रतिशत कायम भएको छ। गत साउनमा भने यस्तो ब्याजदर ११.०७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वित्त कम्पनीको कर्जाको ब्याजदर पनि घटेको छ । एक वर्षको अवधिमा वित्त कम्पनीको यस्तो ब्याजदर २.५४ प्रतिशत बिन्दु घटेर १२.१४ प्रतिशत कायम भएको छ । गत वर्षको भदौ महिनामा यस्तो ब्याजदर १४.६८ प्रतिशत रहेको थियो । गत साउनमा वित्त कम्पनीको कर्जाको औसत ब्याजदर १२.३२ प्रतिशत रहेको थियो ।

विशेषगरि कर्जाको माग नबढ्दा नै यसको ब्याजदर निरन्तर घटीरहेको छ । हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ, जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर पनि ५.५३ प्रतिशत बिन्दुमा झरेको छ ।

निक्षेपको ब्याजदर एक वर्षको अवधिमा २.५३ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको भदौमा भने यस्तो ब्याजदर ८.०६ प्रतिशत रहेको थियो । यता, विकास बैंकको निक्षेपको ब्याजदर पनि ३.१२ प्रतिशत बिन्दुले घटेर ६.३१ प्रतिशत कायम भएको छ । यता, वित्त कम्पनीको यस्तो ब्याजदरमा पनि २.७२ प्रतिशत बिन्दुको गिरावट आई ७.५५ प्रतिशत कायम भएको छ । गत साउन महिनामा पनि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको निक्षेपको औसत ब्याजदर क्रमशः ५.६६ प्रतिशत, ६.३६ प्रतिशत र ७.७१ प्रतिशत रहेको थियो । यसरी महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

यता, लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको आधार दर पनि २.६५ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको भदौमा बैंकहरुको आधार दर १०.१४ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर ७.४९ प्रतिशत बिन्दुमा झरेको छ । यता, विकास बैंकको आधार दर पनि २.९७ प्रतिशत र वित्त कम्पनीको आधार दर २.८७ प्रतिशत बिन्दुले घटेर क्रमशः ९.१५ प्रतिशत र १०.६५ प्रतिशत कायम भएको छ । गत साउनमा पनि यस्तो दर क्रमशः ९.२८ प्रतिशत र १०.७५ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्