फेरि सुस्ताउँदै घरजग्गा कारोबार, किन देखिएन सुधारको छनक ? « Arthapath.com
२२ असार २०८२, आईतबार

फेरि सुस्ताउँदै घरजग्गा कारोबार, किन देखिएन सुधारको छनक ?



काठमाडौं । घरजग्गा कारोबारमा शिथिलता कायमै देखिएको छ । अझै पनि कारोबारमा सुधार आउन सकेको छैन् । विगत साढे दुई वर्षदेखि नै घरजग्गा कारोबार प्रभावित नै छ । केही सुधारका संकेत देखिएता पनि पुनः सुस्ताएको छ ।

हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । कर्जाको ब्याजदर पनि निरन्तर ओरालो लागेको छ । ब्याजदर महिनैपिच्छे घट्दा पनि कारोबारमा भने सुधार आउन सकेको छैन् । अर्थतन्त्रका अन्य क्षेत्रहरुमा पनि विस्तारै चलायमान भइरहेको अवस्थामा पनि घरजग्गा कारोबार भने अझै माथि उठ्न सकेको छैन ।

घरजग्गा कारोबार चलायमान बनाउनकै लागि केही नीतिगत लचकता पनि अपनाइएको छ । यता, बैंक तथा वित्तीय संस्थाहरुले पनि एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउने विभिन्न स्किमहरु पनि धमाधम ल्याइरहेका छन् । तर, पनि कारोबारमा सुधार आउने छनक देखिँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्याङ्क अनुसार कारोबार झन् घट्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्ष सुरुभएदेखि नै कारोबार घटेको छ । विभागका अनुसार गत साउन महिनामा देशभर ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएको थियो । तर, त्यसयता भने निरन्तर घटेको छ । साउनको तुलनामा भदौ महिनामा २५.१७ प्रतिशत र असोजमा ६.९२ प्रतिशत गिरावट आएको छ ।

चालु आवको पहिलो तीन महिनामा देशभर १ लाख ७ हजार १६० वटा घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.६८ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा देशभर १ लाख १४ हजार ८३० वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

कारोबारसँगै राजश्व पनि प्रभावित भएको छ । गत साउनमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले कुल ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो । तर, भदौ र असोज महिनामा कारोबार संख्या घटेसँगै राजश्वमा पनि गिरावट आएको छ । भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार र असोजमा घटेर ३ अर्ब ८ करोड १२ लाख ४१ हजार रुपैयाँ मात्रै राजश्व उठेको छ । समग्रमा चालु आवको तीन महिनामा कुल १० अर्ब ६५ लाख ८३ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । जबकि गत आवको पहिलो त्रैमासमा १० अर्ब ४ करोड ३० लाख बढी राजश्व संलकन भएको थियो ।

हरेक वर्षको असार–साउनदेखि असोज महिनालाई घरजग्गा कारोबारमा अफसिजन मानिन्छ । उक्त अवधिमा अन्य समयमा भन्दा न्युन कारोबार नै हुने गर्दछ । विभागका अनुसार यो वर्ष दशैं बिदामा पनि रहेकाले असोज महिनामा कारोबार थप घटेको हो । दशैं बिदाले गर्दा असोजमा कम दिन मात्रै कारोबार भएको विभागको भनाई छ । मुख्य चाडपर्वले पनि कारोबार प्रभावित हुने गरेको विभागका अधिकारीहरु बताउँछन् । यद्यपि, असोजपछि भने कारोबार विस्तारै बढ्ने बताइन्छ । आर्थिक शिथिलता कायमै रहेकाले पनि घरजग्गा कारोबारमा अझै सुधार आउन नसेकेको व्यवसायीहरु बताउँछन् ।

मौद्रिक नीतिले पनि घरजग्गालाई नीतिगत रुपमा नसमेटेका कारण पनि प्रभावित भएको उनीहरुको तर्क छ । अपेक्षित नभएता पनि केही नीतिगत लचकताले थप व्यवसायिक वातावरण सृजना गरेकाले आगाी दिन विस्तारै कारोबार बढ्ने व्यवसायीहरुको अपेक्षा छ ।

असोजमा कहाँ कति घरघडेरी बिक्री भए ?
असोज महिनाको आँकडाअनुसार सबैभन्दा धेरै घरजग्गा किनबेच पूर्व सुनसरीमा भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा एक महिनामै १ हजार १८५ वटा घरजग्गाको लिखत पारित भएको छ ।

यस्तै, जनकपुरधाम धनुषमा १ हजार १०७, बेलवारी मोरङमा १ हजार १६, राजविराज सप्तरीमा ९०९ वटा घरजग्गा किनेबच भएका छन्।

विभागका अनुसार भद्रपुर झापामा ८६३ वटा, भक्तपुरमा ८२१ वटा, तौलिहवा कपिलवस्तुमा ७१८, लगनखेल ललितपुरमा ७१०, मलंगवा सर्लाहीमा ७१०, नेपालगञ्ज बाँकेमा ७०२, विराटनगरमा ७०१, रुपन्देहीमा ६७७, सिराहामा ६६५, पर्सामा ६५८, कलैयामा ६४३, बुटवलमा ६३९, धनगढीमा ६०८, लाहानमा ५९९, जलेश्वर महोत्तरीमा ५६०, घोराही दाङमा ५५३ , कोहलपुरमा ५४६ र चितवनमा ५३७ वटा घरजग्गा किनबेच भएका छन् ।


प्रतिक्रिया दिनुहोस्