आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्यो कारवाही, कुन-कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ७ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।
चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारावही गरिएको हो ।
सिन्धु विकास बैंक, सालपा विकास, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
पहिलो त्रैमासमा सिन्धु विकास बैंक र सालपा विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै केन्द्रिय बैंकले कारवाही गरेकोहो । राष्ट्र बैंकले यी दुई बैंकका संचालक र सीईओलाई सचेत गराएको छ । यता, मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै कारवाही गरेको हो । मितेरीका संचालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, रिलायन्स फाइनान्सलाई भने नगद जरिवाना तिराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै कारवाहीमा परेका छन् ।
यता, गोर्खाज फाइनान्सका संचालक र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । कम्पनीले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको भन्दै सचेत गराइएको हो । कम्पनीका तत्कालीन अध्यक्ष–संचालक संस्थाको ऋणी–ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरू मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको केन्द्रिय बैंकले जनाएको छ ।