तीन बैंकको खराब कर्जा उच्च: १ प्रतिशत कम हुनेमा एभरेष्ट मात्रै, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको कर्जा कर्जा सामान्य बढेको छ ।
बैंकहरुले प्रकाशन गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार औसत ३.१७६५ प्रतिशत कायम भएको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा भने ०.३२०५ प्रतिशत बिन्दु वृद्धि भएको हो ।
खराब कर्जामा अझै पनि सुधार आउन नसकेको तथ्याङ्कले देखाउँछ । चालु आवको पहिलो त्रैमासमा तीन बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ । ८ वटा बैंकको ४ प्रतिशत बिन्दु माथि नै छन् । गत आवको पहिलो त्रैमासको तुलनामा ६ वटा बैंकको खराब कर्जा घटेको देखिन्छ । ती बाहेकका अन्य बैंकको भने वृद्धि भएको छ ।
१ प्रतिशत कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक मात्रै, नबिलसहित बैंकले घटाए
समिक्षा अवधिमा १ प्रतिशत भन्दा कम खराब कर्जा हुनेमा एभेष्ट बैंक मात्रै छ । बैंकसँग ०.७७ प्रतिशत मात्रै खराब कर्जा छ । गत आवको पहिलो त्रैमासमा पनि बैंकको यस्तो कर्जा अनुपात ०.९० प्रतिशत रहेको थियो ।
एभरेष्टसहित ६ वटा बैंकको खराब कर्जा सामान्य घटेको छ । सबैभन्दा धेरै नबिल बैंकले घटाएको छ । बैंकको यस्तो अनुपात २.२७ प्रतिशत बिन्दुले घटाएर १.४२ प्रतिशत कायम गरेको छ । गत आवको पहिलो त्रैमासमा नबिलको खराब कर्जा २.६९ प्रतिशत रहेको थियो ।
यस्तै, माछापुच्छ्रेले पनि १.४३ प्रतिशत बिन्दुले घटाएर १.१३ प्रतिशतमा झारेको छ । यता, कृषि विकास बैंकको पनि ०.५७ प्रतिशत, नेपाल एसबिआइएको ०.५१ प्रतिशत, सानिमाको ०.४१ प्रतिशत बिन्दु घटेर क्रमशः ४.७८ प्रतिशत, १.८४ प्रतिशत र १.३८ प्रतिशत कायम भएको छ ।

तीन बैंकको खराब कर्जा उच्च, यी हुन् ४ प्रतिशत माथि खराब कर्जा भएका बैंकहरु
समिक्षा अवधिमा तीन बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ । नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र सिटिजन्स बैंकको खराब कर्जा उच्च देखिएको हो । पहिलो त्रैमासमा यी बैंकहरुको खराब कर्जा क्रमशः ५.८४ प्रतिशत, ५.४४ प्रतिशत र ५.४१ प्रतिशत रहेको छ ।
यी बाहेकका आठ वटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि छ । गत आवको तुलनामा एनआइसी एशियाको सबैभन्दा धेरै २.८७ प्रतिशत बिन्दुले वृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.२४ प्रतिशत कायम भएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत, ग्लोबल आइएमईको ४.६७, प्राइमको ४.८६, प्रभूको ४.९४, कुमारीको ४.९६ र हिमालयन बैंकको खराब कर्जा ४.९८ प्रतिशत छ ।
