तिहारमा ४५ लाख माला खपत हुने अनुमान, सयपत्रीमा छैन आत्मनिर्भर
काठमाडौं । तिहार नजिकिएसँगै पुष्प खेती गर्ने किसानको व्यस्तता बढेको छ । बारीमा ढकमक्क फुलेका फूल टिप्न, माला गाँस्न र बजार पुर्याउन उनीहरूलाई भ्याइनभ्याइ छ । अब तिहार आउन एक साता मात्र बाँकी छ । त्यसो हुँदा व्यवसायीहरू किसानको बारीमै पुग्न थालेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट व्यवसायीले फूल माला बटुल्न थालेका छन् ।
तिहारमा अन्य समयको तुलनामा बढी फूलमाला खपत हुने गरेको छ । व्यापार हुने मुख्य सिजन भएकाले कृषकहरूलाई फूल टिप्ने तथा माला गाँस्ने चटारो बढेको छ । यस वर्षको तिहार कात्तिक १४ गतेबाट सुरू हुँदैछ । त्यसैले पनि व्यावसायिक पुष्प खेती गर्नेहरूको व्यस्तता बढेको हो ।
यस वर्षको तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान नेपाल फ्लोरिकल्चर एशोसियसन (फ्यान) को छ । जसमा पनि सयपत्रीको माला अत्यधिक खपत हुन्छ । यस बर्षको तिहारमा करिब ४० लाख सयपत्री फूलको माला, ४ लाख ७५ हजार मखमली, २० हजार गोदावरी र ३० हजार मिक्स माला गरि जम्मा ४५ लाख २५ हजार माला खपत हुने अनुमानित आँकडा एशोसियसनको छ ।
यो वर्ष तिहारमा ३७ करोड १८ लाख रुपैयाँ बराबरको माला खरिदबिक्री हुने अनुमान गरिएको एसोसिएसनका उपाध्यक्ष तथा १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८१ का मेला संयोजक राम बहादुर तामाङले बताए ।
सयपत्रीमा अझै परनिर्भर
बजारमा सबैभन्दा बढी खपत हुने सयपत्री फूलमा नेपाल अझै परनिर्भर छ । नेपालमा उत्पादित सयपत्रीले करिब ६२.५० प्रतिशत मात्र माग धान्ने अवस्था छ । करीब ३७.५०प्रतिशत आयात गर्नुपर्ने अवस्था हुनसक्ने अनुमान एशोसियसनको छ ।
तिहारमा ४० लाख सयपत्रीको माला खपत हुने अनुमान गरिए पनि २५ लाख मात्र स्वदेशी उत्पादनले धान्ने अवस्था छ । १५ लाख माला विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।
गत वर्षको तिहारमा व्यवसायीक सयपत्री फूलको मालाको खपत करिब ३५ लाख भएको थियो । गत वर्ष आन्तरिक उत्पादन प्रशस्त थियो । थोरै मात्र आयात गरे पुग्ने अवस्था थियो । तर विदेशी उत्पादनको दबदबा हुँदा आन्तरिक उत्पादनले मूल्य पाउन सकेको थिएन ।
भारतसँगको खुला सिमानाका कारण उल्लेख्य मात्र फूल तथा माला भित्रिदा स्वदेशी उत्पादक मारमा परेका थिए । गत वर्ष एसोसिएसनले यस्तो अवैध रूपमा फूल भित्रन नदिन नियमन गर्ने सरकारी निकायलाई अगाडि नै पत्राचार गरेको थियो । तर सम्बधित निकायले चासो नदिँदा आन्तरिक उत्पादनले बजार पाउन सकेको थिएन ।
हाल सातै प्रदेशको विभिन्न क्षेत्रमा व्यवसायीक रुपमा सयपत्री फूलको खेती भइरहेको छ । जस मध्ये काठमाडौं, भक्तपुर ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवनपुर, रामेछाप, झापा, ईलाम, धनकुटा, सुनसरी, मोरङ्ग, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङजा, बाँके, पाल्पा, तनहु, दाङ, कैलाली, आदि जिल्लाहरु रहेका छन् । सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामिण क्षेत्रमा सत प्रतिशत आन्तरिक उत्पादनले नै धान्ने गरेको छ ।
यद्यपि, मखमली र गोदावरी फूलमा भने नेपाल आत्मनिर्भर छ । काठमाडौंको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रहरुमा मखमली फूलको व्यवसायीक खेती भइरहेको छ ।
बाढीले करोडौंको क्षति
यस वर्ष फूल बाढी र पहिरोका कारण पुष्प व्यवसायले करोडौंको क्षति व्यहोर्नु परेको छ । बाढी र पहिरोका कारण १२ करोड रुपैयाँभन्दा क्षति भएको एसोसिएसनका उपाध्यक्ष तामाङले बताए । गत असोज ११ र १२ गते देशै भरि परेको अवीरल बर्षका कारण लगाएको सयपत्री बालीमा धेरै क्षती पुरÞ्याएको हुदा आन्तरिक आपूर्तिमा कमी हुने देखिएको तामाङ बताउँछन् ।
अघिल्लो बर्ष भएको अस्थिर बजार अवस्था र वर्षाको क्षतिको कारण पनि यस वर्ष पुष्प व्यवसायले बजार पाउनेमा उनी विश्वस्त देखिन्छन् । तर यसको लागि अवैध फूल मालाको आयात रोकिनुपर्ने उनी बताउँछन् ।
यसवर्ष सयपत्री मालाको औसत मूल्य प्रतिमाला ८० रुपैयाँ तोकिएको छ । बजारमा प्रतिमाला ८५ देखि १०० रुपैयाँसम्म कारोबार हुने तामाङले बताए । त्यस्तै, मखमलीको ४५, गोदावरीको एक हजार र मिक्स मालाको ३०० रुपैयाँ औसत मूल्य तोकिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष समग्रमा करीब १४.२९ प्रतिशतले सयपत्री फूलको बजार मागमा वृद्धि हुने अनुमान गरिएको एसोसिएसनको छ ।
नेपालमा पुष्प व्यवसाय अथाह सम्भावना भए पनि यस क्षेत्रमा राज्यको ध्यान जान नसकेको व्यवसायीहरूको गुनासो छ । हाल नेपालको ५२ भन्दा बढी जिल्लामा व्यावसायिक पुष्प खेती हुँदै आइरहेको छ । लगभग २६० हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प व्यवसायमा ११ सयभन्दा बढी पुष्प व्यवसायीहरु संलग्न छन् । अनुमानित लगानी ८ अर्ब ८३ करोडभन्दा बढी रहेको यो पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि अनुमानित ५१ हजारभन्दा बढी जनशक्तिहरु रोजगारत छन् ।