व्यापाक सुधारियो फाइनान्स कम्पनीको वित्तीय स्थिति, कसले कति कमाए नाफा ? « Arthapath.com
११ कार्तिक २०८१, आईतवार

व्यापाक सुधारियो फाइनान्स कम्पनीको वित्तीय स्थिति, कसले कति कमाए नाफा ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीहरुको वित्तीय स्थिति सकरात्मक सुधार देखिएको छ ।

गत आवको पहिलो त्रैमासमा घाटामा रहेको कम्पनीहरु पनि नाफामा देखिएका छन् । गत वर्षको सोही अवधिमा सात वटा कम्पनीको नाफा ऋणात्मक थियो । तर, यो वर्षको पहिलो त्रैमासमा भने पाँच वटा मात्रै नोक्सानीमा देखिएका छन् । यी बाहेकका पाँच वटा नाफा बढेको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स पहिलो सूचीमा छ । कम्पनीको ९ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा भने १३.८३ प्रतिशत बढी हो ।

यस्तै, गत आवको पहिलो त्रैमासमा ६ करोड ११ लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको प्रोग्रेसिभ फाइनान्सको नाफामा पनि उछाल आएको छ । चालु आवको सोही अवधिमा कम्पनी सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा छ ।कम्पनीले ८ करोड ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा जानकी फाइनान्सको नाफामा चामत्कारिक सुधार (१५८.३८ गुणा वृद्धि) देखिएको छ । गत आवको पहिलो त्रैमासमा ४ लाख मात्रै नाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा भने ६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, गत आवको पहिलो त्रैमासमा ३ करोड ५० लाख १७ हजार नोक्सानीमा रहेको गुडविल फाइनान्स र २ करोड ६१ लाख ८० हजार रुपैयाँ नोक्सानीमा रहेको सेन्ट्रल फाइनान्सको नाफा पनि उल्लेख्य बढेको छ । हाल यी दुई कम्पनीको नाफा क्रमशः ४ करोड ९५ हजार १३ हजार र ४ करोड ९५ लाख १२ हजार नाफा कमाएका छन् ।

समिक्षा अवधिमा आइसीएफसी फाइनान्सको नाफा पनि ६३३.७१ प्रतिशत वृद्धि भई ६ करोड ८८ लाख रुपैयाँ कायम भएको छ।

यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा पनि १३२६.४६ प्रतिशत वृद्धि भई ४१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यता, मल्टीपर्पस फाइनान्सको नाफामा पनि १२४.५३ प्रतिशत बढोत्तरी देखिएको छ । कम्पनीले तीन महिनामा १ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । यता, गोखार्ज फाइनान्सले पनि २ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

तर, समिक्षा अवधिमा गुहेश्वरी मर्चेन्ट ११ करोड ३घ लाख, रिलायन्स फाइनान्स ५ करोड ७५ लाख, पोखरा ४ करोड ९० लाख, नेपाल फाइनान्स २ करोड ४० लाख र बेष्ट फाइनान्स ८६ लाख रुपैयाँ घाटामा छन् ।

गत आवको पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरुले समग्रमा ५६ करोड ३० लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । तर, चालु आवको सोही अवधिमा भने २० करोड २६ लाख रुपैयाँ नाफा कमाएका छन् । खुद ब्याज आम्दानी लगायतका अन्य सूचकहरुमा देखिएको सकरात्मक सुधारले नै फाइनान्सको नाफा वृद्धि भएको हो । सो अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी पनि १२.२३ प्रतिशत वृद्धि भएको छ ।

कसले कति उठाए ऋणीबाट ब्याज ?

समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुले १ अर्ब बढी ब्याज ऋणीबाट उठाएका छन् । कम्पनीहरुको समग्रमा ब्याज आम्दानी १२.२३ प्रतिशत वृद्धि भई १ अर्ब १ करोड ८५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । ६ वटा बाहेकका कम्पनीहरुले ब्याज आम्दानी बढाएका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै ब्याज मञ्जुश्री फाइनान्सका ऋणीहरुले २३ करोड ७० लाख रुपैयाँ बुझाएका छन् ।

यस्तै, आइसीएफसी फाइनान्सले १४ करोड ३२ लाख, श्रीइन्भेष्टमेन्टले ८ करोड २८ लाख, गोर्खाज फाइनान्सले ८ करोड १६ लाख, गुडविलले ७ करोड ५२ लाख, पोखारा फाइनान्सले ७ करोड ४८ लाख, सेन्ट्रलले ५ करोड ५३ लाख र प्रोग्रेसिभले ५ करोड ६ लाख रुपैयाँ ब्याज उठाएका छन् ।

यता, जानकी फाइनान्सले ४ करोड ९३ लाख, गुहेश्वरीले ४ करोड ९ लाख बेष्ट फाइनान्सले ४ करोड ८ लाख, रिलायन्सले ३ करोड ४४ लाख नेपाल फाइनान्सले २ करोड ९० लाख र मल्टीपर्पसले २ करोड ३७ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्