न्युन बिन्दुमा बैंकहरुको आधार दरः अहिले कुन-कुन बैंकले दिन सक्नछन् सस्तो ब्याजमा ऋण ? « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

न्युन बिन्दुमा बैंकहरुको आधार दरः अहिले कुन-कुन बैंकले दिन सक्नछन् सस्तो ब्याजमा ऋण ?



काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) न्युन बिन्दुमा आइपुगेको छ । हाल संचालनमा रहेका २० वटै बैंकको आधार दर एकल अंकमा झरीसकेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा औसतमा बैंकहरुको औसत आधार दर ७.२९ प्रतिशत कायम भएको छ । यो गत आवको असोज मसान्तको तुलनामा भने २.६८ प्रतिशत बिन्दु घटेको हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुको आधार दर औसत ९.९७ प्रतिशत रहेको थियो ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गरेको छ ।

अहिले सबै बैंकहरु सस्तोमा ऋण दिन सक्ने अवस्थामा छन् । चालु आवको पहिलो त्रैमासमा ५ वटा बैंकको आधार दर ७ प्रतिशत तल छ । वित्तीय विवरण अनुसार सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्डको ५.७१ प्रतिशत छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०५ प्रतिशत, माछापुच्छ्रेको ६.६ प्रतिशत, नेपाल बैंकको ६.७२ प्रतिशत र एभरेष्ट ६.८ प्रतिशत कायम भएको छ । यी बैंकहरुले सस्तो ब्याजदरमा ऋण दिन सक्ने छन् ।

बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । यद्यपि, बैंक र कर्जाको प्रकृति अनुसार भने फरक पर्ने भएता पनि अहिले सबै बैंकहरु एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्ने अवस्था छन् । हाल बैंकहरुले आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । कतिपय बैंकहरुले शून्य दशमलव ५ प्रतिशत प्रिमियमै ऋण दिएका छन् । समग्रमा अहिले बैंकहरुले अधिकतम १२–१३ प्रतिशतमै ऋण दिन सक्ने अवस्था छन् । यद्यपि, बैंकसँगको बार्गेनिङ गर्न सकेको खण्डमा भने त्यो भन्दा पनि सस्तो ब्याजमा ऋण पाइने अवस्था छ ।

पहिलो त्रैमासमा नबिल बैंकको आधार दर पनि ७.०२ प्रतिशत, कृषि विकासको ७.०७, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) को ७.०८, सानिमाको ७.२९, ग्लोबल आइएमईको ७.२९, कुमारीको ७.४८, एनएमबिको ७.४९, प्रभूको ७.६५, नेपाल एसबिआईको ७.७२, लक्ष्मी सनराइजको ७.७९, सिटिजन्सको ७.९२, प्राइमको ७.९२ प्रतिशत छ । यता, हिमालयन बैंकको आधार दर ८.३५ प्रतिशत र एनआइसी एशियाको ८.३७ प्रतिशत छ ।

कुन बैंकको आधार दर कति ?

स्रोतः सम्वन्धित बैंकहरुले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्