सेयर बजारबाट हुने बैंकहरुको कमाई ५१.६३ प्रतिशत बढ्यो, कसले कति कमाए ?
काठमाडौं । सेयर कारोबारबाट हुने बैंकहरुको कमाई ५१.६३ प्रतिशत वृद्धि भएको छ । तीन महिनामा वाणिज्य बैंकहरुले सेयर कारोबार सवा २ अर्ब आम्दानी गरेका छन् ।
बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको साउनदेखि असोजसम्ममा २० वटा बैंकहरुले सेयर कारोबारबाट २ अर्ब १३ करोड ६९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा यो ५१.६३ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा बैंकहरुको यस्तो आम्दानी १ अर्ब ४० करोड ९३ लाख १० हजार रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ । सोही बमोजिम नै बैंकहरुले सो बराबरको आम्दानी गरेका हुन् ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको यस्तो आम्दानी १ करोड ८ लाख ६२ हजार रुपैयाँ ऋणात्मक छ । सात वटा बैंकको यस्तो आम्दानीमा गिरावट आएको छ भने अन्य बैंकहरुले बढाएका छन् । गत आवको पहिलो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा सेयर बजार वृद्धि भएको छ । बजार वृद्धिसँगै बैंकहरुको यस्तो आम्दानी पनि बढेको हो ।
चालु आवको पहिलो त्रैमासमा सेयर कारोबारबाट कृषि विकास बैंकले सर्वाधिक ३३ करोड ७ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३ करोड ५ लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो ।
समिक्षा अवधिमा सानिमा बैंकको यस्तो आम्दानी १८ करोड ८० लाख ५९ हजार, नबिलको १७ करोड ३३ लाख ७२ हजार, प्रभुको १७ करोड २९ लाख ३० हजार, ग्लोबल आइएमईको १६ करोड ९८ लाख २५ हजार र स्ट्याण्डर्ड चार्टर्डको १६ करोड २१ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
सेयर बजारबाट आम्दानी बढाउनेको पहिलो सूचीमा सिटिजन बैंक देखिएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी साढे २२ गुणा वृद्धि भई ७ करोड ९८ लाख ६२ हजार रुपैयाँ पुगेको छ । यता, नेपाल एसबिआईको पनि ६९३.७९ प्रतिशत वृद्धि भई ५ करोड १२ लाख ६ हजार, नेपाल बैंकको ३१५.०८ प्रतिशत वृद्धि भई ५ करोड २४ लाख ३९ हजार र लक्ष्मी सनराइजको पनि १२८.१९ प्रतिशत वृद्धि भई ७ करोड २९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, समिक्षा अवधिमा एनएमबि बैंकको यस्तो आम्दानी ६४.०४ प्रतिशत, एभरेष्टको ५६.८७ प्रतिशत, प्राइमको ४०.३७ प्रतिशत वृद्धि भएको छ ।
तर, एनआइसी एशियाको ४०.११ प्रतिशत, कुमारीको ३३.३ प्रतिशत, माछापुच्छ्रेको २८.३५ प्रतिशत, हिमालयनको ४.६ प्रतिशत घटेको छ ।
सेयर बजारबाट कुन बैंकले कति कमाए ? रकम हजारमा